यो वर्षको सुरुदेखि नै नेपाली चलचित्र उद्योगमा केही फरकपन देखियो । वैशाख १४ गते रिलिज भएको चलचित्र ‘बोक्सीको घर’ ‘अन्डरडग’ साबित भयो ।
सुरुमा खासै हाइप नबनाएको चलचित्रले अन्तिम समयमा हाइप मात्र बनाएन, दर्शकको लोभलाग्दो साथ पायो । आकर्षक ग्रसकलेक्न गर्यो । ११ करोड रुपैयाँभन्दा माथिको ग्रसकलेक्सन गर्यो । यो चलचित्रमा केकी अधिकारीबाहेक भ्यालुएवल ठूलो फेस थिएन । ठूलो नाम गरेको निर्देशक पनि थिएनन् । तर, चलचित्रले अपेक्षा गरेभन्दा धेरै कलेक्सन गर्दा सिनेमा स्टारडमले होइन, कन्टेनले चल्छ भन्ने प्रमाणित भयो । भलै, यसलाई मान्ने/नमान्ने दुवै पक्षमा बहस हुने गरेको छ ।
‘बोक्सीको घर’ले चलचित्र नाम चलेको कलाकार र निर्देशकको नामको बलमा होइन, बलियो कन्टेनले चल्छ भनेर प्रमाणित गरेको ६ महिना नपुग्दै यसमा फेरि अर्को प्रमाण थपिएको छ, ‘पूर्ण बहादुरको सारङ्गी ।’
‘पूर्ण बहादुरको सारङ्गी’ ठिक त्यस्तै सिनेमा हो, जस्तो ‘बोक्सीको घर’ थियो । यो चलचित्रका निर्देशक नाम चलेका होइनन्, ‘बोक्सीको घर’मा जस्तै । स्टारडम भएका कलाकार पनि थिएनन्, ‘बोक्सीको घर’मा जस्तै । बलिउड फर्मुलाको सिनेमा होइन, ‘बोक्सीको घर’ जस्तै । नेपाली माटोको कथा छ, ‘बोक्सीको घर’मा जस्तै । भलै, कथा फरक छ । (यो दुई सिनेमामा रहेको भिन्नता हो ।) ‘बोक्सीको घर’ फिमेलसेन्ट्रिक सिनेमा हो भने ‘पूर्ण बहादुरको सारङ्गी’ पुरुषले लिड गरेको चलचित्र ।
‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल मुख्य भूमिकामा छन् । उनको सिने करिअरमा प्रमुख भूमिकामा रहेको यो पहिलो चलचित्र हो । विजय यसअघि मुख्य पात्रको वरिपरि बसेर काम गर्दै आएका कलाकार हुन् । मुख्य पात्रलाई बुस्ट गर्ने रोलमा दरिएको नाम हो, विजय ।
तर, जब उनले चलचित्रमा पहिलोपटक मुख्य पात्र अथवा नायकत्व सम्हाल्ने अवसर पाए, त्यसलाई न्याय गरे । विषयप्रधान सिनेमामा उनले चरित्रलाई न्याय गर्दा चलचित्रले लोभलाग्लो बक्सअफिस कलेक्सन गरिरहेको छ । बिहान सबेरैदेखि अबेर रातिसम्मका शोमा अग्रिम टिकट बिक्री हुँदै आएका छन् । अधिकांश शो हाउसफुल भइरहेका छन् ।
सुरुमा सन्तोषजनक शो पाएको चलचित्रको दोस्रो र तेस्रो दिन शो घट्यो । तर, त्यसपछि दर्शकको चाप देखिएको चलचित्र अहिले अनपेक्षित रूपमा बक्सअफिसमा चलिरहेको छ ।
बक्सअफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को शो, दर्शकको अकुपेन्सी र प्रतिक्रिया हेर्दा यसले आक्रामक व्यापार गर्ने निश्चितजस्तै छ । यसले कन्टेनबेस सिनेमाले पछिल्लो समय आफूलाई अन्डरगडका रूपमा उभ्याइरहेको प्रस्ट हुन्छ । यी सिनेमा कलाकारले आफूहरू अन्डरडग भएको पुष्टि गरिरहेको रूपमा बुझ्न सकिन्छ ।
अन्डरडगको विशेषता नै हो – आफ्नै अगाडि रहेको वस्तु, विषय वा व्यक्ति ठूलो महत्त्वको वा क्षमतावान् छ, तर त्यसलाई समाजले नजरअन्दाज गरिरहेको हुन्छ । बेवास्ता गरिरहेको हुन्छ ।
त्यसो त विजय स्वयंलाई पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले व्यापार त राम्रै गर्लाजस्तो लागेको थियो, तर यो स्तरमा पुग्छ भन्ने अनुमान थिएन । “यसरी प्रलय नै हुन्छ भन्नेचाहिँ थिएन । एक लेवलमा चल्छ भन्ने थियो । तर, अहिले जसरी दर्शकले सिनेमा हेरिरहनुभएको छ, योचाहिँ अपेक्षा पनि थिएन,” विजय बाह्रखरीसँग भन्छन् ।
कन्टेनले सिनेमा चल्छ कि स्टारडमले ? विजय यसमा दुवै पक्षको भूमिका रहने बताउँछन् । तर, कन्टेबेसका चलचित्र पनि चल्न थाले भन्ने कुरालाई भने नजरअन्दाज गर्न नसकिने उनी बताउँछन् । विषयप्रधान चलचित्र बन्न र चल्न थालेपछि नै ‘बोक्सीको घर’ र ‘पूर्ण बहादुरको सारङ्गी’जस्ता सिनेमा बन्न थालेका हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने भएपछि दोस्रो लेयरमा काम गरिरहेका विजयलाई निर्माणपक्षले नायक बनाएको थियो । सिनेमाको सिंगो भारी विजयलाई बोकाइदिएको थियो ।
जसै उनले सिनेमाको भारी बोक्ने निर्णय गरे, विजयले चरित्रलाई न्याय गरे । उनले चरित्रलाई न्याय गर्दा दर्शकले सिनेमा मन पराए । उनले आफू अन्डरडग भएको प्रमाणित गरे ।
नाटकमा त उनले विभिन्न चरित्र निभाएका थिए, प्रायः हाँस्ने र हँसाउनेभन्दा पनि गम्भीर चरित्रमा धेरै देखिएका थिए । त्यसमा उनले आफूलाई दशकअगाडि नै प्रमाणित गरिसकेका थिए । चलचित्रमा भने हँसाउने चरित्रमा उनको अनुहार अलि बढी फेमेलियर भइसकेको थियो ।
तर, ‘पूर्ण बहादुरको सारङ्गी’को पात्र अलि बेग्लै थियो, विजयलाई सिनेमाका लागि । तीनवटा उमेर समूहमा उनले अभिनय गर्नु थियो । युवा – जहाँ उनी विवाह गर्ने उमेरका हुन्छन् । दोस्रो, अधबैँसे र तेस्रो, वृद्ध – जहाँ उनी जीवनको उत्तरार्धमा छन् ।
युवावय र अधबैँसे त क्यारेक्टर त उनका निम्ति त्यति कठिन थिएन, तर वृद्धको चरित्रमा उनले निकै मिहिनेत गर्नु थियो । गरे । उमेरले प्रकाश सपूत विजयका दाइ हुन् । तर, यो चलचित्रमा उनले प्रकाशको बुवाको भूमिका निर्वाह गरेका छन् । यसले नै उनको चरित्र कति चुनौतीपूर्ण थियो भन्ने प्रस्ट पार्छ ।
विजय तराईको मान्छे, क्यारेक्टर थियो गण्डकीको सेरोफेरोको । त्यसमा पनि गन्धर्वको – जो गाउँगाउँ सारङ्गी रेट्दै हिँड्छ । समय थोरै थियो । उनले गन्धर्वको ठाउँविशेषमै गएर त अध्ययन–अनुसन्धान गर्न सकेनन्, तर गन्धर्व र सारङ्गीको इतिहास अध्ययन गरे ।
“मैले अध्ययन गर्दा सारङ्गीको तार सुरुमा बाख्राको आन्द्रा सुकाएर त्यसभित्र रहेको निलो देखिने कुरालाई सुकाएर धागोजस्तो भएपछि त्यसैलाई तारको रूपमा प्रयोग गरिन्थ्यो भन्ने थाहा पाएँ । त्यसपछि ब्याडमिन्टनको तार हुँदै अहिले अर्कै तार प्रयोग हुने रहेछ,” उनी भन्छन्, “यसरी केही कुरा खोज्दै र बुझ्दै गएँ । सारङ्गी बजाउँदा तार कसरी रेट्ने, औँला कसरी चलाउनेजस्ता कुरा सिकेँ । ओपनिङ र ल्यान्डिङ कसरी गर्ने भन्ने सिकेँ ।”
ओपनिङ र ल्यान्डिङ सिक्न उनलाई करिब दश दिन लाग्यो । यो र उमेरको तीन लेयरमा गरेको विजयको मिहिनेतको खुलेर तारिफ भयो । उनको अभिनयले चौतर्फी प्रशंसा पायो ।
चलचित्र निर्देशकीय माध्यम हो । तर, पर्दामा देखिने र प्रशंसाको पात्र कलाकार नै हुन् । त्यसलै त यो ग्ल्यामरको दुनियाँमा भित्रिने र भित्रिएपछि टिक्ने चाहनामा धेरैले अनेक हतकन्डा गरेका कुरा बाहिर आउँछन् ।
यति हुँदाहुँदै पनि बजारमा ठूलो हाइप बनाएका र दर्शकले मन पराएर चलेका चलचित्रको निर्देशक र निर्माता को हो, सिनेमाको कथा कसले लेखेको भन्ने जिज्ञासाले पर्दापछाडिका पात्रहरू पनि खोजिन्छन् । ‘पूर्ण बहादुरको सारङ्गी’मा भने त्यस्तो भएन । पूर्णबहादुर उर्फ विजयको मात्र खोजी भयो । सिनेमाको एकलौटी क्रेडिट उनैले खाए ।
विजयमा क्षमता रहेछ, दिइएको क्यारेक्टरलाई न्याय गर्न सक्ने रहेछन् । दर्शकले उनको काम मन पराउने रहेछन् । तर, किन उनी डेढ दशकसम्म फ्रन्टमा देखिएनन् ? किन पत्याएनन् निर्देशक र निर्माताले ? “यो प्रश्न त मलाईभन्दा पहिला उहाँहरू (निर्माता/निर्देशक)लाई सोध्नुपर्ने रहेछ,” जवाफमा विजय भन्छन्, “मेरो काम त अभिनय गर्ने हो, अभिनय गर्छु । मन लागेको काम गर्छु । आफूलाई मन लागेको काम गर्न पाइयो भने रोल कति लामो छोटो भन्ने कुराले मलाई प्रभाव पार्दैन ।”
प्रतीक्षा लामै भयो, करिब डेढ दशक । विषयप्रधान सिनेमा बन्न थालेको पनि लामै समय भइसकेको थियो । त्यसैले उनलाई लाग्थ्यो, एक न एक दिन कसो मेन क्यारेक्टरमा अफर नआउला ! नभन्दै आयो पनि । काम पनि गरे ।
उनकै शब्दमा चलचित्र यसरी सफल भइदियो, इतिहासकै सबैभन्दा धेरै शो पाएर चल्ने चलचित्र उनकै भइदियो । उनकै शब्दमा लेखौँ, “प्रलय नै भयो । सम्भवतः यो मेरो जिन्दगीकै सबैभन्दा सुन्दर समय हो । म फेरि मुख्य भूमिकामा काम पनि गरौँला, सिनेमा सफल पनि होला, तर यत्तिको चाहिँ हुँदैन ।”
सुखद प्रतिक्रियाको ओइरो छ । मोबाइलमा कलको ओइरो छ । “उता हलमा सिट राताम्य छ । यता मेरो मोबाइल उठाउन नपाएको कलले राताम्य छ,” विजय भन्छन्, “नुवाकोटमा बन्द भएको हल पूर्ण बहादुरको सारङ्गी आएपछि खुलेछ । मेरा लागि यो जिन्दगीकै यादगार क्षण भएर रहने भयो ।”