site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद् कँडेल भन्छिन्– वर्षा बढ्दै छ, छोटो समयमा ठूलो पानी पर्ने ‘ट्रेन्ड’ छ, सतर्क रहनू

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशसहित अन्य प्रदेशमा पनि वर्षाको सम्भावना रहेको हो । 

काठमाडौंमा रातिदेखि नै मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । काठमाडौंसँगै अन्य स्थानमा पनि वर्षा भइरहेको छ । 

मकवानपुर जिल्लाको हेटौंडा, रजैया वर्षामापन केन्द्र र आसपास केन्द्रमा मध्यमदेखि भारी वर्षामापन भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धनुषा जिल्लास्थित चिसापानी बजार वर्षामापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षामापन भएको छ । 

बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर वर्षामापन केन्द्र र आसपास केन्द्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको छ ।  

म्याग्दी जिल्लाको दर्बांग वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

गण्डकीदेखी पूर्व नेपालको कोसी प्रदेशसम्म वर्षा भइरहेको मौसमविद् शान्ति कँडेल बताउँछिन् । “गण्डकी प्रदेशदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा भइरहेको छ । वर्षा थप बढ्नेक्रम देखिन्छ,” मौसमविद् कँडेल बाह्रखरीसँग भन्छिन्, “आज, भोलि र पर्सिसम्म वर्षा हुनेछ ।” 

काठमाडौंमा बिहानैदेखि वर्षा सुरु भएको उनले बताइन् । करिब १० बजेबाट वर्षा केही कम हुने तर पुनः बदली र वर्षाको सम्भावना भने रहेको उनी बताउँछिन् । 

“काठमाडौंमा आइसोलेटेड वर्षाको सम्भावना छ । सबै स्थानमा भारी वर्षा नभए पनि केही स्थानमा भारी वर्षा हुने सम्भावना छ,” उनी भन्छिन् । 

पछिल्लो समय छोटो समयमा धेरै वर्षा हुने ‘ट्रेन्ड’ देखिएको उनको भनाइ छ । “पछिल्लो समय छोटो समयमा धेरै वर्षा हुने र रोकिने ट्रेन्ड देखिएइको छ । पहिला १०० मिलिमिटर वर्षा हुन आठ/दश घण्टा लाग्थ्यो,” उनी प्रष्ट पार्छिन्, “तर, अहिले एक घण्टामै सय मिलिमिटर वर्षा हुन्छ । जसले प्राकृतिक विपद्का घटना हुने सम्भावना उच्च हुन्छ ।”

छोटो समयमा धेरै वर्षा हुने भएकाले बाढी, पहिरो, डुबानजस्ता घटना हुनसक्ने भएकाले सतर्क रहनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । 

“चट्याङसहित भारी वर्षाको सम्भावना छ । छोटो समयमा ठूलो वर्षा हुने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले यसबाट बच्न पनि सतर्क रहनुपर्ने अवस्था छ,” उनी अगाडि थप्छिन्, “वर्षा बढ्ने क्रममा रहेकाले बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।”

भारी वर्षा भएका क्षेत्र भएर बग्ने स–साना खोला तथा नदीहरूमा आकस्मिक बाढी आउनसक्ने, होचा र डुबान भइरहने क्षेत्रका डुबान हुनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्