site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैभव सूर्यवंशी : आईपीएलमा १४ वर्षीय किशोरले देखाएको जादुमय प्रदर्शन

काठमाडौं । स्कोरबोर्डमा गुजरात टाइटन्सले २०९ रन बनाएको थियो । अंक तालिकामा नवौँ स्थानको राजस्थानका निम्ति यो लक्ष्य पहाडजस्तै थियो । केही दिनअघिमात्रै गुजरातले बनाएको २१७ रनअघि राजस्थानले घुँडा टेकेको थियो । जहाँ राजस्थान ५८ रनले निरास बनेको थियो ।

तर, २८ अप्रिलको यो खेलमा भने १४ वर्षीय वैभव सूर्यवंशीले आफ्नो ब्याटबाट नयाँ इतिहास बनाउने ठानिसकेका थिए । आईपीएलमा केवल दुई खेलको अनुभव लिएर क्रिजमा आएका वैभवअघि थिए, भारतीय राष्ट्रिय टिमका बलर मोहम्मद सिराज ।

तर, सिराजको व्यक्तित्वअघि वैभवले आफ्नो उत्साहलाई कमजोर बन्न दिएनन् । सिराजको पहिलो बलमै उनले स्ट्रेट ड्राइभ छक्का प्रहार गरे । यसपछिका केही बललाई भने उनले राम्रोसँग नियालेमात्रै । सात बल खेल्दासम्म वैभवले नौ रनमात्रै बनाएका थिए ।

..... अनि आयो विस्फोटक इनिङ

ओपनर वैभवले चौथो ओभरमा मात्रै आफ्नो शैली उजागर गरे । यो ओभर गुजरातबाट इशान्त शर्माको थियो । तिनै इशान्त जसले भारतीय टिमबाट १०० भन्दा धेरै टेस्ट र आईपीएलमा पनि सोही संख्यामा खेलको अनुभव बटुलिसकेका छन् ।

सो ओभरको पहिलो र दोस्रो बलमा वैभवले लगातार छक्का प्रहार गरे । तेस्रो बलमा चौका प्रहार गरेका उनले चौथो बल भने डट खेले । पाँचौँ बलमा पनि उनले छक्का प्रहार गरे ।  छैटौँ बल लगातार दुईपटक वाइड भयो । तेस्रोपटक गरिएको छैटौँ बललाई उनले चार रनका निम्ति बाउन्ड्रीसम्म पुर्‍याए । इशान्तको यो ओभरमा वैभवले कुल २८ रन प्रहार गरे । इशान्तको आईपीएल करियरमा यो सबैभन्दा महँगो ओभर बन्यो । 

baibhav-(1)-1745918107.png
 

चार ओभरको समाप्तिमा राजस्थानले ५० रन पार गरेको थियो । पाँचौँ ओभरमा वैभवले दुई छक्का र एक चौका प्रहार गर्दै मात्र १७ बलमा आफ्नो अर्धशतक पूरा गरे । यो जारी सिजनमा कुनै पनि ब्याटरले सबैभन्दा छिटो बनाएको अर्धशतक समेत हो । 

वैभवको यही विस्फोटक इनिङको नतिजाले राजस्थानलाई आवश्यक रहेको १०.५० को रन रेट घटेर ८.६० मा आइपुग्यो ।

वैभवकै कारण १०औँ ओभर बलिङका निम्ति आएका करिम जन्नतको ओभर जारी सिजनकै सबैभन्दा महँगो बन्यो । वैभवले यो ओभरको ६ बलमा ६ बाउन्ड्री प्रहार गरे । उनले पहिलो बल छक्का, दोस्रो बल चौका, तेस्रो बल छक्का, चौथो बल चौका, पाँचौँ बल चौका र छैटौँ बललाई पुनः ६ रनका निम्ति बाउन्ड्री पार गरे । 

वैभवले कुल ३० रन बटुल्दा यो जारी सिजनकै सबैभन्दा महँगो ओभर बनेको हो । त्यसलगत्तैको ओभरमा पनि स्ट्राइकमा आउनासाथ वैभवले छक्का प्रहार गरे । यसरी उनले कुल ११ छक्का र सात चौकासहित ३५ बलमै शतक बनाए । यो आईपीएसमा बनेको दोस्रो सबैभन्दा छिटो शतक हो । 

वैभवको यो इनिङअघि पूरा रंगशाला नतमस्तक थियो । उपस्थित हरेक दर्शक वैभवका निम्ति उभिएका थिए । 

baibhav-(2)-1745918176.png
 

यसरी १४ वर्षीय ‘टिनएजर’लाई सम्मान गर्नेमा भारतीय क्रिकेट टिमका पूर्वस्टार राहुल द्रविड पनि थिए । वैभवको ब्याटिङमा प्रभावित द्रविड आफ्नो ह्विलचियरमा बसिरहन सकेनन् । उनी खुट्टाको चोटका कारण बैसाखी र ह्विलचियरको सहायतामा हिँडडुल गर्छन् ।

सन् १९९६ मा साहिद अफ्रिदीले एकदिवसीय क्रिकेटमा ३७ बलमै शतक पूरा गर्नु अविश्वसनीय थियो । तर, गएराति यी किशोरले बनाएको शतक अकल्पनीय रह्यो । 

१०१ रनको इनिङपछि पभेलियन फर्किंदै गर्दा वैभवलाई आफ्नै टिमका सहकर्मी नीतिश राणाले अँगालो हाले । सिराज, साई सुदर्शन र गुजरातका अन्य खेलाडीले पनि वैभवको नजिक पुगेर बधाई दिए ।

खेलको कमेन्ट्री गरिरहेका पूर्वक्रिकेटर रवि शास्त्रीले भने, “क्या गजबको इनिङ थियो । शास्त्रीसँगै कमेन्ट्री गरिरहेका वेस्ट इन्डिजका पूर्वक्रिकेटर ड्यारेन गांगाले भने, “एक ऐतिहासिक इनिङ समाप्त भयो । यो निकै खास थियो ।”

आफ्नो इनिङबारे के भने वैभवले ?

खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिएका वैभवको आईपीएलमा यो तेस्रो इनिङमात्रै हो । “मलाई निकै राम्रो लागिरहेको छ । आईपीएलमा शतक बनाउनु सपना पूरा भएको जस्तै हो । पछिल्लो तीन–चार महिनादेखि निकै मिहिनेत गरिरहेको थिएँ,” वैभवले भने ।

baibhav-(4)-1745918133.png
 

आफूअघि विश्वस्तरीय बलर देख्दा कस्तो लाग्छ ? भन्ने प्रश्नमा उनले भने, “म त्यसमा खासै ध्यान दिन्न, मेरो ध्यान बलमा मात्रै हुन्छ ।”

वैभवको इनिङबाट प्रभावित पूर्वक्रिकेटर 

वैभवको यो इनिङपछि विश्वभरका क्रिकेटरबाट उनले चर्चा बटुलिरहेका छन् । यहाँसम्म कि दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सको आधिकारिक एक्स ह्यान्डलमा पनि वैभवको प्रशंसा गरिएको छ । 

यो सूचीमा भारतकै पूर्वक्रिकेटर युवराज सिंह र सचिन तेन्दुल्करजस्ता नाम पनि समावेश छन् ।

“तपाईं १४ वर्षको उमेरमा के गर्दै हुनुहुन्थ्यो ?,” युवराजले एक्समा प्रश्न गरेका छन्, “यो बच्चा त आँखा खुला राखेर विश्वकै उत्कृष्ट बलरहरूलाई चुनौती दिइरहेको छ । वैभव सूर्यवंशी– यो नाम याद राख्नुहोला । निडर शैलीमा खेल्ने । नयाँ पिँढी यसरी चम्किएको देख्दा गर्व लाग्छ ।”

पूर्वक्रिकेटर सचिनले लेखेका छन्, “वैभवको निडर शैली, ब्याटको रफ्तार र बलको लम्बाइलाई तुरुन्तै अनुमान लगाइहाल्ने र आफ्नो पूरै बल प्रहारमा लगाइदिने । उनको उत्कृष्ट इनिङको यो हो, जादुमय सूत्र । जसको अन्तिम परिणाम ३८ बलमा १०१ रन । धेरै राम्रो खेल्यौ वैभव ।”

वैभवको विस्फोटक ब्याटिङ सारथी बन्दा राजस्थान आईपीएलको इतिहासमा २०० भन्दा माथिको लक्ष्य सबैभन्दा कम ओभरमा भेट्टाउने टिमसमेत बन्यो । राजस्थानले २१० रनको लक्ष्य १५.५ ओभरमा पूरा गर्दै यो कीर्तिमान बनाएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro