site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनलाई ‘ट्रोल’बारे विश्वप्रकाशले भने– मिथ्या सूचनाको बलमा मत जित्न सकिने भ्रम परास्त

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाका अभिव्यक्तिमाथि गरिएको ‘ट्रोल’का विषयमा प्रतिक्रिया जनाएका छन् । उनले गगनकोे नाम उल्लेख नगरी मिथ्या सूचनाबाट मत परिवर्तन गर्न सकिन्छ भन्ने भ्रम उपनिर्वाचनले चिरिदिएको उल्लेख गरेका छन् ।

उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरेका महामन्त्री शर्माले उत्तेजनाको राजनीतिले पनि सधैँ परिणाम नदिने सन्देश गएको बताएका छन् । “उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखियो । गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,” शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, “निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत विश्वास जगाउन र सामाजिक सञ्जालमार्फतका भ्रमहरू चिर्न पार्टीपंक्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले उपनिर्वाचनमा सामाजिक सञ्जालमार्फत सक्रिय भूमिका निभाउने युवापंक्तिलाई धन्यवाद दिएका छन् ।

चुनावी दौड सकिएको भन्दै उनले जनप्रतिनिधिलाई आफ्नै भूमिकामा सक्रिय रहन आग्रह गरेका छन् । उनले चुनावी आग्रह र पूर्वग्रहबाट मुक्त भएर काम गर्न पनि जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

“चुनावी दौड सकिएको छ, अब सबै तितामिठा भुलेर काममा जुटौँ । सबै विजयीलाई आग्रह–पूर्वाग्रहमुक्त भएर जनताको सच्चा प्रतिनिधिका रूपमा कार्य गर्न शुभकामना,” शर्माले भनेका छन्, “निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकार, निर्वाचन आयोग, अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी, समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीलगायत सबैप्रति नेपाली कांग्रेस सम्मान प्रकट गर्दछ ।”

यही मंसिर १३ गते कीर्तिपुरमा चुनावीसभाका क्रममा थापाले दिएको अभिव्यक्तिमाथि ट्रोल गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्