site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सयजनामा १० को डिभोर्स : कारण झगडा कि स्वतन्त्रता ? 

काठमाडौं । विवाह गरेको वर्षदिन नपुग्दै सम्बन्ध विच्छेद (डिभोर्स)का लागि अदालतमा मुद्दा दायर गरेसँगै गायिका एलिना चौहान चर्चामा छन् । विष्णु सापकोटासँग अंश दाबी नगरी एलिनाले वारेसमार्फत शुक्रबार (माघ १८) गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् ।

झापाकी एलिनाले २०८१ वैशाख १ मा बाग्लुङका विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्छन् ।  फिरादपत्रमा एलिनाले आफूले कार्यक्रममा सहभागी हुन जाँदा विष्णुले शंका गर्ने गरेको उल्लेख गरेकी छन् । 

“कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाइपछि म नेपाल फर्किएँ,” उनले भनेकी छन् ।

Dabur Nepal

नेपाल फर्किएपछि पनि आफू कार्यक्रमहरुमा व्यस्त हुँदा आफ्नो चरित्रमाथि शंका–उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा आफूलाई मानसिक कष्ट भएको उनले फिरादपत्रमा उल्लेख गरेकी छन् । 

आफू दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५(ग) अनुसार सम्बन्धविच्छेद गरी स्वतन्त्र भएर जीवन बिताउन चाहेको उनले जनाएकी छन् । 

“निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु । विपक्षीलाई सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझ्नुपर्छ बुझी हामीबीच कायम रहेको पति–पत्नीको नाता सम्बन्धविच्छेद गराई पाऊँ,” एलिनाले भनेकी छन् । 

गायिका एलिना चौहानले आफ्नो डिभोर्सबारे मुख खोलेकी छिन् ।  सामाजिक सञ्जालमार्फत उनले आफ्नो वास्तविकता र पीडा बाहिर ल्याएकी छन् । आफूले बिहे गर्न हतार गरेको र अहिले आएर डिभोर्स रोज्नु परेको बुझाइ एलिनाको छ । डिभोर्सको प्रक्रिया आफूहरू दुईजना र घरपरिवारको सल्लाहमा सोचविचार गरेर गरेको उनले स्पष्ट पारेकी छन् । 

डिभोर्स गर्ने अवस्थामा आइपुग्नुमा पतिमात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई एलिनाले आग्रह समेत गरेकी छन् । आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैँले गाली खाँदा भन्दा बढी पीडा हुने अनुभव उनको छ । 

छिट्टै गायिका एलिनाको डिभोर्स प्रक्रिया टुङ्गिनेछ र उनी ‘स्वतन्त्र’ हुनेछिन् ।  एलिनामात्र होइन पछिल्ला समय डिभोर्सको बाटो रोज्नेहरुको संख्या नेपालमा निकै ठूलो छ । ‘सेलिब्रेटी’ भएका कारण एलिनाको डिभोर्स प्रक्रियाले चर्चा पायो, अन्यले डिभोर्स लिएको पत्तै हुँदैन । 

‘स्वतन्त्रता,’ ‘बन्धनबाट मुक्ति’, ‘घरेलु हिंसाबाट मुक्ति’, दुर्व्यवहार, धोखाधडी– डिभोर्स रोज्नुपर्नाका कारण धेरै छन् ।  चाहेर–नचाहेर डिभोर्ससम्म पुग्न धेरै मानसिक यातना खेप्नु परेको हुन्छ, त्यसपछि– स्वतन्त्र, मुक्ति । 

पछिल्लो समय नेपालमा डिभोर्सका घटना ह्वात्तै बढेका छन् । अझ वैदेशिक रोजगारीमा गएकाहरुमा यो बढ्दो छ । 

“वैदेशिक रोजगारीमा आउनेहरुमा डिभोर्स हुने क्रम बढ्दो छ । दूतावासले डिभोर्सका लागि दैनिक दुईवटा वारेसनामा प्रमाणीकरण गर्दै आएको छ,” यूनाईडेड अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बाह्रखरीसँग भने । 

राजदूत क्षेत्रीका अनुसार, यूएईमा ६ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । 

२०८१ वैशाख १ गतदेखि पुस मसान्तसम्मको ९ महिनाको अवधिमा दूतावासले डिभोर्सका लागि बनेका २४० थान वारेसनामा प्रमाणीकरण गरेको छ ।  “डिभोर्सका लागि वारेसनामा प्रमाणीकरण गर्न आउनेहरु पुरुष ६० प्रतिशत र महिला ४० प्रतिशत छन्,” राजदूत क्षेत्रीले भने । 

यूएईस्थित नेपाली दूतावासको तथ्याङ्क अनुसार २०७७ सालमा डिभोर्सको लागि बनेका ४३ वटा वारेशनामा दूतावासले प्रमाणीकरण गरेको थियो ।  २०७८ सालमा यो संख्या ९४ पुगेको थियो । २०७९ सालमा यो संख्या बढेर १३५ पुग्यो । 

२०८० सालमा यूएईस्थित नेपाली दूतावासले २५१ वटा डिभोर्ससम्बन्धी वारेसनामा प्रमाणीकरण गरेको थियो ।  अघिल्लो वर्ष जुन संख्यामा दूतावासले डिभोर्ससम्बन्धी वारेसनामा प्रमाणीकरण गरेको थियो, यस वर्षको ९ महिनामा झन्डै त्यति नै संख्यामा वारेसनामा प्रमाणीकरण गरेको छ । 

दूतावासको तथ्याङ्कले वैदेशिक रोजगारीमा गएकाहरुको पारिवारिक सम्बन्ध (श्रीमान् – श्रीमतीबीचको सम्बन्ध) बिग्रने क्रम प्रत्येक वर्ष ठूलो संख्यामा बढ्दै गएको स्पष्ट देखाउँँछ ।  वैदेशिक रोजगारीमा जानेको मात्र होइन, नेपालभित्रै रहेकाहरुबीच पनि डिभोर्स गर्ने क्रम निकै बढ्दो छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिना अर्थात २०८१ साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा ११ हजार ५३२ वटा डिभोर्सका घटना दर्ता भएका छन् । 

उक्त अवधिमा एक लाख १७ हजार ३३८ वटा विवाह दर्ता भएका थिए ।  पछिल्लो ६ महिनाको तथ्याङ्कले विवाह गर्ने ९.८२ प्रतिशतले विभिन्न कारणले डिभोर्स रोज्ने गरेको देखाउँछ । 

“हामी डिभोर्सका घटना दर्ता मात्र गर्छौैं । डिभोर्स के कारणले हुने गरेको छ भन्ने अध्ययन गर्ने जिम्मेवारी हामीलाई दिइएको छैन । कारण जे भए पनि पछिल्ला वर्षहरुमा डिभोर्सका घटना ह्वात्तै बढेका छन्,” राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले बाह्रखरीसँग भने ।

विभागको तथ्याङ्क अनुसार २०७७ सालमा ६ हजार ६४४ वटा डिभोर्सका घटना दर्ता भएका थिए । तथ्याङ्कले त्यसपछिका वर्षहरुमा डिभोर्सका घटना ह्वात्तै बढेको देखाउँछ । अघिल्लो वर्षको तुलनामा २०७८ सालमा डिभोर्सका घटना दुईगुणाभन्दा बढीले वृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ । 

२०७८ सालमा १४ हजार २७९ डिभोर्सका घटना दर्ता भएका थिए ।  २०७९ सालमा यो संख्या बढेर २० हजार २७२ पुगेको थियो । २०८० सालमा २३ हजार ७१८ वटा डिभोर्सका घटना दर्ता भएका थिए । पछिल्लो तीन वर्ष अर्थात् २०७८ देखि २०८० सालसम्मको अवधिमा नेपालमा १० लाख ९२ हजार ४०४ वटा विवाह दर्ता भएका थिए । 

सोही अवधिमा कुल ५८ हजार २६९ वटा डिभोर्सका घटना दर्ता भएका थिए । अर्थात् पछिल्लो तीन वर्षमा ५.३३ प्रतिशत विवाह डिभोर्समा टुङ्गीएका छन् । 

किन हुन्छ डिभोर्स ? 

डिभोर्स किन हुन्छ भन्ने सम्बन्धमा राम्रोसँग अध्ययन अनुसन्धानहरु हुन सकेका छैनन् । यसैकारण डिभोर्सको कारण यही नै हो भन्न गाह्रो छ । डिभोर्स नेपाल नामक संस्थाले सन् २०१८ र २०१९ मा काठमाडौं जिल्ला अदालतमा चलेका डिभोर्ससम्बन्धी एक सय वटा मुद्दाको अध्ययन गरेको थियो । अध्ययनका क्रममा ‘डिभोर्स किन गर्न लाग्नुभयो ?’ भनी प्रश्न सोधिएको थियो । 

डिभोर्स गर्नेे ६४ प्रतिशत महिलाका पति वैदेशिक रोजगारीमा रहेको अध्ययनले देखाएको थियो । उनीहरुले ‘एक्लोपन’का कारण डिभोर्स रोज्नुपरेको बताएका थिए । 

पति र पत्नीको भौतिक दुरी टाढा हुँदा आत्मीयता घट्दै गएको र शंका बढ्दै गएको भनाइ उनीहरुको थियो । अध्ययनमा सहभागीमध्ये केहीले ‘प्रतिवद्धता’ पूरा नगरेका कारण डिभोर्स रोजेको जनाएका थिए । पति वा पत्नीले आफ्नो दायित्व पूरा नगर्दा डिभोर्स रोज्नेहरु पनि थिए । 

अध्ययनमा सहभागी केहीले सामान्य कुराको विवाद समयमै नसुल्झाउँदा बढ्दै गएर डिभोर्सको रुप लिएको बताएका थिए । 

पति र पत्नीले एक–अर्कालाई धोका (आर्थिक र यौन सम्बन्ध) दिँदा पनि सम्बन्ध डिभोर्समा पुगेर टुङ्गिएको भनाई अध्ययनमा सहभागीको थियो ।  अध्ययनमा समेटिएका एक सयमध्ये २२ जनाको विवाह कम उमेरमा भएको थियो । 

सामाजिक सञ्जालमार्फत सानै उमेरमा माया–प्रेममा परेको र हतारमा विवाह गरिहाल्दा छिट्टै मनमुटाव बढेको भनाई उनीहरुको थियो । जसका कारण उनीहरुले डिभोर्स रोजेका थिए । 

अध्ययनमा सहभागी केहीले डिभोर्स हुनुका कारण आर्थिक अवस्था बताएका थिए ।  कुलतमा फसेर सम्पत्ति सक्ने, रोजगारी नपाउने कारण सम्बन्ध बिग्रेर डिभोर्ससम्म पुगेको भनाई उनीहरुको थियो ।  अध्ययनमा सहभागी केही डिभोर्स हुनुको कारण आफूमाथि हुने भौतिक आक्रमण र यौन दुर्व्यवहार बताएका थिए । घरेलु हिंसा यसैभित्र पर्छ । 

केहीले ‘छोराछोरी’का कारण डिभोर्स रोज्नु परेको बताएका थिए ।  आमाबाबुमध्ये एक जनाले मात्र छोराछोरीलाई माया गर्दा वा जिम्मेवारी लिनुपर्दा सम्बन्ध डिभोर्ससम्म पुगेको उनीहरुले जनाएका थिए । 

साढे ४६ वर्षमा ९७ हजारभन्दा बढी डिभोर्स 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्याङ्क अनुसार पछिल्लो साढे ४६ वर्षको अवधिमा नेपालमा ९७ हजार ३४९ वटा डिभोर्सका घटना दर्ता भएका छन् ।  २०३५ सालदेखि २०८१ पुस मसान्तसम्मको अवधिमा डिभोर्सका ती घटना दर्ता भएका हुन् । 

बितेको साढे ४६ वर्षको अवधिमा नेपालमा कुल ५७ लाख ३५ हजार ४५० वटा विवाह दर्ता भएका छन् ।  यसअवधिमा भएका विवाहमध्ये १.६९ प्रतिशत विवाह डिभोर्समा पुगेर टुङ्गिएका छन् । 

विभागको तथ्याङ्क अनुसार नेपालमा पहिलो पटक २०४२ सालमा २१ वटा डिभोर्सका घटना दर्ता भएका थिए । २०५० सालमा ५७ वटा डिभोर्सका घटना नेपालमा दर्ता भएका थिए । २०६० सालमा आइपुग्दा यो संख्या ९७ पुगेको थियो । 

यस्तै, २०७० सालमा ३९४ वटा डिभोर्सका घटना दर्ता भएका थिए । २०७५ सालमा ३ हजार ९३५ वटा डिभोर्सका घटना दर्ता भएको विभागको तथ्याङ्कले देखाउँछ । २०८० सालमा २३ हजार ७१८ वटा डिभोर्सका घटना विभागमा दर्ता भएका थिए । 

२०४२ देखि २०७८ सालसम्मको ३७ वर्षको अवधिमा नेपालमा जति डिभोर्सका घटना दर्ता भएका थिए त्योभन्दा बढी पछिल्लो दुई वर्ष ९ महिनाको अवधिमा भएका छन् । 

विभागको तथ्याङ्क अनुसार २०४२ देखि २०७८ सालसम्मको ३७ वर्षको अवधिमा नेपालमा कुल ४१ हजार ८२७ डिभोर्सका घटना दर्ता भएका थिए । २०७९ देखि २०८१ पुस मसान्तसम्मको अवधिमा ५५ हजार ५२२ वटा डिभोर्सका घटना दर्ता भएका छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro