site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सत्तामा हुनेहरूलाई लाग्दो हो उनीहरूले शासनको बागडोर थामेर जनतालाई गुन लगाएका छन् । जनताले भने सरकारले तिनका सानातिना समस्या कसरी सहज बनाउँछ त्यसैका आधारमा मूल्याङ्कन गर्छन् । 

परराष्ट्रमन्त्रीलाई भारतका प्रधानमन्त्रीले महत्त्व दिएको वा नयाँ अर्थमन्त्री नियुक्त भएपछि सेयर बजारमा वृद्धि भएको समाचारले जनतालाई फरक पर्दैन ।तिनको ध्यान त दैनिक जीवनको अवस्थामा हुन्छ । 

कुनै पनि सरकारले चमत्कार गर्न सक्तैन । नागरिकले पनि सरकारबाट चमत्कार खोजेका हुँदैनन् । सरकारले अलिकति महत्त्व दिएमा सजिलै हुनसक्ने काम गरिदेओस् भन्ने जनचाहना हुन्छ ।

नेपालीको सबैभन्दा ठूलो पर्व दसैं नजिकिँदै छ । घटस्थापना सुरु हुन महिना दिन पनि बाँकी छैन । यसैले दसैंमा असुविधा नभए धेरैले सरकारलाई धन्य भन्नेछन् । 

दसैं नेपालीको सबैभन्दा बढी आवागमन गर्ने अवसर पनि हो । तर, नेपालका अधिकांश सडकको अवस्थाले भने यतिबेला सडक यात्रा गर्न ‘ज्यानकै बाजी थापे’जस्तै हुनेगर्छ । 

सहायक कच्ची सडकमा वर्षा यामका कारण केही असुविधा हुनु उति अस्वाभाविक नहोला । तर, राजमार्ग भनिएका मुख्य सडकहरूको अवस्था पनि पटक्कै सुरक्षित र सुविधाजनक छैन । 

मुख्य राजमार्गहरूसमेत वर्षौंसम्म यात्रा गर्नै नसकिनेगरी अलपत्र पारिएका छन् । यसको मुख्य कारण  सरकारी लापरबाही नै हो । यात्रुको सुविधा र सुरक्षालाई सरकारले कहिल्यै प्राथमिकता दिएन ।  

यसपटकको चाडपर्वको अवसरमा हुने सडक यात्रा सरकार जनताप्रति कति संवेदनशील  छ भन्ने थाहा हुनेछ । यात्रुको सुरक्षा र सुविधा नै सरकारको मूल्याङ्कन गर्ने कसी हो ।  

राजमार्गहरूको अवस्थामा रातारात सुधार गर्नु असम्भव नभए पनि निकै कठिन काम हो । तर, यातायातको व्यवस्थापनलाई प्राथमिकता दिए यात्रालाई सुरक्षित र सुविधाजनक बनाउन सकिन्छ । 

यात्रु धेरै हिँड्ने मुख्य सडकका खाल्टा अस्थायीरूपमै भए पनि पुरेर सवारी साधन सहजरूपमा चल्न सक्ने बनाउन तत्काल थाल्नुपर्छ । तुरुन्तै सुरु नगरे दसैंमा मुख्य सडकहरू यात्रा योग्य बन्न सक्तैनन् ।

यसैगरी यात्रुको चाप धेरै हुने समयमा मालवाहक ठूला गाडी चल्न पनि रोक्नेगरी यात्रा व्यवस्थापन गर्नुपर्छ । ठूला गाडीले बाटो छेकेनन् भने यात्रुवाहक सवारी साधनलाई गन्तव्यमा पुग्न सहज हुनेछ । 

यति गर्न न अतिरिक्त बजेट नै चाहिन्छ न धेरै समय नै लाग्छ । विगतमा पनि सरकारले यस्तो प्रयत्न त गर्थ्यो तर त्यो झारा टार्ने किसिमको हुन्थ्यो ।

कम्तीमा काठमाडौं(पोखरा र नारायणगढ(बुटवल सडकमा यात्रुहरूले सजिलोसँग आवागमन गर्न पाए भने सरकार साँच्चै नै नागरिकप्रति जिम्मेवार रहेको मान्न सकिनेछ । नत्र,  यो सरकार पनि अभिशापमात्र ठहरिनेछ ।    

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro