
काठमाडौं । पोखरामा हुने अन्तर्राष्ट्रियस्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
पोखरामा पहिलोपटक इन्डोर हलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता रहने लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
विदेशी टोलीको रूपमा भारत र इरानका टोली छन् । स्वदेशी टिमको रूपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए ।
प्रतियोगिताका खेल हेर्नका लागि पहिलो, दोस्रो र तेस्रो दिनसम्म ३००, चौथो दिन अर्थात् सेमिफाइनल खेल हेर्न ४०० र फाइनल खेलमा ५०० टिकट दर तोकिएको छ । इन्डोर हलमा तीन हजार जनाले एकसाथ खेल हेर्न सकिने अर्यालले बताए । आयोजकका अनुसार, इन्डोर हल व्यवस्थापन कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनका लागि आवश्यक प्रकाशको प्रबन्ध मिलाउने काम गरिएको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको अर्यालले उल्लेख गरे ।
प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरू र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ । लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।