काठमाडौं । विद्यार्थी आन्दोलनको अगाडि टिक्न नसकेपछि ५ अगस्टमा बंगलादेशबाट भारत आइन्, शेख हसिना । त्यसयता भारतले हसिनालाई कडा सुरक्षाबीच गोप्य ठाउँमा राखेको छ । हसिनाकी बहिनी शेख रेहाना पनि भारतमै छिन् ।
अहिलेसम्म हसिनाले भारतमै शरण लिएर बस्ने वा अरू देश जाने भनेर औपचारिक निर्णय गरिसकेकी छैनन् । यहीबीच बंगलादेशको मोहम्मद युनुस नेतृत्वको सरकारले हसिनाको कूटनीतिक राहदानी खारेज गरेको छ । त्यसो भए हसिनाको भारत बसाइको कानूनी आधार के हो ?
दिल्लीका उच्च अधिकारीसँगको कुराकानीबाट थाहा भएअनुसार हसिनाको विषयमा भारतसँग तीनवटा विकल्प छन् ।
पहिलो विकल्प, हसिना सुरक्षित हुने गरी उनलाई कुनै अन्य देशमा शरणका लागि व्यवस्था गरिदिने । दोस्रो विकल्प, राजनीतिक शरण दिएर हसिनालाई भारतमै बस्ने व्यवस्था मिलाउने ।
भारतसँग तेस्रो विकल्प पनि छ । तर, यस विकल्पको छनोटका लागि यो समय ठिक होइन । तेस्रो विकल्प, बंगलादेशको अवस्था ठिक भएपछि भारतले हसिनाको बंगलादेशमा राजनीतिक फिर्तीको प्रयास गर्न सक्छ ।
यसको आधार के हो भने राजनीतिक दलका रूपमा हसिना नेतृत्वको अवामी लिग पार्टीको शक्ति अहिले नै कमजोर भइसकेको छैन । आफ्नो देश फिरेर हसिना पार्टीको कमान्ड सम्हाल्न सक्छिन् ।
त्यसो त राजनीतिक वृत र विचार निर्माताबीच अहिलेको अवस्थामा भारतका लागि पहिलो विकल्प नै उत्तम हुन्छ भन्ने चर्चा छ ।
हसिना भारतमै बसिन् भने दिल्ली–ढाका सम्बन्धमा थप प्रतिकूल असर पर्न सक्छ । सुपुर्दगी सन्धिका आधारमा बंगलादेशले हसिनालाई माग्यो भने भारतले बंगलादेशको यो माग कुनै न कुनै तवरमा खारेज गर्छ । न्यायिक प्रक्रियाको सामनाका निम्ति हसिनालाई बंगलादेशसामु सुम्पिनु भारतका लागि व्यवहारिक विकल्प होइन ।
अर्को देश देश पठाउने
भारतको अन्तिम औपचारिक भनाइअनुसार हसिना अचानक भारत आएकी हुन् । विदेशमन्त्री एस जयशंकरले ६ अगस्टमा संसद्लाई हसिना भारत आएको जानकारी गराउँदा उनले ‘फर द मोमेन्ट’ अर्थात् हालका लागि भनेका थिए । यसपछि भारत सरकारले हसिनाको विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन ।
अहिलेसम्म भारतले उनका विषयमा कुनै टिप्पणी नगर्नुको कारण के हो भने हसिनालाई सुरक्षितरूपमा कुनै तेस्रो देशमा पठाउने तयारी भइरहेको छ । यसमा सफल नभए भारत हसिनालाई राजनीतिक शरण दिएर लामो समय भारतमै राख्न पनि हिचकिचाउँदैन । विदेश मन्त्रालयका एक उच्च अधिकारीले भनेका थिए, "हामी राम्रोको आस गरिरहेका छौँ भने खराबको तयारी ।"
उनको भनाइको आशय थियो– हसिनालाई राम्रो हुने गरी सकेसम्म कुनै अर्को देश पठाउने, नभए भारतमै राख्ने ।
हसिनालई अमेरिका पठाउने प्रस्ताव सुरुमै खारेज भयो । त्यसपछि भारतले संयुक्त अरब इमिरेट्स, साउदी अरब र युरोपका दुई देशसँग पनि यस विषयमा कुरा गरेको थियो । यद्यपि, यस विषयमा अहिलेसम्म कुनै सफलता हात लागिसकेको छैन । थाहा भएअनुसार भारतले अहिले हसिनालाई मध्यपूर्वको देश कतारमा पठाउने गरी कुरा गरिरहेको छ ।
हसिनाले अहिलेसम्म अमेरिका र युरोपसहित कुनै पनि देशमा लिखितरूपमा राजनीतिक शरणको माग गरेकी छैनन् । हसिनाको मौखिक सहमतिकै आधारमा भारतले यी देशहरूसँग उनको शरणका लागि कुराकानी गरिरहेको छ ।
अब प्रश्न उठ्छ, यदि हसिनालाई कुनै तेस्रो देशले शरण दियो भने उनी दिल्लीबाट कुन राहदानीका आधारमा यात्रा गर्छिन् ?
बंगलादेशका लागि पूर्व राजदुत रिवा गांगुली भन्छिन्, "यो ठूलो समस्या होइन । बंगलादेशले उनको पासपोर्ट रद्द गरे पनि उनी भारत सरकारले जारी गरेको ट्राभल डकुमेन्ट वा परमिटको भरमा यात्रा गर्न सक्छिन् ।"
रिवा अगाडि भन्छिन्, "यो नियम व्यक्ति विशेषका लागि हुन्छ । शेख हसिना विशाल पोलिटिकल प्रोफाइल हुन्, यसकारण उनको मामिलामा कयौँ नियम सहज हुन सक्छन् ।"
कतै केही सम्भव नभए भारत हसिनालाई आफ्नै देशमा शरण दिन पनि पछि नपर्ने संकेतसमेत दिल्लीबाट मिलेको छ । भारतले यस अगाडि तिब्बती धर्म गुरु दलाई लामा, नेपालका राजा त्रिभुवन विरविक्रम शाह र अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजीबुल्लाहलाई राजनीतिक शरण दिइसकेको छ । हसिना पनि सन् १९७५ मा भारतमा सपरिवार बसिसकेकी छन् ।
हसिनालाई भारतमै शरण दिने विकल्पमा जानुअगाडि भारतले दिल्ली–ढाका सम्बन्धमा यसको कस्तो असर पर्छ भनेर सोचविचार गर्नुपर्छ । जानकारहरूका अनुसार, सन् १९५९ मा दलाई लामालाई शरण दिएपछि भारत–चीन सम्बन्धमा तिक्तता पैदा भएको थियो । ६५ वर्षपछि पनि भारत–चीन सम्बन्धमा यो तिक्तता देखिन्छ ।
भारत र विश्वको बाँकी भागमा दलाई लामालाई जति नै श्रद्धाको नजरले हेर्ने गरे पनि दिल्ली र बेइजिङको सम्बन्धमा दलाई लामा जहिले पनि 'गलाको पासो' बनेका छन् । हसिनालाई भारतले शरण दिएमा भारत बंगलादेशको सम्बन्धमा पनि यस्तै हुन सक्छ ।
दिल्लीस्थित आईडीएएसएकी सिनियर फेला स्मृति पटनायक भन्छिन, "हसिना हटाउने बंगालदेशी आन्दोलनको एक हिस्सा भारत विरोधी पनि थियो । त्यो आन्दोलन हसिनासँगै भारतको पनि विरोधमा थियो । यस्तोमा भारतले हसिनालाई शरण दियो भने बंगलादेशमा गलत सन्देश जान्छ र त्यहाँको भारत विरोधी भावनालाई झन बल पुग्छ ।"
यो कुरा भारत सरकारले पनि बुझेको छ । यसका बाबजुद पहिलो विकल्पमा सफलता मिलेन भने बाध्यतावश भारतले दोस्रो विकल्प छान्नुपर्छ । हसिना भारतको पुरानो साथी हुन्, पुरानो साथीलाई संकटमा छाड्नु भारतका लागि पनि सम्भव छैन ।
त्यसो त भारतको एक ठूलो नीति निर्माता समूहमा बंगलादेशको राजनीतिमा हसिनाको भूमिका अझै समाप्त भएको छैन भन्ने बुझाइ छ । उचित समय आए उनलाई बंगलादेशको राजनीतिमा पुनर्स्थापना गर्न मद्दत गर्नुपर्ने यस समूहको धारणा छ ।
यस्तै सोच राख्ने एक अधिकारी भन्छन्, "सन् १९८१, १९९६, र २००८ मा हसिनाले बंगलादेशको राजनीतिमा बलियो पुनरागमन गरेकी थिइन् भन्ने कुरा हामीले भुल्न हुँदैन । यी हरेक समयमा अब हसिनाको राजनीतिमा पुनरागमन हुँदेन भन्ने सोचिएको थियो ।"
तर, त्यतिखेर हसिना युवा थिइन् । आउँदो महिना हसिना ७७ वर्ष पुग्दै छिन् । यो उमेर उनको पुनरागमनमा कुनै बाधा हुँदैन ? यस प्रश्नको जवाफमा ती अधिकारीको जवाफ थियो, "सायद उमेर उनको साथमा छैन । तर, ८४ वर्षको उमेरमा मोहम्मद युनुस पहिलोपटक सरकार चलाउन सक्छन् भने उनको तुलनामा कम उमेर भएकी हसिना किन सक्दिनन् ?"
भारतले त्यहाँको अन्तरिम सरकार र सेनालाई अवामी लिगको नेतृत्वमा हसिनालाई फिर्ता लिन दबाब दिन सक्छ । अहिले नै बंगलादेशमा अवामी लिगमा कुनै बन्देज लगाइएको छैन । पूरै देशमा अवामी लिगको बलियो सञ्जाल छ । त्यही दलको सर्वोच्च नेताका रूपमा हसिना भविष्यमा बंगलादेश फिर्न सक्छिन् ।
तर, राजनीतिशास्त्री र ओपी जिन्दल ग्लोबल युनिर्भसिटिमा अन्तर्राराष्ट्रिय सम्बन्धकी प्रोफेसर राधा दत्तका अनुसार, भारतले अवामी लिगलाई पुनर्जीवित गराउन सहयोग त गर्न सक्छ तर हसिनालाई बंगलादेशमा पुनर्वासित गर्न भने निकै मुस्किल छ । बंगलादेशको अगामी चुनावमा हसिनाको नेतृत्वमा अवामी लिगलाई चुनावी मैदानमा उत्रिने कल्पनालाई उनी अव्यवहारिक भन्छिन् ।
भारतले पछिल्ला करिब ५० वर्षका दौरान हसिनामाथि जुन राजनीतिक लगानी गरेको छ, त्यसकारण दिल्लीको एक ठूलो वृत्त हसिना राजनीतिक तवरमा समाप्त भइसकेको मान्न तयार छैन ।
राहदानी रद्द भएपछि....
बंगलादेशबाट भारत आउँदा हसिनासँग कूटनीतिक राहदानी थियो । जसका आधारमा उनी बिनाभिसा कम्तीमा ४५ दिन भारतमा बस्न सक्छिन् । तर, बंगलादेशले हसिनाको कूटनीतिक राहदानी रद्द गर्यो । यस्तोमा प्रश्न उठ्छ, बिना कुनै राहदानी हसिनाको भारतमा बस्ने वैधानिक आधार के हो ?
यसको जवाफमा भारतका पूर्वकूटनीतिज्ञ पिनाक रंजन चक्रवर्ती भन्छन्, "भारतमा हसिनाको प्रवास प्राविधिक कारणले पूर्णरूपमा वैध छ । जतिखेर उनी आइन्, उनको पासपोर्टमा अराइभलको छाप त लागेको छ । त्यही छापले उनको यहाँ आउनु वैध ठहर्याउँछ । अब यसपछि उनको देश उनको राहदानी रद्द गर्छ भने त्यसले भारतलाई केही फरक पर्दैन ।"