site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्रको हातमा हतकडी : मुद्दा राजनीतिक कि जघन्य अपराध ? अझै ३० दिन थुनिन सक्छन् !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठिक एक महिनादेखि थुनामा छन् ।  चैत १५ गते राजावादीहरुले गरेको तीनकुनेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोप उनीमाथि छ ।

त्यही राति काठमाडौंबाट पक्राउ परेका रवीन्द्र मिश्रमाथि अनुसन्धानका लागि आइतबार थप एक साताको म्याद थप भएको छ । उनीमाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान जारी राखेको छ । 
प्रहरीले उनलाई थुनामा नै राखेर अनुसन्धान गर्न चार पटक अदालतबाट म्याद लिइसकेको छ ।

आइतबार मिश्रलाई थुनामा नै राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत उपस्थित गराएको थियो ।  त्यसअघि तीन दिनको म्याद अदालतले दिएको थियो । मिश्रमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई म्याद दिएको यो चौथो पटक हो ।

पक्राउको २४ घण्टापछि प्रहरीले पहिलोपटक मिश्रलाई थुनामा राख्न पाँच दिनको अनुमति दिएको थियो ।  दोस्रो पटक १५ दिन र देस्रो पटक तीनदिनको म्याद दिएको थियो ।  उनीसँगै १५ गते नै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यको कारण थुना बाहिर राखेर अनुुन्धान गरिरहेको छ ।

मिश्र भने प्रहरीकै हिरासतमा छन् । प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गर्न ६० दिनको म्याद पाउने कानुनी व्यवस्था छ ।  प्रहरीले मिश्रसहित तीनकुने घटनाका आरोपीमाथि थुनामा नै राखेर अनुसन्धान गरे अझै ३० दिन बाँकी छ । 

तर मिश्रलाई लगातार थुनामा राखेको विषयमा प्रहरी र सरकारको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा मिश्रलाई अनावश्यक दुःख दिएर थुनामा राखिएको भन्दै आलोचना भएको छ । तीनकुने घटनामा प्रहरीले संलग्न व्यक्तिको कसुरका आधारमा विभिन्न मुद्दा चलाएको छ । 

जसमा हालसम्म प्रहरीले ८५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रदर्शनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत छन् ।  प्रहरीले प्रसाईं, सन्तोष सिलवाल र केहीलाई भने कर्तव्य ज्यान मुद्दासमेत लगाएको छ । त्यो बाहेक प्रहरीले ज्यानमार्ने उद्योग, अपराधिक उपद्रव, आगजनीलगायतको कसुरमा अनुसन्धान गरिरहेको छ ।

आपराधिक उपद्रव कसुरमा २१ जनालाई भने प्रहरीले थुना बाहिर राखेर अनुसन्धान गरिरहेको छ ।  राजसंस्था पुनस्र्थानाका लागि आयोजना गरिएको प्रदर्शन अराजक बन्दा अवस्था नियन्त्रण गर्न प्रहरीले सयौँ गोली नै चलाउनु पर्‍यो । 

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले तीनकुनेको एक घरमा गरेको आगजनीका कारण पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

प्रदर्शनकारीले निजी र सरकारी गरी सयौँ घरहरु र सवारी साधनमा आगजनी गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय काठमाडौंको प्रारम्भिक अनुसन्धानका क्रममा ४६ करोड ९० लाख ३४० रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।

प्रहरीका अनुसार सवारीमा भएको आगजनीका कारण ६ करोड ८७ लाख ७७ हजार ६५० र घर, कार्यालय अफिसमा भएको आगजनीका कारण ३९ करोड ९२ लाख ३६ हजार ६७६ बराबरको क्षति भएको देखिएको छ ।

कस्तो छ मिश्रको हिरासत बसाइँ ?

प्रहरीले तीनकुने घटनाका आरोपीहरुमाथिको अनुसन्धान निष्पक्ष र वैज्ञानिक ढंगले गर्ने दाबी गर्दै आएको छ ।  पक्राउ परेका धवलशमशेर र रवीन्द्र मिश्र यो घटनाका सबैभन्दा उच्च तहका थुनुवा हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं त पटके थुनुवाजस्तै भइसकेका छन् ।  धवलशमशेर जबरालाई थुना बाहिर राखिए पनि मिश्रलाई भने प्रहरीले जघन्य अपराधका आरोपीको शैलीमै अनुसन्धान गरिरहेको छ ।  उनीहरुलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीको हिरासत कक्षमा राखिएको छ ।

थुनामा राखेर अनुुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत उपस्थित गर्न लैजाँदा हतकडीसमेत फुकालिएको हुँदैन ।  सोमबार हतकडीसहित जिल्ला अदालत पुर्‍याइएका मिश्रले सञ्चारकर्मीसित केही बोल्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेर भ्यानभित्र पठाएको थियो ।

प्रहरीको यो शैलीको अहिले आलोचना भइरहेको छ ।

तर, मिश्रले हतकडी लगाइएका आफ्ना हात उठाएर सञ्चारकर्मीलाई देखाउन भ्याए । प्रहरीको उक्त व्यवहारले उनको हिरासतको बसाइँ कस्तो होला भन्ने आशंका उब्जिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले भने म्याद थपका लागि लगिएको बेला हतकडी लगाएर अदातलको परिसरसम्म कसरी लैजाने भन्ने अधिकार खटिएकै प्रहरी कर्मचारीको हुने बताए ।

उनले भने,‘‘मूख्यतः हामीले म्याद थपका लागि अदालत लैजाँदा परिसरसम्म हतकडी लगाउने हो । त्यो अधिकार पनि सँगै जाने प्रहरी कर्मचारीको हुन्छ । अर्को अपराधको प्रकृतिअनुसार पनि हतकडी लगाइन्छ । राज्यविरुद्धको कसुरको पनि छुट्टै गाम्भीर्यता छ ।’’

हिरासतमा भने मिश्रलाई कुनै अप्ठेरो नभएको उनी निकट स्रोतले बताएको छ ।

भद्रकालीस्थित प्रहरीको नयाँ भवनको दोस्रो तलाको एउटा कोठामा मिश्र एक्कै बस्छन् । परिसर प्रहरी स्रोतका अनुसार उनी राति अबेरसम्म लेखपढ र दिउँसो पनि भेटघाट बाहेकको समयमा लेखपढ मै व्यस्त हुन्छन् ।
उनलाई भेट्न आफन्त र उनीनिकट केही व्यक्तिहरु दैनिक जसो आउने गरेका छन् । 

प्रहरीका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उनलाई भेट्न दुईपटक प्रहरी हिरासत पुगेका छन् ।  अध्यक्षबाहेक पार्टी अन्य शीर्ष नेताहरु समय–समयमा भद्रकाली पुग्ने गरेका छन् । गएको साता राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरासमेत भद्रकाली पुगेका थिए । 

यद्यपी अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मिश्र पछिल्लो समय निरास देखिन थालेका छन् ।

ती अधिकारीले भने,‘‘मान्छे मुद्दा चलेर थुनामा बस्नुपर्दा गल्ने कुरा स्वाभाविक नै हो । मिश्रमा पनि त्यही निरासा देखिन्छ । पक्राउ परेर आएको एक–दुई दिनसम्म उनमा खासै त्यस्तो केही देखिएको थिएन । तर, आजभोलि अलि निरास नै छन् ।’’

मिश्रको रिहाइका लागि पार्टीले समेत कुनै ठूलो प्रदर्शन गर्न नसकेको छैन । राप्रपा नेपालले हिरासतमा रहेका नेता कार्यकर्ता रिहाइको माग गर्दै सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ । मिश्रले प्रहरीसँगको बयानमा पनि आफुविरुद्धको अनुसन्धान वैज्ञानिक र निष्पक्ष गरिदिन पटक–पटक आग्रह गर्ने गरेका छन् ।

मिश्रको भनाई उद्धृत गर्दै एक अनुसन्धान अधिकारीले भने, ‘‘उनीमा अनुसन्धानका क्रममा प्रहरीको तर्फबाट केही त्रुटि नहोस् भन्नेमा चासो बढी देखिन्छ । हामी पनि निष्पक्ष नै गर्छौैँ । तर, मिश्रले आफ्नो भूमिकाअनुसारको अनुसन्धान राम्रोसँग गरिदिनुहोला भनेर हामीसँग पटक–पटक भनिरहनुहुन्छ ।”

चैत १५ गते प्रदर्शनकारीलाई मञ्चबाट बानेश्वरतर्फ जाउँ भने पनि आफुले संसद् भवन कब्जा गर्ने उद्देश्यले नभइ प्रदर्शनका लागिमात्रै भनेको प्रहरीलाई बयान दिएका छन् । यद्यपी प्रदर्शनको माहोलले आफू अलि उत्तेजित भएको तर, अराजक प्रदर्शन गर्ने कुनै योजना र उद्देश्य नरहेको इन्कारी बयान प्रहरीलाई दिएका छन् ।

तीनकुनेको प्रदर्शनका क्रममा मञ्चमा उभिएका मिश्रले नयाँ बानेश्वरतर्फ जान प्रदर्शनकारीलाई उक्साएको भिडियोको आधारमा प्रहरीले पक्राउ गरेको हो ।  प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईं पनि थुनामै छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro