
कठमाडौं । इजरायल र इरानबीचको सैन्य तनावबीच ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले आइतबार हुने अर्को चरणको अमेरिका–इरान परमाणु वार्ता नहुने बताएका छन् ।
उनले सामाजिक संजाल एक्समा पोष्ट गर्दै लेखे, “आइतबार मस्कटमा हुने तय गरिएको इरान–अमेरिका वार्ता अब हुनेछैन । तर, कूटनीति र वार्ता नै स्थायी शान्तिको एकमात्र बाटो हो ।”
यसअगाडि, इरानका विदेश मन्त्रीले हालको परिस्थितिलाई हेर्दा अमेरिकासँग कुराकानी जारी राख्नु अनुचित भएको बताएका थिए ।
ओमानले अमेरिका र इरानबीच इरानको परमाणु कार्यक्रममा वार्ताको लागि मध्यस्थता गरिरहेको छ ।
यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनको देशको लक्ष्य इरानबाट आउने परमाणु र बैलिस्टिक मिसाइल जस्ता दोहोरो खतरालाई असफल पार्नु रहेको र इजरायलले आफ्ना लक्ष्यहरू प्राप्त गरिसकेको बताएका छन् ।
उनले भने, “हामी उनीहरूले २० हजार मिसाइलहरू उत्पादन गर्ने क्षमता बनाउन सक्षम भएको सहन सक्दैनौँ । त्यसैले हामीले उनीहरूको उत्पादन क्षमतालाई नष्ट गर्न कारबाही गर्यौं र इजरायली रक्षा बलले यही गरिरहेको छ ।”
नेतन्याहूले भने, “हामीले तेहरानको लागि एउटा बाटो तयार गरिसकेका छौँ । चाँडै नै तपाईंले तेहरानको आकाशमा इजरायली विमान, इजरायली वायुसेना र हाम्रा पाइलटहरूलाई देख्नुहुनेछ ।”
अर्कोतिर, इरानका राष्ट्रपति मसौद पेजेस्कियानले इजरायलले आक्रमण जारी राख्यो भने अझ कडा जवाफ दिन तयार भएको चेतावनी दिएका छन् ।
इरानको सरकारी मिडियाका अनुसार, पेजेस्कियानले भने, “इजरायलको आक्रमण जारी रहे इरानी सशस्त्र बलहरूबाट अझ कडा र शक्तिशाली प्रतिक्रिया दिइनेछ ।”
पेजेस्कियानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग टेलिफोनमा कुराकानी गर्दा यस्तो टिप्पणी गरेका थिए । बीबीसी