site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
वर्ष २०२५ मा चीनको प्रगतिको बाटो निर्धारण गर्ने पाँच चुनौती

काठमाडौं । सन् २०२४ चीनका लागि कठिन वर्ष थियो । एकातिर, सी चिनफिङको सरकारले देशमा आर्थिक समस्याहरूसँग संघर्ष गरिरहेको थियो । अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमा रुससँगको गठबन्धनका कारण विभिन्न खालका जटिलताको सामना गर्नुपरेको थियो ।

यसका बाबजुद पनि चीनले विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । यस्तो अवस्थामा, सन् २०२५ मा चीनको प्रगतिको बाटोमा अवरोध ल्याउन सक्ने पाँच चुनौती छन् ।

१. अमेरिकासँग नयाँ प्रतिस्पर्धा

जनवरी २० बाट नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हाल्दै छन् । चीनको सबैभन्दा ठूलो चिन्ता यसैमा छ । चीनप्रति ट्रम्प आक्रामक देखिएका छन् । ट्रम्पको व्यवहारले चीनलाई समस्यामा पार्न सक्छ ।

ट्रम्पले पहिले नै चीनलगायत अन्य देशमा ६० प्रतिशत भन्सार लगाउने धम्की दिइसकेका छन् । ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्ध यसपटक पनि जारी रहने संकेत हो ।

अमेरिकासँगको टकरावपूर्ण सम्बन्ध चीनका लागि ठूलो चुनौती बन्न सक्छ । तर, चीन यसका लागि तयार छ । यसअघि, चीनले अमेरिकासँगको व्यापार युद्धबाट धेरै पाठ सिकेको छ ।

चीनले पाठ सिकेको कुरा हुवावेको गतिविधिबाट पनि बुझ्न सकिन्छ । हुवावेजस्ता चिनियाँ कम्पनीहरूले अन्य क्षेत्रहरूमा लगानी विस्तार गर्दै छन् । उनीहरूले अमेरिकी बजार र प्रविधिमाथिको आफ्नो निर्भरता कम गर्ने तरिकाहरू खोज्न थालेका छन् ।

चीन पनि अमेरिकाविरुद्ध कडा अडान लिन हिचकिचाउँदैन । चीनले हालै दुर्लभ धातुहरू (जुन ब्याट्री र कन्भर्टर बनाउन प्रयोग गरिन्छ) को निर्यातमा प्रतिबन्ध लगाएर आफ्नो कडा स्वरूप देखाइसकेको छ ।

अर्थात्, चीन अहिले २०१७ को तुलनामा व्यापार युद्धको सामना गर्न निकै मजबुत स्थितिमा छ ।

२. विश्वव्यापी प्रविधि युद्ध

आउँदा दिनहरूमा चीन र अमेरिकाबीच एकअर्काको वस्तुमा कर लगाउने मुद्दाले सबैभन्दा बढीको ध्यान आकर्षित गर्नेछ भन्नेमा कुनै शंका छैन । तर, अर्को द्वन्द्व चीनको प्राविधिक विकासमा हुन सक्छ । किनभने यस क्षेत्रले अमेरिकाको व्यापार प्रभुत्वमा ठूलो चुनौती खडा गर्न सक्छ ।

चीनले यस क्षेत्रमा निर्यात बढाएर रोजगारी सिर्जना गर्ने प्रयास गरिरहेको छ । त्यसैले प्रविधि चीनका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

अर्कोतर्फ, अमेरिकाको प्राथमिकता यस क्षेत्रमा चीनमाथिको निर्भरता कम गर्नु हो । अमेरिकाले ‘सेमिकन्डक्टर टेक्नोलोली’मा चीनको पहुँचलाई प्रतिबन्ध गर्ने प्रयास गरेर यो संकेत गरेको छ । यो द्वन्द्वको नयाँ मोर्चा हुनेछ ।

प्रविधिमा क्षेत्रमा चिनियाँ योजनालाई ‘बेइजिङ प्रभाव’ भन्ने गरिएको छ । यसअन्तर्गत, चीनले डिजिटल पूर्वाधारको क्षेत्रमा विभिन्न मापदण्डहरू निर्धारण गर्ने प्रयास गरिरहेको छ ।

यो युरोपेली संघले जीडीपीआर अर्थात् ‘जनरल डेटा प्रटेक्सन रेगुलसन’मार्फत डेटा व्यवस्थापन र गोपनीयताका लागि गरेको काम जस्तै हो । यस्तो कदमले चीनलाई प्रविधिको क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्न सक्छ । 

३. युरोपेली संघको कर

युरोपसँग चीनको व्यापार द्वन्द्व पनि जटिल छ । दुवैले एकअर्का विरुद्ध कर थोपरेका छन् । उदाहरणका लागि, चीनले फ्रान्सेली ब्रान्डीमा आयात कर लगायो । प्रतिक्रियामा, युरोपेली संघले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा प्रतिबन्ध लगायो ।

एसियामा नेटोको भूमिका विस्तार गर्ने सस्म्बन्धमा हालै भएका छलफलहरूपछि युरोपेली संघसँगको व्यापार युद्ध चीनको लागि टाउको दुखाइ बन्न सक्छ । तर, युरोपेली संघप्रति ट्रम्पको स्वाभाविकरूपमा विरोधी अडानले चीनको पक्षमा काम गर्न पनि सक्छ ।

४. रुससँगको गठबन्धन

रुस अब चीनका लागि महत्त्वपूर्ण बनेको छ । यसको कारण त्यहाँको बजार र प्राकृतिक स्रोतहरू हुन् । आर्थिक सहयोग प्रदान गर्ने सन्दर्भमा पनि चीन रुसको लागि महत्त्वपूर्ण बनेको छ ।

रुससँगको बढ्दो सम्बन्ध तथा समर्थनले युरोपेली देशहरूसँग चीनको सम्बन्धमा नकारात्मक प्रभाव पारिरहेको छ । केही युरोपेली देशहरू युक्रेनविरुद्धको युद्धमा चीन रुसको सहयोगी भएको विश्वास गर्छन् ।

त्यसैगरी, युक्रेनमा रुसको आक्रमण र दुई देशहरू बीचको जारी युद्धले अमेरिकाको ध्यान चीनबाट हटाउन मद्दत गर्न सक्छ ।

ट्रम्पले युक्रेन युद्धका लागि शान्ति योजना प्रस्ताव गरेका छन् । यदि यो सफल भयो भने अमेरिकाले फेरि एकपटक चीनमा ध्यान केन्द्रित गर्ने मौका पाउनेछ ।

यदि युक्रेन समस्या समाधान भयो भने अमेरिका र रुस बीचको सम्बन्ध पनि सुधार हुन सक्छ । यो चीनका लागि राम्रो खबर हुनेछैन ।

५. मध्यपूर्वको द्वन्द्व

चीनका लागि अर्को चिन्ताको विषय मध्यपूर्वमा बढ्दो अस्थिरता हो । रुस जस्तै यो क्षेत्र पनि स्रोत र बजारको हिसाबले चीनको लागि महत्त्वपूर्ण छ ।

हालै भएको झुहाई एयर शोमा प्रमुख मध्यपूर्वी देशहरूलाई चिनियाँ हतियारको ठूलो उपभोक्ताको रूपमा हेरिएको थियो ।
इरान र इजरायलबीच क्षेत्रीय द्वन्द्वको सम्भावना पनि चीनको लागि टाउको दुखाइको विषय हुनेछ । इरान चीनका लागि तेलको प्रमुख स्रोत रहेको छ ।

यदि दुई देशबीच सशस्त्र द्वन्द्व भयो भने चीनलाई तेल आपूर्ति बन्द हुन सक्छ । यसले चीनमा आर्थिक समस्या सिर्जना गर्नेछ ।

सिरियामा गृहयुद्धको सुरुवात राष्ट्रपति सी चिनफिङको लागि चिन्ताको विषय हो । राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउने लडाकुहरूमा चिनियाँ उइगर मुस्लिमहरू पनि समावेश छन् । यी व्यक्तिहरू टीआईपी अर्थात् तुर्किस्तान इस्लामिक पार्टीका हिस्सा हुन् ।

चीनको सिनजियाङ प्रान्तमा लामो समयदेखि स्वतन्त्र देशको लागि संघर्ष भइरहेको छ । यस क्षेत्रमा उइगर मुस्लिमहरू बस्छन् । केही टीआईपी सदस्यहरूले सिरियामा कब्जा गरिएका हतियारहरू चीनमा प्रयोग गर्ने धम्की दिएका छन् ।

पछिल्ला वर्षहरूमा चिनियाँ सेनाले ठूलो संख्यामा उइगरहरूलाई हिरासतमा लिएका छन् । उइगरहरूप्रति चीनको अपनाएको यो रणनीतिको अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ । 

यी सबै कुराहरूले स्पष्ट देखाउँछ– चीनले वर्ष २०२५ मा थुप्रै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ ।

चीनले यी समस्याहरूको सामना गर्न तयारी गरिरहेको संकेत पनि देखिएको छ । पश्चिमा देशहरूले रुसमाथि कस्ता प्रतिबन्धहरू लगाएका छन् भन्ने कुरामा चीनले राम्रैसँग नजर राखिरहेको छ ।

यस्तो गर्नु पछाडिको कारण हो– यदि ताइवानसँग चीनको द्वन्द्व बढ्यो भने चीनले पनि यस्तै प्रतिवन्धहरूको सामना गर्नुपर्नेछ । 

वर्ष २०२५ मा जे भए पनि चीनको लागि महत्त्वपूर्ण हुनेछ । यस वर्ष हुने गतिविधिले चीनलाई नयाँ सहयोगी खोज्न वा नयाँ बजार सिर्जना गर्न आवश्यक छ वा छैन भन्ने निर्धारण गर्नेछ । 

(बीबीसीबाट भावानुवाद) 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro