site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुई दलले चाहेर मात्र संविधान संशोधन हुन सक्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस र एमालेको संख्याले मात्रै संविधान संशोधन गर्न पुग्दैछ । सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने हो ।” 

थापाले दुई दल मिल्दै गर्दा संख्याको आधारमा कानुनी शासनमा ध्यान नपुग्ला कि भन्ने चिन्ता रहनु स्वभाविक भएको उल्लेख गरे । सरकारभन्दा बाहिर बसेका दलले संसद्‌बाटै खबरदारी गर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महामन्त्री थापाले अहिलेको सरकार सबै रूपमा अल्पमतमा परेको सुनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताउँदै थापाले राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल हुने स्पष्ट पारे । 

२०८४ सम्म कांग्रेस प्रतिपक्षमै बस्छ भन्नु हुन्थ्यो ? भन्ने पत्रकारको प्रश्नमा थापाले व्यक्तिगत इच्छाविपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताए । “मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,” उनले भने । 

प्रचण्डको अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था नआउने थापाको भनाइ छ । संविधान जोगाउने जिम्मेवारी सबै दलको भएको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशिता, समानुपातिक व्यवस्था, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ हुने गरी संविधानको पुनरावलोकन गर्नुपर्ने कांग्रेसको प्रस्ताव भएको सुनाए । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्