
काठमाडौं । एक जापानी ठेकदार कम्पनीको बदमासीका कारण ओसाकामा नेपालको बदनाम भइरहेको छ । ओसाका प्रदर्शनी (विश्व प्रदर्शन)स्थलस्थित ‘नेपाल पभिलियन’ (नेपालमण्डल)मा ताल्चा लागेको तस्बिर मिडिया र सामाजिक सञ्जालमा पोस्ट गरी नेपालको बदनाम गर्ने कार्य पछिल्ला दिन भइरहेको छ ।
ओसाका प्रदर्शनी सुरु भएको १६ दिन बित्दा पनि नेपालमण्डल तयार नभएको र नखुलेको भन्दै जापानी मिडिया र सामाजिक सञ्जालमा नेपाल छाइरहेको छ । खासमा यो जापानी ठेकदार कम्पनीले बदनाम गरिरहेको नेपालपक्षको बुझाइ छ ।
६ महिना लामो ओसाका प्रदर्शनी गएको चैत ३१ गतेदेखि जारी छ । प्रदर्शनी यही असोज २७ गतेसम्म चल्नेछ । अर्थात्, सन् २०२५ अप्रिल १३ देखि अक्टोबर १३ सम्म ओसाका प्रदर्शनी चल्नेछ ।
प्रदर्शनीमा विश्वका १५८ देश/क्षेत्र सहभागी छन् । दुई करोड ८२ लाखभन्दा बढी मानिसले प्रदर्शनी अवलोकन गर्ने अनुमान छ ।
यस्तो महत्त्वपूर्ण प्रदर्शनीमा ‘नेपालमण्डल’ नखुलेको मात्र होइन, निर्माण कार्य पूरा पनि भएको छैन । किन त ?
“नेपालमण्डलको निर्माण कार्य ९० प्रतिशत सकिएको छ । जापानी ठेकेदार कम्पनीको बदमासीका कारण निर्माण कार्य रोकिएको छ,” ओसाका प्रदर्शनीका निम्ति नेपालका तर्फबाट उपआयुक्त एवं व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले बाह्रखरीसँग भने, “नेपालमण्डलको बाँकी निर्माण कार्य छिटो सुरु गरी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।”
यो फ्रान्समा मुख्यालय रहेको ब्युरो अफ इन्टरनेसनल एक्सपोजिसन (बीआईई)ले सञ्चालन गरेको एक विश्व प्रदर्शनी हो । बीआईई एक अन्तरसरकारी संस्था हो । विश्वका १८४ देश/क्षेत्र यसका सदस्य छन् । नेपाल पनि एक सदस्य हो । सदस्य राष्ट्रको मतदानका आधारमा हरेक पाँच वर्षमा यस्तो प्रदर्शनी गर्ने स्थलको छनोट गरिन्छ ।
ओसाकामा यसअघि यस्तो प्रदर्शनी सन् १९७० मा आयोजना गरिएको थियो । दोस्रोपटक यो प्रदर्शनी ओसाकामा भइरहेको छ । यसपछिको विश्व प्रदर्शनी २०३० मा साउदी अरेबियाको रियादमा आयोजना गरिनेछ ।
“हामीले २०२४ अगस्टबाट नेपालमण्डल निर्माण कार्य सुरु गरेका हौँ । त्यति बेला पनि हामीलाई ढिला गरी प्लट दिइएको थियो । अक्टोबर–नोभेम्बरबाट विवाद सुरु हुन थाल्यो । जनवरी २०२५ बाट ठेकेदारले कामै रोकिदियो,” राणाले भने ।
ओसाका प्रदर्शनीमा सहभागी हुने भएपछि नेपाल सरकारले उक्त जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो । विज म्यानेजमेन्ट एन्ड ललित मण्डल जेबीलाई सरकारले ओसाका प्रदर्शनीमा नेपालका तर्फबाट नेपालमण्डल निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।
विज म्यानेजमेन्टले ओसाका प्रदर्शनीस्थलमा नेपालमण्डल बनाउने जिम्मेवारी जापानी ठेकेदार स्याङ्को कम्पनीलाई दिएको थियो । राणाका अनुसार, कुल काम ४५–४६ करोड रुपैयाँको हो । अब ठेकेदार कम्पनीलाई रकम भुक्तान गर्न पाँच–सात करोड बाँकी छ ।
ठेकेदार कम्पनीलाई दुई किस्ता रकम बुझाएपछि विवाद सुरु भएको उनले बताए । उनका अनुसार, विवाद दुई विषयमा छ । पहिलो, नेपालले तयार पारेको डिजाइनभन्दा फरक गरी ठेकेदार कम्पनीले नेपालमण्डल निर्माण गरिरहेको छ । दोस्रो विवाद हो, भुक्तानीको ।
विवाद २०२४ को अक्टोबर–नोभेम्बरदेखि सुरु भएको थियो । विवाद बढ्दै गएपछि ठेकेदार कम्पनीले कामै रोक्यो । त्यसपछि काम अझै अघि बढाइएको छैन ।
“ठेकेदार कम्पनीले सम्पूर्ण रकम भुक्तानी नगरेसम्म रोकिएको काम सुरु गर्दैनौ भन्छ । नेपाली संस्था सम्झौतापत्रमा जे उल्लेख छ, सोअनुसार भुक्तानी दिने भन्छ । यो मिल्न सकेको छैन,” राणाले भने ।
विवादबीच पनि ठेकेदार कम्पनीलाई केही रकम भुक्तान गरिएको छ । तर, जापानी ठेकेदार कम्पनीले बाँकी सम्पूर्ण रकम मागिरहेको छ ।
“हाम्रो इन्जिनियले बनाएको भन्दा फरक किसिमले जापानी ठेकेदारले नेपालमण्डल बनाएको छ । हामी यो हाम्रो इन्जिनियरलाई पठाउँछौँ भन्दा पनि ठेकेदार कम्पनी मान्दैन । अर्को ठेकेदार लगाउन पनि दिँदैनन्,” उनले भने ।
जापानी ठेकेदार कम्पनीले धेरै दुःख दिएकाले फ्रान्समा मुख्यालय रहेको बीआईईमा उजुरी दिने विषयमा छलफल भइरहेको उनले बताए ।
पहिलो र दोस्रो किस्ता ठेकेदारलाई तिर्दा कुनै विवाद थिएन । तेस्रो किस्ता बुझाउँदा विवाद निस्किएको थियो । अन्तिम एवं चौथो किस्ता नपाएसम्म काम नथाल्ने अडानमा ठेकेदार कम्पनी छ । तर, चौथो किस्ता बुझेपछि ठेकेदार कम्पनीले काम पूरा गर्छ नै भन्ने ग्यारेन्टी नहुँदा नेपालमण्डलको निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
नेपाली कला–संस्कृति झल्कने नेपालमण्डल (भवन) निर्माण गरी त्यहाँ देशको संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य र अरू नेपाली सामान राख्ने तयारी थियो । नेपालमण्डल तयार नहुँदा यो कार्य सम्भव भएको छैन । नेपालमण्डल ९०० स्क्वायर मिटरमा निर्माण गरिँदै थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको द्विपक्षीय एवं क्षेत्रीय व्यापार महाशाखाका सहसचिव तथा ओसाका प्रदर्शनीका निम्ति नेपालका कमिस्नर जनरल विपीन आचार्यले पनि भुक्तानी विवादका कारण नेपालमण्डल निर्माण कार्य रोकिएको बताए ।
“ओसाका एक्स्पोले हामीलाई ठाउँ दियो । हामीले निजी क्षेत्रलाई दियौँ र लगानी पनि निजी क्षेत्रले गरे । निजी क्षेत्रले नेपाल पभेलियन बनाउन जापानी ठेकेदारलाई दिए । भुक्तानी विवादले काम रोकिएको छ,” आचार्यले भने ।
जापानका निम्ति नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले पनि भुक्तानी विवादका कारण नेपालमण्डलको काम रोकिएको जानकारी दिए । सोही विवाद सुल्झाउन आफू ओसाका गएर टोकियो फर्किएको उनले बताए । विवाद छिटै समाधान हुने उनले विश्वास व्यक्त गरे ।