काठमाडौं । ‘नेपाल स्पोर्ट्स कन्क्लेभ २०२५’ को आयोजनाका लागि नेपाल खेलकुद पत्रकार मञ्च, माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल चेम्बर अफ कमर्सबीच त्रिपक्षीय सहकार्यका निम्ति सम्झौता भएको छ ।
माइस इन्टरनेसनल र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा अर्को महिना दोस्रो स्पोर्ट्स कन्क्लेभ हुँदै छ ।
उक्त कन्क्लेभमा नेपाली खेलकुदका महत्त्वपूर्ण पक्षहरूको विषयमा समूहगत छलफल, कार्यपत्र प्रस्तुति र निष्कर्ष हुनेछ ।
नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले ‘नेपाल स्पोट्र्स कन्क्लेभ २०२५’ का अलावा ‘नेपाल दोस्रो स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो २०२५’ एवं पाँचौँ ‘स्पोर्ट्स च्याम्पियनसिप एन्ड एक्स्पो’ का लागि पनि सहकार्य गरेको छ ।
सम्झौतामा चेम्बरको शिक्षा एवं खेलकुद समितिका सभापति रुपक राजवंशी, नेपाल स्पोर्ट्स एन्ड फिटनेस इन्डस्ट्रीका अध्यक्ष सुरज डंगोल, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरञ्जन राजवंशी र माइस इन्टरनेसनलका निर्देशक दीपक थापाले हस्ताक्षर गरेका थिए ।
सम्झौता कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता थियो । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।