site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अब कसरी बढ्छ रवि लामिछानेको मुद्दा, के फेरि पक्राउ पर्छन् ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आइतबारमात्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उनी बिहीबार नै रिहा भइसकेका छन् ।

तर, लामिछानेविरुद्ध अन्य चार जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसकारण उनी बाँकी चार जिल्लामा पनि जानुपर्ने हुन्छ ।

कास्कीपछि काठमाडौंमा मुद्दा दर्ता भएकाले उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन लागेका हुन् । काठमाडौंमा एक अर्ब १९ करोड ४८ लाख बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । यस मुद्दामा लामिछानेसहित ३८ जना प्रतिवादी छन् । लामिछानेको हकमा पाँच करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

अदालतमा हाजिर भएलगत्तै उनको बयान हुनेछ । त्यसपछि सरकारी पक्ष र लामिछाने पक्षका कानुन व्यवसायीको थुनछेक बहस हुनेछ । दुवै पक्षको बहस सुनिसकेपछि अदालतले थुनामुक्त गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछ ।

काठमाडौं जिल्ला अदालतले पनि धरौटी माग गरेर छाड्ने आदेश गरे पनि उनी फेरि रूपन्देही, चितवन र पर्सामध्ये एक जिल्ला जानुपर्ने हुन्छ । तर, अहिलेसम्म चितवन, रूपन्देही र पर्सा प्रहरीले लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाएका छैनन् ।

काठमाडौं जिल्ला अदालतले धरौटी दिएर छाड्दा र अन्य जिल्ला अदालतमा मुद्दा दर्ता नहुँदाको अवस्थामा अनुसन्धानका लागि हिरासतमा राख्न सक्ने विकल्प प्रहरीसँग छ ।

त्योबाहेक प्रहरीसित अर्को विकल्प पछि छ । थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाका कारण प्रहरीले उनलाई पक्राउ नगर्न पनि सक्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार, सबै जिल्लामा लामिछानेको बयान भइसकेकाले पक्राउ गर्ने वा नगर्ने अधिकार सम्बन्धित प्रहरी अधिकारीलाई हुन्छ ।

‘‘जघन्य अपराधको घटनामा प्रहरीले पक्राउ पुर्जी जारी भएको हकमा आरोपितलाई सम्बन्धित जिल्ला बुझाउनुपर्छ । तर, सामान्य र आरोपित भागेर नजाने अवस्थामा बयान सकिएको छ भने थुना बाहिर नै राखेर पनि मुद्दा दर्ताको प्रक्रिया बढाउन पनि सक्छ । तर, त्यो अधिकार अनुसन्धान अधिकारीलाई रहन्छ,’’ उनले भने ।

वरिष्ठ अधिवक्ता लभप्रसाद मैनाली लामिछानेले कानुनी सहुलियत पाएको बताउँछन् । ‘‘सामान्यतया अन्यको हकमा यस्तो भएको देखिँदैन । पहिला नै प्रहरीले अदालतलाई त्यहाँबाट छुटी जाने अवस्थामा अनुसन्धानका लागि पक्राउ पुर्जी भएको जिल्ला पठाउन अनुमति मागेको हुन्छ । तर, उनको हकमा त्यो गरेको देखिएन,’’ मैनालीले भने ।

आइतबार काठमाडौंमा बहस सुरु भए, त्यसपछिको साता अर्को जिल्लामा अभियोगपत्र पेस गरेर त्यहाँ लामिछानेलाई लैजाने सम्भावना छ । यसरी एकपछि अर्को गर्दै चारवटै जिल्ला अदालतले धरौटी लिएर छाड्ने आदेश गरेमात्रै उनी थुनामुक्त हुनेछन् । कुनै अदालतमा धरौटी रकम बुझाउन नसके वा कुनै एक अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे भने उनी छुट्न पाउने छैनन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro