संसद्को बहस यदाकदा रोचक किन हुन्छ भने त्यहाँ सिसाका घरमा बस्नेहरूले अरूमाथि ढुङ्गा पटक्कै हिचकिचाउँदैनन् । आइतबार प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विश्वासको मत लिने क्रममा पनि प्रतिनिधि सभामा सिसाका घरमा बस्नेहरूले एकअर्कामाथि ढुङ्गा हानाहान गरे ।
एक साता अगाडिका सहयात्रीहरू सत्ता समीकरण फेरिनेबित्तिकै आरोपप्रत्यारोपमा उत्रे । एक साताअगाडिसम्म उनले हाँकेको रथका यात्री उनैका सागिर्दहरूले प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीलाई जोगाउन समीकरण फेरेको आरोप लगाए । विपक्षमा हुँदा ओली पनि अरूमाथि यस्तै आरोप लगाउँथे ।
‘भ्रष्टाचारका मुद्दामा कारबाही’ हुन थालेपछि नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेको भन्ने विपक्षको आरोपलाई प्रधानमन्त्री ओली ‘अपवाह फैलाएको’ भन्दै खारेज गरिदिएका छन् । विशेषगरी गिरीबन्धु टी इस्टेटका विषयमा अफवाह फैलाइएको दाबी प्रधानमन्त्री ओलीको थियो ।
हुनत, प्रधानमन्त्री ओलीको अगिल्लो कार्यकालमा गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टाको व्यवस्था मिलाउँदा भ्रष्टाचार भएको आरोप अहिलेको सहयात्री कांग्रेसले नै लगाएको थियो । अहिले आरोप लगाउनेहरू भने त्यतिबेला ओलीको प्रतिरक्षामा लागेका थिए । समीकरणसँग बोली फेरिएको मात्र हो ।
सम्भवतः अब गिरीबन्धुको विषय उठाउने नेपाली कांग्रेसका सांसदहरू मौन हुँदै बिस्तारै प्रतिरक्षामा लाग्लान् । यसैले नयाँ वा पुराना जो होउन् सत्ताका खेलाडीहरू भ्रष्टाचारका साँच्चै विरुद्ध छन् भन्ने जनताले पत्याउँदैनन् । सत्ता मोहले विवेकलाई मूर्च्छित जो बनाउँछ ।
उनले आफ्नो बचाउ गर्ने क्रममा प्रधानमन्त्री ओलीले एउटा विचारणीय प्रश्न गरेका छन् ( कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ रु कानुन बनाउँदा भ्रष्टाचारको बात लागे पनि सजाय हुँदैन । सजाय नहुने भएपछि कसरी अपराध हुन्छ भनेजस्तै हो ओलीको प्रश्न ।
संसारभर नीति वा विधि निर्माताहरू राज्य वा समुदायलाई हानि भए पनि व्यक्ति वा समूह विशेषलाई लाभ हुनेगरी नियमकानुन निर्माण गर्न प्रवृत्त हुनेगरेको उदाहरण जताततै भेटिन्छ । यथार्थमा यसरी नै नियम कानुन बनाएर गरिने भ्रष्टाचारलाई नै ‘नीतिगत’ भनिने हो ।
गिरीबन्धु टी इस्टेटको मामिलामा प्रधानमन्त्री ओलीको संलग्नतामा शङ्काको सुविधा दिए पनि सर्वोच्च अदालतले खारेज गरिदिएको सरकारको निर्णय भने निःसन्देह नीतिगत भ्रष्टाचार नै थियो । प्रधानमन्त्री ओलीले ‘अफवाह फैलाउने’हरू ओँठे जवाफ दिएर होइन अब भ्रष्टाचार रोकेर उत्तर दिनुपर्छ ।
पौराणिक कथामा ज्ञाता प्रधानमन्त्री ओलीलाई ‘स्यमन्तक मणि’ चोरी प्रकरणको जानकारी पनि पक्कै होला । आफूमाथि मणि चोरीको आरोप लगाउने सत्राजित्सँग प्रतिवाद गर्नुको साटो कृष्णले जाम्बवान्सँग युद्ध गरेर भए पनि मणि फर्काएर आफूमाथि लागेको कलङ्क मेटेका थिए ।
यसैले सहकारी ठगीका साथै गिरीबन्धु टी इस्टेट, भुटानी शरणार्थी, बाल मन्दिर जग्गा हिनामिनालगायतका सबै विवादित विषयको स्वतन्त्र छानबिन गराएर प्रधानमन्त्री ओलीले सुशासनको नयाँ अध्याय थाल्नुपर्छ । ओँठे प्रतिवाद गर्दैमा न जनताले विश्वास गर्छन् न विपक्षीहरू नै चुप लाग्नेछन् । चेतना होस् ।