site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसपीको रोजाइमा पर्नै छाड्यो चितवन : तीन/तीन महिनामा किन फेरिए ? 

काठमाडौं । एक समय प्रहरी उपरीक्षक (एसपी)को पोस्टिङनिम्ति चितवन पहिलो रोजाइमा पर्थ्यो । एसपीले ‘कमान्ड’ गर्ने थोरै आकर्षक जिल्लामध्येको चितवन जान इच्छा राख्नुमा शक्तिकेन्द्रसित निकटता बढाउँदै सरुवा–बढुवामा हाबी हुन सकिन्छ भन्ने हुन्थ्यो ।

चितवन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला हो । चितवनको प्रहरी कमान्ड सम्हाल्दा उनी र उनका परिवारसितको निटकता स्वाभाविक पनि हुन्थ्यो ।

त्यसो त प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुन् । त्यसकारण प्रहरी अधिकारीका निम्ति रेनुसँगको निकटताको नाभी प्रचण्डसित पनि जोडिन्थ्यो ।

०७६ पुसमा चितवन प्रहरी प्रमुख रहेका तत्कालीन एसपी दानबहादुर मल्लले त सरुवा हुँदा समेत जिल्ला छाड्न चाहेनन् । त्यति बेला प्रहरी प्रधान कार्यालयले उनलाई सरुवा गरी एसपी गंगा पन्तलाई पठाएको थियो । तर, मल्लले जिल्ला छाड्न अस्वीकार गरेपछि उनको सरुवा रोकिएको थियो । पछि पन्त पर्सा गइन् ।

चितवनका अर्का एसपी नान्तिराज गुरुङको सरुवा गरियो । प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृत (पीएसओ) समेत रहेका मल्ललाई चितवनबाट रमाना लिन बाध्य बनाउन प्रदेश प्रहरी कार्यालयले लिखित निर्देशन नै पठाउनुपरेको थियो ।

तर, आकर्षक जिल्लाले १८० डिग्रीको फन्को मारेको छ । पछिल्लो समय चितवन प्रहरी प्रमुख बन्न कोही एसपी तयार हुँदैनन् । सरुवा हुँदै गएका पनि बस्न चाहँदैनन् ।

प्रहरी प्रधान कार्यालयले सोमबार (वैशाख १५) ६३ एसपीको सरुवा तथा काज गर्‍यो । तीमध्ये चितवनका एसपी राजन लिम्बू पनि हुन् । उनी तीन महिनाअघि मात्र चितवन प्रहरी प्रमुख बनेका थिए । चितवनबाट लिम्बूलाई जिल्ला प्रहरी कार्यालय झापा सरुवा गरिएको छ । तीन महिनामै चितवन छाडेर अर्को जिल्ला प्रमुख हुने लिम्बू एक्ला एसपी पनि होइनन् ।

यसअघिका एसपी गौतम मिश्रले पनि तीन महिनामै चितवन छाडेका थिए । गएको कात्तिकमा उनी चितवन पुगेका थिए । त्यसको तीन महिनामै चितवन छाड्दै माघमा पर्सा प्रहरी प्रमुख हुँदै वीरगन्ज पुगे । उनी हाल पर्सामै छन् ।

पोखराको सूर्यदर्शनसहित पाँच जिल्लाका सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थकले नारायणी नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका थिए । उक्त प्रदर्शन दबाउन नसकेको भन्दै एसपी भावेश रिमाललाई तानेर मिश्रलाई पठाइएको थियो । एसपी रिमाल नौ महिनामा चितवनबाट तानिएका थिए ।

सोमबार प्रहरी प्रधान कार्यालयले आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्लालमा कार्यरत एसपी गोविन्द पुरीलाई चितवन सरुवा गरेको छ ।

पुरीनिकट स्रोतका अनुसार, उनले जिल्ला प्रहरी कार्यालय रुपन्देही जान चाहेका थिए । तर, रुपन्देही जान नपाउँदा उनी सन्तुष्ट छैनन् । उनी सकेसम्म चितवन जान नपरे हुन्थ्यो भन्नेमा छन् ।

तत्कालीन प्रहरी प्रमुख (आईजीपी) वसन्तराज कुँवरले चितवनमा एसपी पठाउनै गाह्रो भएको स्वीकार गरेका थिए ।

एसपी किन जान चाहँदैनन् चितवन ?
एसपी पछिल्लो समय चितवन जान नचाहनुको मुख्य कारण विवादमा परिन्छ भन्ने त्रास हो । चितवनको परिचय उसै पनि विद्रोही छ । राजनीतिक परिवर्तनको संकेत पनि चितवनबाटै प्रारम्भ हुने गरेको छ । ०७९ मंसिरको आमचुनावले समेत त्यही पुष्टि गर्‍यो । रास्वपाका सभापति रवि लामिछानेले चितवन–२ बाट चुनाव जितेर संसद् यात्रा तय गरेका थिए । त्यो पनि दुईपटक ।

उनी हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका निम्ति रुपन्देही कारागारभित्र छन् । प्रचण्डले पनि यसअघि चितवनबाटै चुनाव जितेका थिए । हाल प्रचण्ड सत्ताबाहिर मात्र होइन, माओवादीको साख समेत खस्कँदो छ ।

चितवन जाँदा उनीहरूनिकटको ‘ट्याग’ लाग्ने प्रहरी अधिकारीमा ठूलो भय देखिन्छ । ‘‘चितवन जानु भनेकै प्रचण्ड परिवारसित राम्रो सम्बन्ध बनोस्, भोलिका दिनमा बढुवा–सरुवामा केही सहज होस् भनेर मात्रै हो,’’ एक एसपी भन्छन्, ‘‘तर, अब यो अवस्था पनि रहेन । अनि किन चितवन जान चाहन्छन् ? बरु, चितवन जाँदा माओवादीनिकट ट्याग लाग्दै बढुवा रोकिन्छ ।’’

त्यसो त पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओले रोजेका ठाउँ र बढुवामा समेत छलाङ मारेका छन् । प्रचण्डका पीएसओ एसपीहरू बढुवामै छुटेका उदाहरण छन् । त्यसकारण पनि प्रहरी अधिकारी प्रचण्डबाट टाढा बस्न रुचाउन थालेका हुन् । एसपीले चितवन नरोज्नुले समेत त्यो स्पष्ट हुन्छ ।

एक प्रहरी अधिकारीका अनुसार, हाल प्रचण्डको पीसएओमा जान नपाए हुन्थ्यो भन्ने अवस्था छ । प्रचण्ड शक्तिकेन्द्रमा हुँदा उनको पीएसओ रहेका डीएसपी रविन कार्की एसपीको बढुवामा एकचोटि होइन, पटक–पटक छुटेका छन् ।

उनी केही समयअघि आफ्नै ब्याचको चौथो लटमा मात्र एसपी बढुवा भएका छन् । कार्की मात्र होइन, अर्का डीएसपी विनोद घिमिरेको अवस्था पनि उस्तै छ । उनी पीएसओ बसेको ट्याग लागेकै कारण एसपीको बढुवामा छुटे । तेस्रो लटमा मात्र एसपी भए ।

तर, देउवाका पीएसओ कोमल शाह तथा ओलीका पीएसओ राजन लिम्बू, सन्तोष तामाङ र नवीन कार्कीको भने बढुवामा छलाङ भयो । उनीहरूले सरुवामा समेत ‘आकर्षक’ पोस्टिङ पाउँदै आएका छन् ।

देउवा प्रधानमन्त्री हुँदै डीएसपीबाट एसपीमा बढुवा भएका शाह लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा र काभ्रे सरुवा भए । ओलीका पूर्वपीएसओ राजन लिम्बू चितवनबाट झापा र तामाङले यसअघि बाराको कमान्ड सम्हाले ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro