काठमाडौं । राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र ‘काँडेतार’को प्रिमियर गरिएको छ । शुक्रबार रिलिज हुने चलचित्रको मंगलबार प्रिमियर गरिएको हो । प्रिमियरमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायत नेता तथा कलाकारहरू पुगेका थिए ।
“यस्तो फिल्म अहिले तीन करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु,” चलचित्र हेरेपछि नेता खनालले भने, “त्यसैले मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म तीन करोड नेपालीले हेर्नुपर्छ ।”
नवल खड्काको निर्देशनमा तयार भएको चलचित्रले नेपाल र भारतको सम्बन्धको कथासँगै नेपालको सीमामा भारतले बारम्बार गर्ने अथिक्रमण प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य सन्देश रहेको चलचित्र हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रूपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।
निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीको भावनालाई समेटेर चलचित्र तयार पारिएको बताए ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायत कलाकारको अभिनय छ ।