site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ वर्षपछि खोलो फर्कियो, विजय हिरो भए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडाैं । एक दशकअगाडि विजय बराल एउटै परिचयमा सीमित थिए । उनलाई धेरैले चिन्दैन थिए । चिन्थे त केवल आफ्ना आफन्त र साथीभाइले । चिनून् पनि कसरी ? गरेकै केही थिएनन् ।

तन र मन नाटकमा थियो । विजय नाटककै सपना देख्थे, त्यसमै रमाउँथे । त्यही समय मण्डला थिएटरको जग बन्दै थियो । उपेन्द्र सुब्बा, रामबाबु गुरुङ त्यहीबेला चलचित्रको स्क्रिप्ट लेख्दै थिए । चलचित्र थियो– कबड्डी ।  

रामबाबु र उपेन्द्रलाई विजयको रूप, रङ, लवाइ–खवाइ, ढंग र पारा देखेर यो चरित्र विजयलाई हुन्छ भन्ने निधो गरे । चरित्र थियो– बिके । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बिकेमा कस्तो मनोविज्ञान उपेन्द्र र रामबाबुले परिकल्पना गरेका थिए ? त्यो त विजयलाई थाहा हुने कुरा भएन । तर, उनले बिकेको क्यारेक्टर पाउनुको कारण उनको आवरण र टोन थियो । विजयको आफ्नैपनको नजिक थियो बिके, त्यसैले बिकेको क्यारेक्टरमा उनले इन्ट्री मारे । 

चरित्र त पाए, अब त्यसलाई न्याय गर्नु थियो । चरित्रलाई न्याय गर्न चरित्र निर्माणमा कलाकार र निर्देशकले काम गर्नुपर्छ । 

Royal Enfield Island Ad

चरित्र निर्माण कसरी गर्ने ?

“चरित्र निर्माण गर्नुपर्थ्यो । बिके मजस्तै त थियो । तर, ठ्याक्कै मजस्तै त देखिनु भएन । नाटकमा मलाई हेर्नुभएका र आफ्ना आफन्तले पनि केही फरक देख्नुपर्छ भन्ने थियो,” विजय नोस्टाल्जिक हुन्छन्, “त्यो समय समाजमा छुवाछुत अहिलेभन्दा धेरै थियो । उसलाई समाजले जातकै आधारमा गर्ने व्यवहार र उसले सोच्ने ढंग कस्तो होला भनेर क्यारेक्टर निर्माण गरेँ ।” 

आफूसँग रहेका दलित समुदायका साथी, घरमा गरिने व्यवहार र समाजको दृष्टिकोणलाई केलाए । अरू मानिसभन्दा केही फरक छैन । तर, त्यति हुँदाहुँदै पनि समाजले दलित भएकैले थोरै भए पनि फरक चाहिँ पार्छ भन्ने सोचे । र, निमार्ण गरे– बिकेको चरित्र ।

“मैले मेरो चरित्रलाई हाइटमा राखेँ । म तिमीहरू बराबरकै हुँ । तर, थाहा नपाउने गरी म तिमीहरूसँग नजिकै छु भनेर मैले चरित्र निर्माण गरेको छु,” उनी भन्छन्, “मिहिन तरिकारले हेर्ने हो भने बोलाइ, बसाइ, हिँडाइ र व्यवहारमा त्यो देखिन्छ ।”

जस्तै ?

“अरूभन्दा अग्लो ठाउँमा बस्ने, अरूभन्दा अगाडि बोलिहाल्ने मेरो स्वभाव छ,” ख्याल गर्ने हो भने प्रस्ट देखिन्छ । 

‘कबड्डी’ रिलिज भएपछि विजय अलि फराकिलो भए । पहिचान फेरियो । विजयभन्दा पनि उनलाई ‘बिके’ भनेर चिन्ने धेरै भए । चलचित्र क्षेत्रमा स्थापित भए । एकपछि अर्को सिनेमामा काम आयो । आफूलाई फरकफरक पात्रमा ढाल्दै गए ।

काम त उनले चलचित्र ‘छड्के’मा पनि गरेका थिए । ‘छड्के’सँगै ६ वटा चलचित्रमा काम गरिसकेका थिए । तर, उनलाई पहिचान दिने सिनेमा भने ‘कबड्डी’ बन्यो । विजयले 'अर्गानिक' अभिनय गर्छ भन्ने छाप पर्‍यो । 

बाटोमा हिँड्दा वा मण्डलामा बस्दा नै ‘ओ हो, बिके’ भन्ने मान्छेहरू भेटिन थाले । “कबड्डी’ रिलिज भएपछि हुरुरु एकैपटक फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएको हो,” उनी भन्छन् । 

समाज परिवर्तन हुँदै गयो । समाज जुन गतिमा परिवर्तन हुन्छ, त्यसकै तालमा व्यक्ति र उसको मानसिकता पनि परिवर्तन हुँदै जाने हो । जसै समाज परिवर्तन हुँदै गयो, त्यही परिवर्तन बिकेको यात्रामा पनि देखियो । ‘कबड्डी’का चारवटा सिरिजमा बिकेको चरित्रलाई नियाल्दा थाहा हुन्छ नै । 

० ० ०

बीचमा थुप्रै चलचित्रमा काम गरे । कति उनलाई चित्त बुझ्ने थियो होला । कति लिसिङपिसिङ पनि थिए होला । यही बीचमा आयो ‘मंगल सिंह’ । ‘जारी’मा विजय मंगल सिंहको भूमिकामा देखिएका छन् ।

विजय तराईको मान्छे, मैथिली र भोजपुरी भाषा उनका लागि जति सहज हुन्छ, त्यति लिम्बू भाषा बोल्न हुँदैन । तराईको टोन स्पिड हुन्छ । पूर्वी पहाडको टोन स्लो । लिम्बू भाषा र ट्यिुनिङमा बोल्नुपर्ने भएपछि टोन डाउन र चेन्ज एकैपटक गर्नुपर्ने भयो ।

मंगल सेनको आमाको थर घिमिरे, बाउको लिम्बू । भाषामा विजयलाई केही असहज हुने भयो । लय त सामान्य अभ्यासले पनि पक्रिन सक्ने कुरा भयो । भाषामा उपेन्द्र र साथी अनिल सुब्बाले सहयोग गर्ने भए । उनले आँट गरे । 

पूर्वी पहाड विजय जन्मे हुर्केको भूगोल थिएन । त्यसैले सहजीकरण अरूले गर्ने छुट्टै कुरा मिहिनेत त आफैँ गर्नु थियो । क्यारेक्टरको मनोविज्ञान त आफैँले केलाउनुपर्ने थियो ।

मान्छे एग्रेसिभ किन हुन्छ ? उनले खोज्न थाले । कारण उनी झनक्क रिसाउने स्वभावको थियो । अन्तरजातीय विवाहका कारण मिक्स कल्चरको प्रभाव उनमा थियो । दारीजुंगा झपक्कै छ । बाहुन क्षेत्रीको लुक्स छ । तर, मुन्धुम जान्दछ । सिलाम शाक्मा लगाउँछ । लिम्बू थर लेख्छ । त्यसैले मंगल सेन म पनि तिमीहरू जस्तै हो भन्ने अन्तरद्वन्द्वमा बाँचेको चरित्र थियो ।

त्यसैले यसमा उनले जति मिहिनेत गरे, त्यति नै दर्शकको नजरमा पनि परे । 

० ० ० 

सिने करिअरमा ‘बले’ विजयको अर्को प्रयोग थियो । चलचित्र ‘दिमाग खराब’मा नेताको चम्चाको भूमिकामा देखिएको बले अहिलेको नेपाली समाजमा मौलाउँदो प्रवृत्ति हो । 

“बले कसैको छेउमा बस्छ । र, उसको इसारामा नाच्छ । हाम्रो राजनीतिमा अझै धेरै यस्ता पात्र देखिन्छन्,” विजय भन्छन् । यो सिनेमा रिलिज भएपछि धेरैले भने– खलपात्रको खडेरीमा नयाँ भिलेनको प्रवेश । उनको यो सफलता थियो । 

यो चरित्र विजयसामु अलि पछि आइपुगेको थियो । उनका अनुसार, सुरुमा बलेको चरित्रमा अरू कोही थियो । विजय अर्कै चरित्रमा थिए । 

“निश्चल बस्नेत दाइलाई मलाई यस्तो खालको पात्र निकाल्नुभयो भने गर्छु भनेर म जारीको प्रोमोसनका लागि यूके गएँ,” उनी भन्छन्, “मैले दाइलाई अरू कोही खोज्नु तर कोही भेटिएन भने म गर्छु भनेको थिएँ ।” 

यूकैमै थिए, विजय । निश्चलले म्यासेज गरे, तिमीले त्यही रोल गर्नुपर्छ । जबकि विजय अर्कै चरित्रको तयारीमा थिए । 

किन दाइ म ? विजयले प्रश्न गरे ।

निश्चलले विजयको पुरानो एउटा डेडलक लगाएको फोटो पठाउँदै भने– यही मुड, यही एटिच्युड भए हुन्छ, अरू केही चाहिँदैन । बाँकी त आफैँ गरिहाल्छौ, कुरै खत्तम । 

विजयले आफ्नै फोटो हेरे । ‘यो मुड त म क्रिएट गरिहाल्छु । इन्टेसन डेभलपमेन्टमा चाहिँ बढी चाहिन्छ । किनभने म कमिक वेमा आइरहेको छु,’ उनले सोचे । 

नेता को हो ? अर्पण थापा । भिलेन लुक्समा भिलेन यसै एग्रेसिभ देखिन्छन् । कसको अपोजिट ? दयाहाङ राई र खगेन्द्र लामिछाने । चुनौती स्वीकार गरे । 

चरित्र निर्माणमा पात्रको मुड पक्रिए । मुड थियो– ऊ कसैको कुरा सुन्दैन, सिबाय आफ्नो नेताको । आफूलाई संसारकै पावरफूल मान्छे सम्झिन्छ । तर, ऊ स्वयं प्रयोग भइरहेको हुन्छ । हात्तीको दाँतजस्तो । उथलपुथल गर्ने भित्र अर्कै हुन्छ । तर, बाहिर अर्कै देखिन्छ । 

नयाँ चुनौती र प्रयोग थियो, विजयको सिने यात्रामा । तर, दर्शकले मन पराइदिए । कमिक वेमा मात्रै देखिने विजय फरकरूपमा देखिए । जहाँ उनले आफूलाई अब्बल सावित गरे, पाइन हालेको कलाकारका रूपमा दरिए । 

० ० ०

नेपाली भाषामा एउटा उखान छ– १२ वर्षपछि खोलो पनि फर्किन्छ । सबैको जिन्दगीमा यो लागु हुन्छ/हुँदैन त्यो व्यक्ति स्वयंले अनुभव गर्ने हो । तर, विजयले भने यो अनुभव गरे । १२ वर्षसम्म अभिनयमा पाइन हालेर बसेपछि अन्ततः एक दिन सेभेन सिजबाट फोन आयो– विनोद पौडेल र सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’को हिरो हुन आग्रह गरे । 

हिरो ?

‘हो । सिनेमाको मुख्य भूमिकामा हामीले तपाईंलाई सोचेका छौँ । के छ विचार ?’

“लिड, म ? मलाई डर लाग्यो । स्क्रिप्ट पढेको छैन । मैले दुई हप्तासम्म रोकिरहेँ,” उनी भन्छन्, “त्यसपछि विनोद पौडेल सरले म अस्ट्रेलिया जाँदै छु, डिसिजन गर्नुपर्‍यो भनेपछि मैले हुन्छ भनेँ ।” 

अक्सर मेन क्यारेक्टरलाई बुस्ट गर्ने बुस्टरको भूमिकामा काम गर्दै आएका थिए, विजय । सहायक रोलमा एउटाले नभ्याए अर्को, अर्कोले नखेले अर्को भन्ने हुन्छ । त्यसैगरी १२ वर्ष बिताएपछि विजयले सिंगो सिनेमाको भारी काँध हाले । 

उनलाई याद भएसम्म ‘कबड्डी’का सिरिजमा उनले ३२ देखि ४५ वटासम्म सिन प्रतिचलचित्र पाए । सबैभन्दा धेरै ‘ह्यारी की प्यारी’मा ७१ सिन पाएका थिए । 

अहिले हिरो हुँदा उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा १४० सिन उनको भागमा पर्‍यो । 

सहायक भूमिकामा रहँदा हिरोका पछि लाग्यो, हिँड्यो । जिम्मेवारी कम, तनावै नहुने । साइडमा च्यापिएर बस्यो । प्रोमोसनमा पनि मन लागे हिँड्यो, नलागे नहिँड्ने अप्सन हुन्छ । तर, यसमा हिरो नै आफैँ भएपछि अघि लाग्नै पर्‍यो । हिँड्नै पर्‍यो । हिँडिरहेका छन् । 

ढिलोचाँडो विजय हिरो भए । सिनेमाको लिड गरे । अब यसलाई कसरी निरन्तरता दिने ?

“हो, यही प्रश्नको द्वन्द्व मेरो दिमागमा चलिरहेको छ । तर, अभिनेता भएका नाताले चरित्र हेर्छु होला,” उनी भन्छन्, “अब सिनेमामा लिड चरित्र भएको सिनेमामै अफर आइहाल्छ भन्ने अपेक्षा राखेको छैन । तर, आउँदा गर्न सकिन्छ भन्ने हो ।” 

उनको मनमा उठेको प्रश्न विजयकै शब्दमा– यो चलचित्रमा काम गरिसकेपछि कस्तो चरित्रका लागि अफर आउला भन्ने चाहिँ लागिरहेको छ । तर, लिड क्यारेक्टर आएन भने पनि मेरो सिने करिअरमा असर गर्दैन । सायद अब सिनेमामा असर पार्ने चरित्रमा मात्रै काम गर्छु । सेकेन्ड, थर्ड लिड जे भए पनि हुन्छ । तर, सिनेमामा त्यसले प्रभाव पार्ने मात्रै गर्छु । सामान्य आउने–जाने चरित्रमात्रै चाहिँ गर्दिनँ ।

सिनेमाको संख्या घट्ने हो ?

हो, अब मेरा सिनेमाको संख्या घट्नेछ । घटाउने नै हो । 

सिनेमा घटाउने, पारिश्रमिक बढाउने हो ?

हो, पैसा बढाउने हो । तर, धेरै होइन, ठिक्क बढाउने हो । अरूले जस्तो निर्मातालाई प्रेसर हुने गरी नबढाउने । 

बक्सअफिसमा रेकर्ड ब्रेक गर्ने सिनेमामा पनि काम गरे विजयले । समीक्षात्मकरूपमा राम्रा सिनेमामा पनि अभिनय गरे । ‘झुर’ सिनेमामा पनि काम गरे । मन लागेका चरित्र पनि गरे । त्यसैले अब यो र यस्तै गरौँ भन्ने नै केही छैन भने किन सेलेक्टेड सिनेमा मात्रै नगर्ने भन्ने अहिलेको निर्णय हो, विजयको ।

यद्यपि, चरित्रप्रधान सिनेमा आउँदै गर्दा विजयको सम्भावना पनि बढ्दै जाने हो । सिनेमा सिफ्ट भएर फेरि एक्सन र रोमान्टिक सिनेमा विषयप्रधान सिनेमामाथि हाबी भए भने विजय हिरो भइरहने सम्भावना पनि न्यून हुँदै जानेछ । यसका लागि उनी तयार छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’मा हिरो को हो ? 
बाउका लागि छोरो नै हिरो हो । मेरा लागि प्रकाश नै हिरो हो । छोराका लागि बाउ नै हिरो हो । दुवैजना हिरो हो । पात्रका हिसाबले बाउका लागि छोरो छोराका लागि बाउ हिरो हुन्छ । 

यो त भावनात्मक कुरा भयो, ‘पूर्ण बहादुरको सारङ्गी’ चाहिँ को हो ?

सर्वाधिक स्क्रिन मैले पाएको छु । स्क्रिन टाइमा मेरो क्यारेक्टरलाई धेरै छ । सर्वाधिक स्क्रिन टाइम पाएको हिसाबले मापन गर्ने हो भने म नै हिरो हो । तर, म आफैँले म हिरो हुँ कसरी भनूँ । चरित्र हिरो छ । पूर्णबहादुर हिरो हो । प्रकाश सपूत मेरो छोराको रूपमा हुनुहुन्छ । अन्तिममा उहाँ नै हिरो हो । छोरो नै हिरो हुने हो सिनेमामा । 

तर, चरित्रका हिसाबले भने यो सिनेमाको हिरो म नै हुँ । तर, सिनेमामा चरित्र हिरो भएको हो, म होइन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro