site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
‘डिपफेक’को सिकार बन्दैछन् प्रधानमन्त्रीदेखि सार्वजनिक व्यक्तिसम्म 

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको दुरूपयोग गर्नेहरूले सार्वजनिक व्यक्तिहरूलाई ‘डिपफेक’को सिकार बनाइरहेका छन् ।  तस्बिर, भिडियो वा अडियोमाथि छेडखानी गरेर बनाइने यस्ता ‘डिपफेक’ सामग्री हेर्दा दुरूस्तै लागे पनि यी एआई प्रविधिमार्फत् बनाइएका हुन्छन् ।

यतिखेर सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री ‘डिपफेक’को सिकार बनेका छन् । यो भिडियो सुरूमा टिकटकमा पोस्ट भएको थियो भने अहिले फेसबुकमा पनि धमाधम पोस्ट भइरहेको छ ।

आफू ‘डिपफेक’को सिकार भएको भिडियोलाई इंगित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुक र एक्स (पुरानो ट्विटर)मा ‘अब मैले के गर्ने ?’ भनेर सुझाव मागेकी छिन् । 

Dabur Nepal

उनले लेखेकी छिन्, “मेरो एउटा राजनीतिभन्दा परको साथी छ । उसले एकदिन मलाई भन्यो– यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको ? कि त सोसल मिडिया÷मिडियामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर । तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुड अफ भयो ।”

उनले थपेकी छिन्, ‘‘तपाईं पनि भन्नुस् त म के गरौँ ?”

झाँक्री र ओलीको ‘डिपफेक’ भिडियो बनाउनका निम्ति तस्बिरको प्रयोग गरिएको देखिन्छ । 

ओली र झाँक्रीबीच पछिल्लोपटक २५ चैत ०८० मा भेट भएको थियो ।  उक्त भेटघाटको तस्बिर झाँक्रीले नै आफ्नो फेसबुक र ट्विटरमा पोस्ट गरेकी थिइन् ।  यिनै तस्बिरको प्रयोग गरेर सामाजिक सञ्जालमा ‘डिपफेक’ भिडियो भाइरल बनाइएको छ ।

झाँक्रीले आफ्नो ‘डिपफेक’ भिडियोका बारेमा उजुरी भने गरेकी छैनन् । उनले भनिन्, “त्यो फेक भिडियोमा प्रधानमन्त्रीलाई पनि राखिएको छ, उहाँको पनि ध्यानाकर्षण भा’को होला ।”

प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पनि आफूले उक्त भिडियो देखेको बताए । 

उनले भने, “मैले पनि त्यो भिडियो फेसबुक र टिकटकमा देखेको थिएँ ।” 

त्यो भिडियो हटाउने र भिडियो बनाउनेलाई कारबाही गर्ने विषयमा भने प्रधामनन्त्रीका तर्फबाट कुनै निर्देशन नभएको उनले बताए ।  “यसलाई प्रहरीले नोटिसमा लिएको होला, उसले आफ्नो काम गर्ला,” बजगाईंले भने ।

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने नियतसहित सार्वजनिक गरिने यस्ता सामग्री कसले बनायो, कसले सेयर गर्‍यो र कसले कमेन्ट गरे भनेर पनि हेरिनुपर्ने बताउँछिन्, झाँक्री । सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन नहुँदा यस्ता सामग्रीको जोखिम बढेको झाँक्रीको बुझाइ छ । 

“पहिला सामाजिक सञ्जाल नियमनबारे कानुन ल्याउन लाग्दा लोकतन्त्र खतरामा पर्छ भन्ने चिन्ता गरे धेरैले,” झाँक्री भन्छिन्, “अब बिस्तारै यस्ता सामग्रीले सबैलाई असर पार्दै छ ।”

सामाजिक सञ्जालमा सेयर भइरहेको आफ्नो ‘डिपफेक’ भिडियो र त्यसमा आएका कमेन्टले भने आफूलाई चिन्तित बनाएको झाँक्रीले सुनाइन् । 

“मान्छेहरू तल्लो स्तरमा ओर्लेर कमेन्ट गरिरहेका छन् । त्यस्ता कमेन्टले भने रिस पनि उठ्छ, चिन्ता पनि लाग्छ । म ती कमेन्ट हेरेर बसिरहेकी छु,” उनले भनिन् ।

पूर्वमन्त्री झाँक्री सामाजिक सञ्जालमा दुष्प्रचार र ‘डिपफेक’को सिकार भएको यो पहिलोपटक भने होइन ।  ०७९ मा एउटा ठूलो निर्माणाधीन घरको तस्बिर सामाजिक सञ्जालमा राखेर रामकुमारी झाँक्रीको घर भन्ने दाबी गरियो । 
लेखक खगेन्द्र संग्रौलाले समेत उक्त घर रामकुमारी झाँक्रीको भन्दै एक्समा पोष्ट गरे । 

तर, त्यो दाबी गरिएको घर झाँक्रीको थिएन । यही सन्दर्भ सुनाउँदै झाँक्रीले बाह्रखरीसँग भनिन्, “त्यतिखेर हुँदै नभएको मेरो घर भनेर विद्वान् खगेन्द्र संग्रौलाले पनि पोस्ट गर्नुभयो । अहिले अब यस्तो भिडियो बनाएका छन् ।”

०८१ को भदौमा झाँक्रीको अर्को भिडियो भाइरल बनाइयो । अन्तर्वार्ता दिँदै गर्दा झाँक्री रोएको र अन्तर्वार्ता लिने व्यक्तिले ‘अब तपाई स्ट्रङ बन्नुपर्छ’ भन्दै झाँक्रीलाई ढाडस दिएको भिडियो भाइरल भयो । दुई छुट्टाछुट्टै भिडियो जोडेर बनाइएको उक्त भिडियो अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ ।

१२ असार ०७९ मा सहरी विकासमन्त्री पदबाट राजीनामा दिनुअघि झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेकी थिइन् । उक्त पत्रकार सम्मेलनमा झाँक्री रोएकी थिइन् । 

न्युज फिल्मी नामको युट्युब च्यानलमा ३० असार ०७६ मा अनुप भट्टराईले नायिका शिल्पा पोखरेलसँग कुराकानी गरेका थिए । उक्त कुराकानीका क्रममा शिल्पा रोएपछि भट्टराईले ‘अब तपाई स्ट्रङ हुनुपर्छ’ भनेका थिए । 
झाँक्रीले चुनाव हारेपछि रोएको भन्दै यी दुई क्लिप जोडेर भिडियो बनाइयो ।

‘डिपफेक’को सिकार हुने झाँक्री एक्ली व्यक्ति भने होइनन्, थुप्रै कलाकार र नेता यसको सिकार भइरहेका छन् । यसैमध्येकी अर्की एक पात्र हुन्, गायिका समीक्षा अधिकारी । 

गायिका अधिकारीले १ कात्तिक ०८० मा फेसबुकमा पोस्ट गरेको तस्बिरको दुरुपयोग गर्दै ‘डिपफेक’ भिडियो बनाइयो ।  सामाजिक सञ्जालमा पोस्ट गरिएको उक्त भिडियोमा अधिकारीको चरित्र हत्या गरिएको छ ।

अधिकारीले साइबर अपराधमाथि अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन् । ‘डिपफेक’ भिडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको भन्दै अधिकारीले ६ पुसमा उजुरी दिइन् ।  अधिकारीले उजुरीमा ‘डिपफेक’ भिडियो सार्वजनिक गर्ने फेसबुक आईडीमा राखिएको फोन नम्बर समेत लेखेकी थिइन् । 

तर, प्रहरीले अहिलेसम्म अधिकारीको डिपफेक भिडियो बनाउनेलाई पक्राउ गर्न सकेको छैन ।  “अहिलेसम्म प्रहरीले मेरो उजुरीमा के भयो भनेर खबर गरको छैन,” अधिकारीले भनिन् । चरित्र हत्या हुनेगरी बनाइएका ‘डिपफेक’ भिडियोले सार्वजनिक वृत्तमा छवि धमिलिने चिन्ता गर्छिन्, अधिकारी । 

उनी भन्छिन्, “यस्तो (डिपफेक) गर्नेलाई प्रहरीले नसमाउँदा त उनीहरूको मनोबल बढ्छ, अनि अरूको पनि त्यस्तै भिडियो बनाउँछन् । सबैलाई त त्यो एआईले बनाएको भिडियो हो भनेर थाहा हुँदैन नि !”

२ भदौमा काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले चुम्बन गरेको जस्तो देखिनेगरी ‘डिपफेक’ भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गर्‍यो । बाजुराका ती युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्थे । उनको मोबाइलमा प्रहरीले अरू नेताको पनि ‘डिपफेक’ भिडियो फेला पारेको थियो ।

एआई प्रविधिको बढ्दो विकासले त्यसको दुरुपायोग बढिरहेको बताउँछन्, नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी ।  प्रधानमन्त्री ओली र नेता झाँक्रीको ‘डिपफेक’ भिडियो आफूहरूले देखेको अवस्थीले बताए । 

उनले भने, “हामीले त्यो भिडियो हेरेर नोटिसमा लिएका छौँ । हामी त्यो कन्टेन्ट रिमुभल (हटाउने)तर्फ लागिरहेका छौँ ।”  चरित्रहत्या हुने खालका सामग्री सबैभन्दा पहिला हटाउने र त्यसपछि त्यस्ता सामग्री बनाउनेलाई पक्राउ गर्ने गरिएको प्रहरी उपरीक्षक अवस्थी बताउँछन् ।

युवाहरूले भ्युजमार्फत् पैसा कमाउने लोभमा अर्काको मानहानि र चरित्रहत्या हुनेगरी एआई प्रविधिको दुरुपयोग गर्ने गरेको अवस्थी बताउँछन् । 

“चरित्रहत्या हुने, मानहानि हुनेगरी एआई प्रविधिको दुरुपयोग गरेर भ्युज बढाउने र पैसा कमाउने लोभमा युवाहरू लागेका देखिन्छन्,” अवस्थीले भने । 

भ्युज र पैसाको लोभमा प्रविधिको दुरुपयोग नगर्न पनि अवस्थी अनुरोध गर्छन् ।  “भ्युज र पैसाको लोभमा यस्ता काम गरेमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार सजाय भोग्नुपर्छ,” उनी भन्छन्, “प्रविधिको सही प्रयोग गर्नुपर्छ ।”

पछिल्लो समय तीव्र गतिमा एआईको विकास भइरहेको छ । जसमा आवाज, तस्बिर, र भिडियोको प्रयोग गरेर ‘डिपफेक’ बनाउन सकिन्छ ।  यही प्रविधिको प्रयोग गरेर ‘डिपफेक’ सामग्री उत्पादन गर्ने क्रम बढ्दै गएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro