काठमाडौं । दिल्ली विधानसभा चुनावको मतदान प्रक्रिया बुधबार सम्पन्न भएको छ । मतगणना शनिबार फेब्रुअरी ८ (२६ माघ)मा हुनेछ । मतगणनाअगावै चुनावी नतिजाबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् ।
दिल्लीमा साँझ ५ बजेसम्म करिब ५८ प्रतिशत मतदान भएको छ । कुल मतदानको अन्तिम तथ्यांक आउन बाँकी छ ।
२०२० मा भएको विधानसभा निर्वाचनमा ६२ दशमलव ५५ प्रतिशत मतदान भएको थियो । २०१५मा लगभग ६७ प्रतिशत मतदान भएको थियो।
चुनावी नतिजाको भविष्यवाणी गर्न विभिन्न एक्जिट पोल आउन थालेका छन् । अहिलेसम्म आएका सबै एक्जिट पोलमा भाजपालाई अग्रस्थानमा देखाइएको छ । अहिले दिल्ली सरकारको नेतृत्व गरिरहेको आम आदमी पार्टीलाई भने दोस्रो ठूलो पार्टीको रूपमा देखाइएको छ ।
‘मैटराइज’को एक्जिट पोलमा भाजपाले ३५ देखि ४० सिट, आम आदमी पार्टीले ३२ देखि ३७ सिट पाउने अनुमान गरिएको छ भने र कांग्रेसको ० देखि १ सिट आउने प्रक्षेपण गरिएको छ ।
‘चाणक्य स्ट्राटिजी’को एक्जिट पोलमा भाजपालाई ३९ देखि ४४ सिट, आम आदमी पार्टीलाई २५ देखि २८ सिट र कांग्रेसलाई २ देखि ३ सिट दिइएको छ ।
त्यस्तै, जेबीसी पोलमा भाजपाले ३९ देखि ४५ सिट जित्ने अनुमान गरिएको छ। जहाँ आम आदमी पार्टीले २२ देखि ३१ सिट र कांग्रेसले ० देखि २ सिट जित्ने अनुमान गरिएको छ ।
यस्ता थुप्रै एक्जिट पोलहरू सार्वजनिक भएका छन् । तीमध्ये धेरैजसोले भाजपा नै पहिलो पार्टी बन्ने दाबी गरेका छन् । यदि एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने भाजपाले २६ वर्षपछि दिल्लीमा सरकार बनाउन सक्छ।