केही समय यता काठमाडौं महानगरपालिका अवैधरूपमा छोपेर ढल बनाइएका खोल्साखोल्सीको ‘उद्धार अभियान’ लागेको छ । पुरेर नामनिसानै मेटिएका कपन क्षेत्रमा पर्ने ससाना खोल्सा खोतल्नुका साथै केही ठाउँमा सामाखुसी खोला ढाक्ने संरचना महानगरपालिकाले भत्काइदिएको छ ।
काठमाडौं महानगरपालिकाले थालेको खोल्साखोल्सी खोज्ने र खोल्ने अभियानको समय तथा विधि र प्रक्रियामा विवाद हुनसक्छ तर कामको औचित्यमा विवाद प्रश्न गर्न सकिँदैन । ससना खोल्साखोल्सीको अस्तित्व जोगाउनु दीर्घकालीनरूपमा सहरवासीको सौन्दर्य र सहरवासीकः स्वास्थ्यका लागि फलदायी नै हुनेछ ।
सार्वजनिक खोल्साखोल्सी मास्ने प्रवृत्ति उचित र वैध भने होइन । यद्यपि, यस्तो अवैध र अनुचित काममा राज्यका कुनै न कुनै निकायको सहयोग एवं समर्थन भने हुनुपर्छ । काठमाडौं महानगरपालिकालगायतका सम्बन्धित निकायले नियमनको दायित्व पूरा गरेको यस्तो पक्कै हुँदैनथ्यो होला ।
जेहोस्, अब ती खुला गरिएका खोल्साखोल्सीको उद्धारपछिको संरक्षण कार्यमा काठमाडौं महानगरपालिकालगायतका निकायले तत्काल ध्यान दिनु उचित र आवश्यक देखिन्छ । विशेषगरी खुला गरिएका खोल्साखोल्सीको छेउछाउमा बस्नेहरूलाई विश्वासमा लिएर संरक्षणको योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्छ । सम्भवतः खुला गरिएका खोल्साखोल्सीको छेउमा रहेका सार्वजनिक जमिन खाली गराउन अरू निजी संरचना भत्काउनुपर्ने हुनसक्छ ।
पक्कै पनि भत्काउन जति सजिलो बनाउन हुँदैन । कपनमा खोलिएका खोल्सा र सामाखुसी खोलामा अहिले पानीभन्दा ढल बढी बग्छ । वरपर बस्नेहरू एकाएक भौतिक र जनस्वास्थ्यको साथै जोखिमका साथै सहनै नसक्ने दुर्गन्ध पनि भोग्नुपर्दा महानगरपालिकाप्रति क्षुब्ध देखिन्छन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
उनीहरूको क्षोभ अनुचित त नहोला तर महानगरपालिकासँग सहकार्य नगरी खोल्सा खुला हुँदा उब्जेको समस्या समाधान भने हुँदैन । यस्तै, सार्वजनिक खोलाखोल्सा अवैधरूपमा पुर्ने काम पनि त उनीहरूले नै गरेका हुन् । यसैले अब महानगरपालिकासँग सहकार्य गर्नुको विकल्प देखिन्न ।
महानगरपालिकाका पदाधिकारीले पनि स्थानीयको मर्का बुझ्नु र आत्मसात् गर्नुपर्छ । भत्काउनुमात्र पौरख होइन । भत्काएको संरचनाको पुनर्निर्माण तथा त्यसबाट प्रभावित जनसङ्ख्याको समुचित पुःस्थापना महानगरपालिकाको पनि प्राथमिकतामा पर्नुपर्छ । अनिमात्र, खोल्साखोल्सी खोलेर संरक्षण गरेको जस पाइनेछ ।
कपनमा उघारिएका खोल्सा र सामाखुसीको व्यवस्थापनमा मुख्य चुनौती ढल र पानी अलगअलग बगाउनु नै हो । त्यसपछि खुला गरिएका खोल्साखोल्सीमा मानिस तथा चौपाया नखस्ने प्रबन्ध मिलाउनु अर्को चुनौती देखिन्छ । खोलिएका खोल्सामा ढल मिसाउन नरोके सबै प्रयत्न प्रत्युत्पादक हुनेछ ।
खुला खोल्सामा ढलै बगाउने हो भने स्थानीय बासिन्दाले हिउँदमा दुर्गन्धसँगै महामारी फैलने जोखिमको सामना गर्नुपर्नेछ । यसैले भत्काएकै बेलामा ढल अलग्गै फाल्ने प्रबन्ध मिलाइहाल्नु उचित हुनेछ । खोल्साहरूमा ढलै बगाउने हो भने त छोपेकै बेस १ कम्तीमा स्थानीयले दुर्गन्ध त सहन पर्दैन ।