काठमाडौं । ‘के साँच्चै पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमाले राजनीतिमा फर्केलिन् त ?’ यस्तै प्रश्नसहित उनी सक्रिय राजनीतिमा फर्किने टीकाटिप्पणी लामै समयदेखि जारी छ ।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार भण्डारीलाई भेट्न उनकै निवास बूढानिलकण्ठ पुग्नुलाई त्यही कारणबाट ब्याख्या गरिँदैछ । भेटको उद्देश्य भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको हो वा होइन भनी बुझ्नुथियो ।
“तपाईं एमालेको नेतृत्वमा आउनेगरी पार्टीभित्र चलिरहेको चर्चा के हो भनेर अध्यक्षज्युले सोध्नुभएको रहेछ,” एमालेका एक नेताले बाह्रखरीसँग भने, “उहाँले आफ्नो कुनै स्वार्थ नभएको तर, पार्टीको भविष्य र कार्यकर्ताको भावनाअनुसार अघि बढ्ने बताउनुभएछ ।”
एमालेकै नेताहरू भण्डारी पार्टी नेतृत्वमा आउने विषय चाँडै औपचारिकतामा मोडिने बताउँछन् ।
के राष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्कने तयारीमा छन् ?
ओली र भण्डारीबीच यसअघि पनि भेटवार्ता नभएको होइन तर ओलीकै सचिवालयले बिहीबारको भेट सार्वजनिक गरेपछि एमालेभित्र पनि नयाँ खालको तरंग सिर्जना भएको ती नेताको भनाइ छ ।
ओलीका यसअघिका बोलीले पनि भण्डारी सक्रिय राजनीतिमा होमिन लागेको संकेत दिइसकेको छ । भण्डारीलाई ओलीले पूर्वराष्ट्रपतिलाई राष्ट्रले दिएको सम्मान–सुविधामा बस्न र सक्रिय राजनीतिका चाहना नराख्नु भनिसकेका छन् ।
सँगै ओलीले भण्डारीलाई उचालेर एमालेमा गुटबन्दी गरेको आरोप लगाउँदै त्यसमा नफस्न नेताहरूलाई चेतावनी नै दिएका थिए ।
गत ०८० साउन २९ मा पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले भण्डारी राजनीतिमा आउँदा उपयुक्त हुने भन्दै सुदूरपश्चिमका नेता कर्णबहादुर थापाले दिएको अन्तर्वार्ताका विषयमा टिप्पणी गरेका थिए ।
उनले अन्तर्वार्ताका विषय ‘कारबाहीको कारण’ बन्न सक्ने सन्देश दिँदै त्यस्तो अभिव्यक्ति नदिन चेतावनी दिएका थिए ।
दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि भण्डारी राष्ट्रपति बनेकी थिइन् । उनी ०७४ को निर्वाचनपछि पुनः राष्ट्रपति भएर ०७९ फागुनमा पदबाट हटेकी हुन् । राष्ट्रपति पदमै रहँदासमेत उनको राजनीतिक चासो र सक्रियता कायम थियो ।
संसद्ले पारित गरी पठाएका नागरिकता विधेयक फिर्ता पठाउनेदेखि तत्कालीन प्रधानमन्त्री ओलीका निर्णय रातारात कार्यान्वयन गरी भण्डारी आलोचित बनेकी थिइन् ।
एमालेइतर सरकार हुँदा २०७९ भदौमा संसदले पठाएको विधेयक प्रमाणीकरण नगरी फागुनमा बिदा भएकी थिइन् ।
राजनीतिक विश्लेषक डा. विष्णु दाहाल एमालेमा तल्लो तहदेखि भण्डारीलाई ‘रेड–कार्पेट’ बिच्छ्याउँदै गएको, खाली निर्णय कहिले र कसरी हुन्छ भन्ने मात्र बाँकी रहेको बताउँछन् ।
उनी ओलीले भण्डारीलाई रोक्ने प्रयास गरेपछि एउटा द्वन्द्व बाँकी रहेको बताउँछन् ।
“केही समयमै ओलीले राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नमिल्नेगरी अध्यादेश जारी गर्न सक्छन्,” दाहाल भन्छन्, “एमाले नेताहरूलाई पनि तिमी कसको पक्षमा भनी उनले अप्ठेरामा पार्न सक्छन् ।”
तर, ओलीले जे–जस्तो रणनीति बनाएपनि भण्डारीलाई एमालेको नेतृत्वमा आउन बाटो छेक्न भने नसक्ने उनको भनाई छ । ०७९ सालमा एमाले नेता गोकुल बाँस्कोटाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधान र कानुनले बन्देज नलगाएको र भण्डारी आउनु उपयुक्त हुने बताएका थिए ।
उनले भण्डारीले चाहना मात्र गर्दा एमालेका केहीबाहेक सबै नेता र कार्यकर्ताले समर्थन गर्ने तर्कसमेत राखेका थिए ।
“ओली हुँदा र नहुँदा उहाँ जत्तिको सर्वसम्मत् नेतृत्व एमालेमा अर्को छैन,” बाँस्कोटाले त्यसबेला भनेका थिए, “शतप्रतिशत त म भन्दिनँ, कतिपयले विरोध जनाउलान् । तर, उहाँ आउनुभयो भने ७५ प्रतिशत हाराहारी एमाले नेतालेले उहाँलाई नेतृत्वमा स्वीकार गर्छन् ।”
भण्डारीका विषयमा बाँस्कोटाले दिएको अभिव्यक्ति एमालेमा ओलीविरुद्ध कुनै गुट नहुँदा पनि भएको प्रतिस्पर्धाले पुष्टि गरिरहेको छ ।
‘एमाले अध्यक्ष ओली र भण्डारीबीचको भेटपछि अब भण्डारी नेतृत्वमा आउने तयारी भएको हो ?’ भन्ने बाह्रखरीको प्रश्नमा बाँस्कोटाले आफू जिल्लामै रहेको र भेटका विषयवस्तुबारे आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिए ।
उनले राजनीतिले आफैँ कोर्स लिने भन्दै आफू उक्त विषयमा जोडिन नचाहेको प्रतिक्रिया दिए ।
विश्वप्रकाशले गरे भण्डारीलाई प्रश्न
शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक बिमोचनमा प्रमुख अतिथि थिइन्, पूर्व राष्ट्रपति भण्डारी । कार्यक्रममा अतिथि थिए, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा । पुस्तक विमोचनको कार्यक्रम भए पनि शर्माले आफ्नो पार्टीबाट राष्ट्रपति बनेका डा. रामवरण यादवको भूमिका देखाउँदै भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन खोजेको हो भनी प्रश्न गरेका थिए ।
शर्माले भने, ‘‘राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु हुन्न । सामाजिक अभिभावक देशमा चाहिएको छ । शीतलनिवासबाट निस्किएपछि के गर्ने ? राजनीतिभन्दा माथि सबैको बन्ने अवसर छ ।”
तर शर्मापछि आफ्ना धारणा राखेकी भण्डारीले भने कुनै पनि विषयमा टिप्पणी गरिनन् ।
राजनीतिमा सधैँ सक्रिय
एमालेको उपाध्यक्षबाट भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् । उपाध्यक्ष हुँदा उनको छवि ओलीको विश्वासिलो पात्रका रूपमा थियो । ओली समूहको उमेदवार हुँदै भण्डारीले अष्टलक्ष्मी शाक्यलाई हराउँदै एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
तर, राष्ट्रपति निर्वाचित भएपछि उनी एकाएक शक्तिशाली भएकी थिइन् । एमाले–माओवादीको गठबन्धन र एउटै घोषण पत्र बनाउँदै चुनावमा जाँदा विद्या एमालेभित्र सबैभन्दा शक्तिशाली पात्रका रूपमा देखिएकी थिइन् ।
कतिसम्म भने एमाले र माओावादीबीच ५४ र ४६ प्रतिशत सिट बाडफाँट भएर चुनावमा जाँदा एमालेको सबैभन्दा बढी हिस्साका टिकट विद्याकै भागबाट बाँडिएको एमाले नेताहरू बताउँछन् ।
एमालेले पाएको ५४ प्रतिशत सिटमा ५० प्रतिशत हिस्सा भण्डारीको रहेको एमाले नेताहरू बताउँछन् । ओलीले कतिपय टिकट आफ्ना नाममा भन्दा भण्डारकिो नाममा राखेर बाँडेको भए पनि भण्डारीले ठूलो हिस्सामा टिकटमा भाग पाएको उनीहरूको भनाई छ ।
त्यसबाहेक उनले तत्कालीन नेकपाको विवाद मिलाउनेदेखि संकटमा पुगेको एमाले जोगाउन भूमिका खेल्नेसम्म गरेकी थिइन् ।
गत जेठमा एमालेको राष्ट्रिय महिला भेला भएको थियो । उक्त भेलामा पार्टी अध्यक्ष ओली उपस्थित थिए । तर, प्रमुख अतिथि भने पूर्वराष्ट्रपति भण्डारीलाई बनाइयो ।
पार्टी अध्यक्ष हुँदाहुँदै प्रमुख अतिथि बनाइएकी भण्डारीले पनि पार्टी नेतृत्वमै प्रश्न उठ्ने गरी भाषण गरेकी थिइन् । त्यही कार्यक्रममा उनले महिला भएर महिलाको मात्र विषय उठाउन नहुने भन्दै राष्ट्रकै नेतृत्व लिन तयार हुनुपर्ने बताएकी थिइन् ।
“राष्ट्रिय आवश्यकता फरक भएर गएको छ । तपाईंहरूले महिलाका एजेन्डा मात्रै उठाउने होइन । महिला राष्ट्रिय एजेन्डामा अघि बढ्नुपर्छ । नेतृत्व लिनुपर्छ,” उनले भनेकी थिइन्, “त्यसो भयो भने महिलालाई हेप्ने कुरा हुन्छ भन्ने लाग्दैन ।”