
काठमाडौं । सदियौँदेखि भनिँदै आएको एउटा वाक्य छ– प्रेम सधैँ चोखो हुन्छ ।
हो त, प्रेम सधैँ चोखो नै हुन्छ ? होला, प्रेम चोखो नै होला । तर, यसको ‘डार्क साइड’ पनि त होला । किनकि, क्रियाको प्रतिक्रिया त विज्ञानको नियम नै हो ।
प्रेममा धोका पनि हुन्छ । धोकाले मान्छेलाई बदलासम्म पुर्याइरहेको पनि हुन्छ । धोका – जसले कतिको जिन्दगी बरबाद भएको छ/भइरहेको होला ।
त्यसैले असफल प्रेमकै कारण बदलाले चरम रूप लिँदा हत्या, आत्महत्या, बदलाजस्ता थुप्रै घटना घटिरहेका छन् । यसको कुनै उदाहरण पेस गर्नु पर्दैन । अधिकांशलाई जगजाहेर भएकै विषय हो ।
जहाँ सुन्दर प्रेम हुन्छ, त्यहाँ त्यत्तिकै कुरूप धोकाको पनि सम्भावना हुन्छ । त्यसैले त लेखियो यो गीत–
गुन भुलेउ पित्तलको सुन पायौ होला
भुइँ छोड्यौ आकाशको जून पायौ होला
कलेजी काटेर दिएको ठाउँ
सय चिरा बनायौ दुख्यो नि घाउ
त्यही घाउमा छर्किने नुन पायौ होला
तेल हाल्यौ बालेनौ दियो
मेरा कसुर ए हजुर भन्देऊ न के थियो ?
सारिका घिमिरेले लेखेको यो गीत अहिले धेरैको ओठओठमा छ । गीतले वियोगको कुरा गर्छ । वियोगात्मक प्रेमको कुरा गर्छ ।
गीतमा वियोगको छटपटीको कुरा छ । आफूलाई छोड्नुका कारण खोज्ने प्रेमिकाले अर्को कोही व्यक्ति प्रेमीले पायो होला भन्ने कल्पना गरिएको छ ।
कसको गीत हो ? सारिकाले लेखेकी हुन् । कसरी लेखिन् ? कि आफ्नै कहानी हो ?
होइन । उनकै शब्द सापटी लिने हो भने काल्पिनिक शब्द हुन् । रुमानी कल्पनामा लेखिएको गीत हो ।
उनले आफैँले भोगेको कथा होइन । उनको कोही साथी वा व्यक्तिविशेषको कथा पनि होइन । मात्र काल्पनिक कथा हो ।
तर, कसरी धेरैले यसलाई ‘रिलेट’ गरे ? “सबैले भोगेको वा देखेको गीत लेखौँ भन्ने लागिरहेको थियो । उसले त बिर्सियो रे भन्ने स्याड सङ पनि दर्शकले मन पराउनुभएको थियो,” उनी भन्छिन्, “त्यस्तै अर्को गीत बनाउने रहर थियो । त्यहीक्रममा सबैले भोगेको वा देखेको गीत लेखौँ भनेर लेखेको थिएँ ।”
एकाध गीत लेख्ने गीतकारले प्रायः कुनै घटनाविशेष वा आफ्नै अनुभवलाई उतार्छन् । सारिका गीत लेखिरहन्छिन्, लभ सङ त कहिले डान्सिङ नम्बर । आफ्नै निम्ति त कहिले अरूका लागि । यसैक्रमा उनले लेखिन्, ‘गुन भुलेउ’ ।
किन ?
बजार डान्सिङ नम्बरमा रमाइरहेको थियो । उनी पनि त्यसकै पछि लागिन् । तर, दर्शक खासै नाचेनन् । अनि, उनी फर्किइन् स्याड सङमा ।
डान्सिङ नम्बर नचलेपछि उनलाई स्याङ सङ नै लेख्न मन थियो । युट्युब च्यानललाई एक्टिभ गराउन पनि गीत चाहिएको थियो । त्यसपछि उनले लेखेकी थिइन्, ‘गुन भुलेउ’ ।
कसरी ?
कोही विषय र परिवेश पाएपछि डायरी र कलम हातमा बोकेर गीत लेख्न बस्छन् । सारिका यसो गर्दिनन् ।
कोही अब गीत लेख्नुपर्यो भन्ने लागेपछि शान्त स्थान खोज्दै हिँड्छन् । सारिका यसो पनि गर्दिनन् ।
कोही मदिराले दिमाग रमरम र शरीर झमझम पारेपछि लेख्न थाल्छन् । सारिका यसरी लेख्दिनन् ।
कसरी लेख्छिन् त ?
अक्सर कोलाहल काठमाडौंका अस्तव्यस्त सडकमा स्कुटर ड्राइभ गरिरहेका बेला सारिकाको दिमागमा गीत फुत्तफुत्त आउँछन् । जसै उनको दिमागले गीतको गेडो र मेलोडी उमारदिन्छ, अनि सारिका स्कुटर साइड लगाउँछिन् । र, मोबाइलमा रेकर्ड गर्छिन् मेलोडी र शब्द ।
करिब तीन महिनाअगाडि यस्तै भयो । सारिका स्कुटर चलाएर नक्सालबाट धापासी जाँदै थिइन् । अचानक दिमागमा आयो, गुन भुलेउ पित्तलको सुन पायौ होला... । उनले स्कुटर साइड लगाइन् । र, आफ्नो मोबाइलमा रेकर्ड गरिन् ।
स्थायी बाटोमै तयार भयो । अब चाहियो अन्तरा । के लेख्ने होला, कसरी भन्ने भइरहेको थियो । तर, उही प्रक्रिया । सडक र स्कुटर । केही समयपछि अन्तरा पनि फुर्दै गयो । केही समयमा गीत पूरा भयो । स्कुटरको यात्रामा गीत पूरा भयो । बाँकी थियो, त्यसलाई माझ्ने र चम्काउने काम ।
यो गीतमा दुइटा मेलोडी छ । स्थायीपश्चात् थोरै ब्रिज राखेपछि अर्को मेलोडी सुरु हुन्छ । त्यो मेलोडीको मिटरमा यी शब्द चल्छन्–
तेल हाल्यौ बालेनौ दियो
मेरा कसुर ए हजुर भन्देऊ न के थियो ?
यो मेलोडीमा उनले अन्तिममा आएर थोरै परिवर्तन गरेकी थिइन् । कारण, मेलोडीमा भेरिएसन दिँदा गीत राम्रो हुन्छ भन्ने थियो । दोस्रो कारण, थोरै भए पनि लोक फ्लेवर दिऊँ भन्ने थियो । रेकर्ड गर्नुभन्दा दुई दिनअगाडि उनले यसमा परिवर्तन गरेकी थिइन् ।
सारिका आफ्ना गीतमा आफैँ संगीत भर्छिन् । भलै, उनी व्यावसायिक संगीतकार होइनन् । संगीत पनि गीतजस्तै हो उनका लागि । अर्थात्, गर्छु, यति दिनभित्र सक्छु भनेर होइन, आफैँ आउने हो । कहिले शब्दसँगै मेलोडी आउँछ । त्यसैलाई मर्म नमर्ने गरी थोरै परिमार्जन र परिष्कृत गर्छिन् ।
कहिलेकाहीँ भने मेलोडी आएपछि त्यसको फ्रेममा बसेर शब्द भर्छिन् । कहिले शब्द आएपछि मेलोडीको खोजी गर्छिन् ।
“मेरो सन्दर्भमा शब्द दिमागमा आएपछि म गुनगुनाउँछु, गुनगुनाउँदा जुन मेलोडी आउँछ, त्यसमै काम गर्छु,” उनी प्रस्ट पार्छिन्, “मेरो हकमा शब्द बनिसकेपछि त्यसमा मेलोडी भर्न कठिन हुन्छ ।”
शब्द परिवर्तन गर्दा मेलोडीको मिटरमा नमिल्ने भएकाले दुवैलाई सँगसँगै लैजाने उनको बानी छ । बार र विट नापेर पनि उनी अक्सर मेलोडी बनाउँछिन् । स्वच्छन्द तरिकारले विचरण गर्दै दिमागमा आएको बार, विट र मिटरमा नै लय छोडिदिन्छिन् । ‘गुन भुलेउ’ पनि त्यस्तै हो ।
हार्मोनियममा थोरैथोरैबाहेक अरू म्युजिकल इन्ट्रुमेन्टमा उनको हात चल्दैन । यो गीतमा उनले हार्मोनियममा मेलोडी मिसाइनन् । जे आयो त्यसमै भरोसा गरिन् । उनको भरोसामा स्रोताले पनि साथ दिँदा गीत लोकप्रिय भयो ।
साढे तीन महिनामा गीत तयार भयो । रेकर्ड गराइन् । सारिकाको एउटा बानी छ, गीत लेखेपछि कस्तो लाग्यो भनेर कसैलाई नसोध्ने, ‘फिडब्याक’ नमाग्ने । जब गीत रेकर्ड गराउँछिन्, त्यसपछि भने आफ्ना नजिकका संगीतकर्मी साथीभाइलाई सुनाउँछिन् ।
‘गुन भुलेउ’ रेकर्डपछि योगेशकाजी, मेघ पौडेल, कृष्ण केसी, समीर आचार्यलाई सुनाइन् । उनीहरूले भने, ‘ल राम्रो भा’को रहेछ है यो गीत । सुन्दा मिठो छ, शब्द पनि राम्रो छ । स्रोताले मन पराउनुहुन्छ होला है ।’
यस्तो प्रतिक्रियाले उनलाई अवश्य केही उत्साहित बनायो । हरेक गीतमा यस्तै मिहिनेत हुन्छ । लगानी हुन्छ । राम्रो त होला, तर करिअरकै ‘माइलस्टोन’ हुन्छ भन्ने उनले सोचेकी थिइनन् ।
त्यसैले उनले अडियो प्लेटफर्ममा गीत अपलोड गरिन् । उनले दुई/तीन क्लिप्स काटेर केही पेजलाई टिकटकमा पठाइदिइन् । यति धेरै टिकटक बने, उनलाई लगातार टिकटकमा म्यासेज आउन थाल्यो– यसको पूरै भिडियो सर्च गर्दा युट्यबुमा भेटिएन ।
अडियो प्लेटफर्ममा गीत रिलिज गरेको चौथो दिन सारिकाले भिडियो खिचाइन् । तत्काल चाहिएकाले उनले दुई लिप्सिङ मात्र गरेर सामान्य भिडियो बनाइन् । दुई घण्टामा खिचिएको भिडियो निकै न्यून बजेटको हो । टिकटकमा गीतको स्थायीको एउटा क्लिप्स जसरी हिट भयो, त्यस्तै युट्युबमा भिडियो लोकप्रिय भयो ।
यो गीत यति राम्रो हुन्छ, यति धेरै रेस्पोन्स पाउँछ भन्ने निश्चित भएको भए त्यही खालको भिडियो बनाउँथे, त्यहीअनुसारको कास्टिङ हुन्थ्यो होला,” सारिका भन्छिन्, “युट्युबमा कन्टेन भएन भनेर बनाएको गीत हो । कमर्सियल गीत भनेर लगानी गरेर डुबाएर मात्रै भएन भनेर तयारी पारिएको गीत हो ।”