काठमाडौं । चलचित्र ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट चलचित्र बनेकोमा खुसी व्यक्त गरेका छन् ।
शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट महत्त्वपूर्ण र सम्भावना रहेको नेपाली चलचित्र ‘रङ्गेली’को सफलताको कामना गरेका छन् ।
केही दिन अघि सोही नगरपालिकाको सहमति पत्र चाहिने भन्दै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर) बोर्डले प्रमाणपत्र नदिएको खबर सार्वजनिक भएपछि विरोध भएको थियो । यद्यपि, बोर्डले आइतबार यो चलचित्रलाई ‘पीजी’ प्रमाणपत्र प्रदान गरेको छ ।
‘रङ्गेली’मा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । दयाहाङ राईको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका छ । चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ ।