काठमाडौं । स्पिन इभेन्टसको आयोजनामा हुने अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता कार्तिक पहिलो सातादेखि सुरु हुने भएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा महिला र पुरुष एकल, गर्ल्स, ब्वाइज एकल यू–१६, महिला पु्रुष टिम्स, महिला, पुरुष भेट्रान (४० वर्ष माथि), पुरुष एकल (५० वर्ष माथि) र पुरुष एकल (६० माथि) विधा समावेश छ ।
टिम इभेन्टसका शीर्ष विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी महिला पुरुष एकलतर्फका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेले क्रमशः ३० हजार, १५ हजार र सात हजार ५०० रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, अन्य विधाका विजेता, उपविजेता र सेमिफाइनलमा पराजित हुनेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० सय प्राप्त गर्नेछन् ।
यसैगरी पदकको आधारमा शीर्ष स्थानमा रहने वडालाई रनिङ शिल्ड प्रदान गरिनेछ ।
प्रतियोगिताको अनुमानित बजेट १५ लाख रहेको आयोजकले जनाएको छ । सुमन खड्गी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई गोदावरी नगरपालिका, जिल्ला खेलकुद विकास समिति ललितपुरले प्रायोजकको रूपमा साथ दिएका छन् ।