काठमाडौं । पाँचौ प्रधानसेनापति अन्तर्रा्ष्ट्रिय महिला फुटबलको उपाधिको लागि दुई विभागीय टोलि सशत्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चल विकास क्षेत्र र एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा आर्मीले मध्यमाञ्चललाई ३ – १ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । आर्मीको जितमा सपना लामाले दुई तथा कृष्णा कुमारी खत्रीले एक गोल गरिन् । मध्यमाञ्चलकी रश्मी कुमारी घिसिङले एक गोल गरिन ।
यस्तै दोस्रो सेमिफाइनलमामा साविकको बिजेता एपीएफले पुलिसलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्दै आर्मीसँगको भेट पक्का गर्यो । फाइनल खेल बिहिबार हुने छ । खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा २ – २ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टी सुटआउटमा पुलिसकी निर्मला बिक र निरु थापाले गोल गर्न सकिनन् । निर्मलाको प्रहार पोस्टमा लागेर फर्किदा निरुको प्रहार एपीएफकी किपर एन्जिलिना लिम्बुले बचाएकी थिइन् ।
पुलिसकी यसोदा लामा, मेनुका गिरी र घिम कुमारी गुरुङले गोल गरेकी थिइन् । पेनाल्टीमा एपीएफकी सावित्रा भण्डारी, साजना राना,मनु दोङ र रेणुका नगरकोटीले गोल गरेकी थिइन् । एपीएफकी गीता रानाको प्रहार पुलिसकी किपर नमिता दलीले बचाएकी थिइन् ।
पेनाल्टी सुटआउट अघि एपीएफकी सावित्रा भण्डारीले दुई गरेकी थिइन् भने पुलिसकी निर्मला बिक र निरु थापाले गोल गरेकी थिइन् ।