site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविको बयान–एउटै रकम राख्ने र झिक्ने गर्दा कारोबार बढी देखिएको हो
फाइल तस्बिर ।

पोखरा । लगातार दुई दिन (बिहीबार र शुक्रबार)मा २८ वटा प्रश्नोत्तरपछि राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको अदालती बयान सकिएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

लामिछानेको बयान बिहीबार र शुक्रबार न्यायाधीश नितिज राईको इजलासमा भयो । जहाँ उनले अभियोगपत्रमा समेटिएको बयानलाई नै बल पुग्ने गरी इन्कारी बयान दिए । आफूमाथि आरोप लाग्दादेखि हिरासतमा आइपुग्दासम्म उनी आफ्नो बयानमा अडिग देखिएका छन् ।

यद्यपि, अनुसन्धानका क्रममा उनको हस्ताक्षरसहितको चेक भेटिएपछि उनले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भनेर फरक अभिव्यक्ति दिएका थिए । त्यसअघि उनले आफ्नो कुनै संलग्नता नरहेको र राजनीतिक प्रतिशोध साँधिएको बताउँदै आएका थिए ।

शुक्रबार पनि लामिछानेले आफ्नो पुरानै अडानलाई दोहोर्‍याए । न्यायाधीश राईले उनीमाथि लागेका तीन मुद्दामा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

उनीविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा बिगो माग गरिएको छ । सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरिएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

न्यायाधीश राईले उनको बैंक खातामा देखिएको करोडौँ रकमको कारोबारबारे प्रश्न गरेका थिए । जवाफमा लामिछानेले एउटै रकम राख्ने र झिक्ने गर्दा कुल कारोबार बढी देखिन आएको जवाफ दिए ।

एक अधिवक्ताका अनुसार, लामिछानेले अदालतमा भनेका थिए, “मेरो खातामा एउटै रकम आउनेजाने भएका कारण कारोबारको एकमुस्ट रकम बढी देखिएको हो । मेरो सार्वजनिक जीवन छ, लुकाउनुपर्ने केही छैन ।”

लामिछानेविरुद्धको अर्को मुद्दा हो, सहकारी ठगी । उनीविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा लामिछनेसँग मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सहकारी ठगीसम्बन्धी प्रश्नमा लामिछानेले कुनै संलग्नता नभएको जवाफ दिए । ती अधिवक्ता भन्छन्, “उहाँले (लामिछाने) मेरो संलग्नता छैन भन्ने कुरा संसदीय छानबिन समितिको प्रतिवेदनको पृष्ठ ४९९ ले पनि भनेको छ भनेर भन्नुभयो ।”

सहकारीको ब्याज तिर्न काटिएको चेकबारेको प्रश्नमा लामिछानेले कर्मचारीले लगेर चेक जम्मा गरिदिएका हुन सक्ने बताए । कार्यालयमा तलबाट टिप्पणी उठेर आइसकेपछि आफूले चेक काटेर पठाउने र हस्ताक्षर गरिएका चेकको पनि दुरुपयोग भएको बताए ।

उनीविरुद्ध संगठित अपराधको पनि मुद्दा छ । संगठित अपराधको बारेमा लामिछानेले आफूले कसैसँग मिलेर कसुर नगरेको दाबी गरे ।

“राजनीतिक प्रतिशोधका आधारमा निमोठ्ने काम भएको छ । कुनै संलग्नता छैन । खाए मासेको होइन । फर्म भरेको होइन, ऋण लिएको छैन,” लामिछानेको भनाइ उद्धृत गर्दै ती अधिवक्ताले भने, “मैले कसैसँग मिलेमतो गरेर सहकारीको रकम ल्याउने, अपचलन गर्ने कार्यमा मेरो संलग्नता छैन । त्यसो नगरेका कारण संगठित अपराध हुन सक्दैन । त्यसकारण संगठित अपराधमा मागदाबी बमोजिमको सजाय हुनुपर्ने होइन । कसुर गरेको छैन ।”

अन्य प्रश्नमा पनि लामिछानेले अभियोगपत्रमा भएका कुरा दोहोर्‍याए । कतिपय प्रश्न चाहिँ आफूलाई नभई जीबी राईलाई सोधिनुपर्ने बताए ।

लामिछानेअघि उल्लेखित मुद्दामा छविलाल जोशी, लिला पछाईंको बयान भइसकेको छ । अब हिरासतमा रहेका कृष्णप्रसाद गुरुङ, मिना गुरुङ, आरती गुरुङ र रामबहादुर खनालको बयान बाँकी छ ।

सबैको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । बहस सकिएपछि अदालतले सामान्य तारेख, धरौटी, वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्नेछ ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ । उनीहरूविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro