
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२४/२५ सेमिफाइनलको पहिलो लेगमा आज इंग्लिस क्लब आर्सनलले फ्रेन्च लिग वानको पेरिस सेन्ट जर्मन (पीएसजी)लाई आतिथ्यता प्रदान गर्दै छ ।
आर्सनलले क्वार्टरफाइनलमा साविक विजेता समेत रहेको रियाल मड्रिडविरुद्ध समग्रमा ५–१ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । पीएसजीले भने इंग्ल्यान्डकै क्लब एस्टोन भिल्लामाथि ५–४ को रोमाञ्चक जितसहित सेमिफाइनलमा स्थान बनाएको थियो ।
“हामी यस सिजन धेरै कुराबाट माथि उठेर आएका छौँ । र, अहिले यहाँ भएको हाम्रो टिम युरोपकै उत्कृष्ट चारमध्येको एक बनेको छ । यसले नै हाम्रो मानसिकता र चाहनालाई देखाउँछ,” पहिलो लेगअघि आयोजित पत्रकार सम्मेलनमा आर्सनलका प्रशिक्षक माइकल अर्टेटाले भने, “हामी इतिहास बनाउँदै छौँ । अहिले नै हाम्रो राम्रो कथा बनिसकेको छ । तर, हामी योभन्दा धेरै चाहन्छौँ ।”
आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । यी दुई टिमबीचको दोस्रो लेग मे ८ मा पीएसजीको मैदानमा हुनेछ ।
च्याम्पियन्स लिगकै समूह चरणमा यसअघि आर्सनलले पीएसजीविरुद्ध २–० को जित निकालेको थियो । उक्त खेलमा आर्सनललाई जित दिलाउन काई हाभार्ट्ज र बुकायो साकाले गोल गरेका थिए ।
पहिलो लेगअघि पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकेले भने आफ्नो टिमले धेरै सुधार गर्नुपर्ने बताए ।
“समूह चरणमा हाम्रो यात्रा निकै कठिन थियो । तर, यसले हामीलाई प्रतिस्पर्धा गर्न अझै बलियो बनायो । उनीहरू युरोपकै उत्कृष्ट टिममध्येको एक हुन् । पछिल्लो केही वर्षयता उनीहरूले प्रशिक्षकसँग राम्रो गरिरहेका छन् । पीएसजीले च्याम्पियन्स लिग जितेको छैन, न त आर्सनलले नै जितेको छ । त्यसैले हामीले हाम्रो उत्कृष्ट प्रदर्शनलाई कुनै पनि हालतमा रोक्न हुँदैन,” एनरिकेले भने ।