ललितपुर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको फाइनल प्रतिस्पर्धामा थापाथली चेस पार्क क्लब विजयी भएका छन् ।
नकआउट समीकरणमा पूर्वविजेता दोलखा चेस होमलाई सहज रूपमा पञ्छाएका थापाथली चेस पार्कले फाइनल खेलमा ललितपुर स्पोर्ट्स क्लब माथि कठिन जित प्राप्त गरेका छन् । चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २–२ अंक बराबर गर्दै र्यापिड चरण सम्म ढकेल्न सफल बने ।
क्लासिकल खेल रोमाञ्चक मोड लिँदै बराबरीमा टुंगिएको थियो । पहिलो बोर्डमा चेस पार्कका एफएम रिजेन्द्र राजभण्डारी स्पोर्ट्स क्लबका सीएम सजिन महर्जनसँग हार व्यहोरे भने चौथो बोर्डको स्पर्धामा नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी बिनिता कपाली सित पराजित हुन पुगिन् ।
टिम गेममा चेस पार्कले दुई अंग गुमाउँदाको दबाब झेल्दै दोस्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपानेमाथि जित गर्ता गरी एक अंकको खाता खोले भने तेस्रो बोर्डमा आशिष फुँयालले रिसोन थापाविरुद्ध टाइम आउट गराउँदै टिमको स्कोर २–२ बनाए ।
लगत्तै प्रतिस्पर्धा र्यापिड चरणका प्रवेश भएको थियो । जहाँ रिजेन्द्र राजभण्डारी पुनः सजिनसँग पराजित भए । चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशिष फुँयाल र सिन्दिरा जोशीले आआफ्नो खेल जितेर ३–१ अंकको स्कोर बनाउँदै उपाधि जित्नमा योगदान पुर्याउन सफल बने ।
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न सातौँ संस्करणको राष्ट्रिय क्लब टिम प्रतियोगिताको विजेता बनेसँगै थापाथली चेसपार्क क्लब हाट्रिकसहित तेस्रोपटक च्याम्पियन कहलिएका छन् । चेसपार्कले नगद दुई लाख पुरस्कार प्राप्त गरे ।
प्रतिस्पर्धामा आयोजक ललितपुर स्पोर्ट्स क्लब उप विजेता बनेका छन् । क्लबले एक लाख २० हजार नगद पुरस्कार हात पार्न सफल भएका छन् ।