काठमाडौं । नेपालमै पहिलो पटक आयोजित सिमुलेटर गल्फ टूरको उपाधि जेरेमिया ओ‘सुलियभानले जितेका छन् ।
ललितपुरको पुल्चोकस्थित सेभेन आइरन रेस्टुरेन्टको आयोजनामा भएको प्रतियोगितामा ओ‘सुलियभानले सञ्जित पुनलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन् । प्रतियोगिताको तेस्रो स्थान दीपक न्यौपानेले हात पारे ।
‘क्लोजेस्ट टू दी पिन’ को उपाधि नवराज गुरुङले जिते । ‘मस्ट बर्डीज’ (२) प्रताप बोहराको नाममा रह्यो । यस्तै, ‘लंगेस्ट ड्राइभ’को उपाधि कृष्णमान राजबाहाकले जिते । उनले २८३ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।
प्रथम विजेता ओ‘सुलियभानलाई बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले पुरस्कार वितरण गरेका थिए ।
एक हप्तासम्म सञ्चालन भएको प्रतियोगिताको कुल पुरस्कार राशि ८० हजार रुपैयाँ रहेको सेभेन आइरनका सञ्चालक शाश्वत ढुंगानाले बताए ।