site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’ले दिएको सन्देश, स्वीकार्ने कि नकार्ने ?

काठमाडौं । चलचित्र ‘कबड्डी–४’ को लाइफटाइम कलेक्सनको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनमा तोड्यो । २३ करोड ५० लाख रुपैयाँको ‘कबड्डी–४’ ले बनाएको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनमा २५ करोड दुई लाख कलेक्सन गर्दा तोडियो । 

‘पूर्ण बहादुरको सारङ्गी’ले धेरै कलेक्सनसहित थुप्रै रेकर्ड बनाएको छ । नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र, छोटो समयमा १० करोड र २० करोड रुपैयाँ कलेक्सन गर्ने चलचित्र, सबैभन्दा धेरै दैनिक र साप्ताहिक शो पाउने, अधिकांश शो शोल्डआउट हुने सिनेमाको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको छ ।

विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । यस्तै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।

Dabur Nepal
NIC Asia

‘लो बजेट’मा निर्माण भएर धेरै कमाउने, स्टार कलाकारबिना नै बढी कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा बनेको छ । बिहान ४ देखि मध्यरात पौने १२ बजेसम्म शो पाउने नेपाली चलचित्र पनि ‘पूर्ण बहादुरको सारङ्गी’ नै बनेको छ ।

यो चलचित्र अझै पनि उच्च शो र अकुपेन्सीसहित चलिरहेकाले थप रेकर्ड बन्ने सम्भावना छ । ‘पूर्ण बहादुरको सारङ्गी’ चलेन मात्र, यसले केही सन्देश पनि दिएको छ ।

अक्सर नेपाली चलचित्र उद्योगमा चलचित्रकर्मी भन्ने गर्छन्– नेपालमा सिनेमाको बजार नै छैन, ठूलो लगानी गरेर कसरी चलचित्र बनाउनु ? उनीहरूको भनाइको तात्पर्य हो– जति धेरै लगानी त्यति नै बढी रिस्क । त्यसैले रिस्क कम गर्न सानो लगानीमा चलचित्र बनाउनुपर्छ । 

यो बुझाइ ‘पूर्ण बहादुरको सारङ्गी’कै निर्मातामा पनि देखिन्छ । प्रोडक्सनले बजेट कम गर्न सकेसम्म प्रयास गरेको चलचित्र हेर्दा प्रस्टै देखिन्छ । जस्तै, पूर्णेको क्यारेक्टरलाई सारङ्गी बजाउन निर्देशकले ठूला सहर पोखरा, बुटवल, राजमार्गमा निकालेका छैनन् । उसको छोराकै क्यारेक्टरले काठमाडौंमा डाक्टर पढ्दाको कलेज लाइफ धेरै देखाइएको छैन । यसले सकेसम्म बजेट कम गर्ने प्रयासमा प्रोडक्सन रहेको दर्साउँछ । 

तर, चलचित्रले राम्रो व्यापार गर्‍यो । राम्रो व्यापार मात्र गरेन, नेपाली रजतपटकै इतिहासमा रहेका करिबकरिब सबै रेकर्ड ब्रेक गर्‍यो । यसले नेपाली चलचित्रको बजार सानो छैन भन्ने सन्देश दिन्छ । १३ दिनमा २५ करोडको आँकडा पार गर्नुले नेपाली बजार ठूलो छ भन्ने प्रस्ट पारेको छ । सिनेमाले १३ दिनमा २५ करोड कलेक्सन गरेकाले ‘कबड्डी–४’ सँगको अन्तर फराकिलो हुने देखिन्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ अहिले पनि उच्च शो संख्यासहित चलिरहेकाले यसको कलेक्सन रकम अझै ठूलो भोलुममा वृद्धि हुने निश्चित छ ।

नेपालमा जति कलेक्सन गरेको छ, कम्तीमा त्यसको आधा रकम विदेश प्रदर्शनबाट आउँछ । न्यूनतम पनि आधा अर्बभन्दा बढी ग्रसकलेक्सन गर्छ भने कसरी भन्ने नेपाली चलचित्रको बजार सानो छ ? अनि, किन गर्ने लगानीमा कन्जुस्याइँ ?

चलचित्रले गन्धर्व समुदायको कथा उठाएको छ । सारङ्गी बजाएर गुजारा चलाउने परिवारको कथा भनेको छ । एकल बुवाले छोरो हुर्काउन गरेको संघर्षको कथा भनेको छ । अभाव र दुःखको कुरा गरेको छ । छोरो पढाउन बुवाले गरेको दुःख र त्याग देखाइएको छ ।

अर्थात्, ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली मााटोको कथा देखाएको छ, जसमा नेपालीको सुगन्ध आउँछ । अधिकांश निम्न तथा मध्यमवर्गीय नेपाली अभिभावक र छोराछोरीले भोगेको कथा देखाइएको छ । बाबु र छोराको सम्बन्ध अक्सर धेरै परिवारले भोगेका हुनाले दर्शकसँग कनेक्ट हुन्छ ।

निर्देशकले कलाकारमा देखाएको इमोसन जब दर्शकमा ट्रान्सफर्म हुन्छ, तब त्यो चलचित्र दर्शकले मन पराउँछन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा थुप्रै कमजोरी छन् । कथामा कमजोरी छ । साउन्डमा कमजोरी छ । तथ्यमा कमजोरी छ । तर पनि यी सबै कमजोरीलाई दर्शकले गौण ठानिदिए । कारण, दर्शक सिनेमाका पात्रसँग कनेक्ट भए ।

धेरै सिनेकर्मी भन्छन्– नेपाली युवा कि काम गर्न खाडी पुगेका छन् कि पढ्न/काम गर्न अमेरिका/युरोप, कसले हेरिदिन्छ नेपाली चलचित्र ?

हेरे त ! बिहान ४ देखि मध्यराति १२ बजेसम्म शो लगाइयो । यसले दर्शक नभएको होइन, दर्शक तान्ने सिनेमा नबनेको प्रमाणित भएको छ । जबकि, ‘पूर्ण बहादुरको सारङ्गी’ आफैँमा मास्टरपिस सिनेमा होइन । तर, हेर्न दर्शक हलमा ओइरिए । कारण, पर्दाको इमोसनसँग दर्शक साटिए । जसका कारण वर्ड अफ माउथ राम्रो भयो । त्यही नै चलचित्रका लागि प्रचार भयो ।

तीन पुस्ता हलमा पुगे । ८० वर्षका वृद्धवृद्धादेखि बालबालिका हलमा पुगे । फलतः ‘पूर्ण बहादुरको सारङ्गी’को ऐतिहासिक व्यापार भयो ।

नेपालबाट मात्र होइन, विदेशबाट पनि ठूलो कलेक्सन ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाल भित्र्याउँदै छ । यहाँ भएकाले यतै हेरे, विदेशमा रहेकाले उतै । आखिर जहाँ रहे पनि नेपाली त नेपाली नै हो, उनीहरूको रोजाइमा पर्ने त नेपाली चलचित्र नै हो । त्यसैले को, कति र कहाँ छन् होइन, निर्माता/निर्देशकले बनाउने राम्रो चलचित्र हो । त्यो आफैँ फैलिन्छ । दर्शक आफैँ खोज्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले पहिलो दिन ठिकै शो पाएको थियो । यसलाई दोस्रो र तेस्रो दिन शो बचाउनै कठिन भएको थियो । तर, चौथो दिनदेखि सिनेमा देशभर हाउसफुल भयो । शो थपिन थाले । जति शो थपिए, सबै हाउसफुल हुँदै गयो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले फणा फिजायो । अरू सिनेमाका शो थुतिए । त्यसले पनि नपुगेर बिहान सबेरै र मध्यराति पनि शो थपिए ।

यसले चलचित्र देशमा दर्शक नभएर होइन, दर्शकको मन छुने सिनेमा नबनेकाले नचलेको प्रस्ट पारेको छ ।

नेपाली निर्माता/निर्देशकमा एउटा हाउगुजी छ, महँगा कलाकार नराखेसम्म चलचित्र चल्दैन । यसको अन्तर्य नेपाली नायकमा स्टारडम छ र त्यही बेच्ने, लगानी उठाउने भन्ने नै हो । चाहे यो कुरा मेकरको मुखबाट आओस् वा नआओस् ।

३०/४०/५० लाख रुपैयाँ पारिश्रमिक दिन निर्माता तथा निर्देशक तयार छन् । उसले कस्तो काम गर्छ भन्ने उनीहरूमा हेक्का हुँदैन, मात्रै महँगो पारिश्रमिक लिने कलाकार भए पुग्छ । वर्ष दिन कुरेर पनि काम गर्छन् ।

चरित्र सुहाउँदो को हुनसक्छ भन्ने हेक्का नराखी महँगा कलाकारको पछि लाग्ने निर्माता र निर्देशकलाई पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले पाठ पढाइदिएको छ । महँगा कलाकारलाई उभ्याउँदैमा चलचित्र चल्दैनन्, चरित्र सुहाउँदो अभिनेता चाहिन्छ भन्ने वास्तविकता अगाडि ल्याइदिएको छ । बजार र सम्बन्धले होइन, कलाकार कथाले रोज्छ भन्ने वास्तविकताको धरातलमा नेपाली निर्माता तथा निर्देशकसामु तथ्य प्रस्तुत गरिदिएको छ ।

वास्तविकतालाई स्वीकार गर्ने वा अझै नजरअन्दाज गरेर हिँड्ने त्यो व्यक्ति स्वयंको विवेकको कुरा हो । तर, सतहमा फेरि एकपटक आएको सत्य यही हो, कथाअनुसारको कलाकार जहाँ चयन गरिन्छ, त्यहाँ दर्शकसँग सिनेमा कनेक्ट हुन्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा बनाइएको चलचित्र हो । सानो बजेटमा चलचित्र बन्दैन, बने पनि दर्शकको ध्यान खिच्ने बन्दैन भन्ने मेकरको संख्या समेत कम छैन । कम्तीमा दुई करोड ५० लाखभन्दा माथि लगानी लाग्छ भन्ने मेकरलाई पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले जवाफ दिएको छ ।

उपलब्ध साधनस्रोतभित्र बसेर कसरी राम्रो काम निकाल्ने भन्नेतर्फ केन्द्रित हुने कि महँगा कलाकारको रटान लगाइरहने ? यो पनि सम्बन्धित निर्माता/निर्देशककै मर्जी । यथार्थ के हो अध्ययन नगरी भ्रम र लहडमा लाग्नेलाई ‘पूर्ण बहादुर’ आफैँमा जवाफ हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro