आधुनिक समाजको ब्यस्त जीवनमा घरबाहिरका फास्टफुड जंकफुड तथा स्ट्रिटफुडको लोकप्रियता दिनानुदिन बढ्दो छ । यस किसिमका अल्पाहारलाई जंकफुडको संज्ञा दिने गरिन्छ । वस्तुतः मानिसको दैनिकीमा घरको सरसफाई पूजापाठ बच्चाको होमवर्क भान्साको काम र खानपिनसँगै केटाकेटीहरूलाई स्कुल पठाउनु त्यसपछि आफ्नो अफिस पुग्ने चटारोबीच गाडीजाम छिचोलेर अफिस पुग्नु साँझ घर फर्कदा पुनःथकित शरीर भान्साभित्र पस्न चाँहदैन ।
तथापि छोराछोरीहरूका लागि नानाथरी खानाका लागि बाह्रथरी झन्झट गर्नुभन्दा अनलाइन अर्डर गरेर बजारबाट स्वाद अनुसारका खाजा मगाएर घरमा खाने तथा रेष्टुराँमा गएर पेट पूजा गर्ने चलन धेरैका लागि आवश्यकता भएपनि कसैका लागि रबाफ देखाउने चलन नेपाली समाजमा सहजै देख्न सकिन्छ ।
यसप्रकारका फास्टफुड र जंकफुड छिटोछरितो, समयको बचत सस्तो र स्वादिष्ट पनि हुने भएकाले शहर बजारका चौक र गल्लीहरूमा यस्ता घुम्ती पसलहरू छ्यापछ्याप्ती देख्न पाइन्छ । यस किसिमका अल्पाहार लिने पारखीहरूमा प्रायः स्कुल जाने बालबालिका कलेज पढ्ने किशोर–किशोरीहरूले बजारको ठूलो हिस्सा ओगटेका हुन्छन् । भ्रमणमा जाँदा उत्सव मनाउँदा या अल्छी लागेका बखतमा समेत यस्ता फास्टफुडहरूको उच्च मागका पछाडि जिब्रोमा झुण्डिएको स्वाद र सहज सेवाका कारण जो कोहीले अत्यधिक रुचाइएको खाद्य पदार्थ हुन् ।
वर्तमान परिवेशमा जंकफुडलाई ब्यस्त जीवनको वैकल्पिक खानाका रुपमा हेर्दै गर्दा अवस्था यस्तो आइसक्यो कि केटाकेटीहरू घरको दाल भात भनेपछि मुन्टो बटार्ने, नाकमुख खुम्चाउने, फलफूल र सागपात हेर्नै नचाहने केटाकेटीहरू घरको खाना सहजै रुचाउँदैनन् ।
प्रायः घरमा बनाइएको खाना र खाजाहरूमा टीका–टिप्पणी गर्ने र मौका छोपेर बजार निस्कने छोराछोरीहरू पिज्जा, बर्गर, मःमः चाउमिन, एगरोल, चिप्स, बिस्कुट, डुनोट, चकलेट आइसक्रीम फ्रेन्चफ्राई, छोले–भटुरे, पावभाजी पानीपुरी आदि दैनिक जीवनसँग गाँसिदै छन् ।
यस्ता खाद्य पदार्थका विशेषता भनेको पोषकतत्व भिटामिन र खनिजतत्व हुँदैन । नुन–चिनी र बोसोका मात्रा बढी भएको हुनाले यो उच्च क्यालोरीयुक्त खाद्यपदार्थ मानिन्छन् । यस्ता खाद्यपदार्थको प्याकिङ हेर्दा आकर्षक, खाँदा स्वादिष्ट र शारीरिक उर्जालाई बढाए पनि यसप्रकारका खाद्य पदार्थलाई अस्वस्थ्यकर मान्ने गरिन्छ ।
यस्ता जंकफुड प्रसंस्कृत खाद्य पदार्थ हुन् र यसमा पोषणतत्व नभएको बराबर मान्दा हुन्छ । तापनि फास्टफुड र जंकफुडप्रति लालयित हुनेहरूका जमात उल्लेखनीय रहेपनि नतिजा भने प्रतिकूल छ । त्यसैको परिणामस्वरुप आज ब्यक्ति मोटाउने, एकहोरो हुने, विचलित गराउने, अक्सिजन लेबल कम गराउने र फाईबरको कमीका कारण पाचनशक्ति कमजोर बनाउने गर्छ भने डाबटिज ब्लडप्रेसर हृदय रोग दाँत छाला अनिन्द्रा जस्ता समस्यासँगै बाल–विकासमा समेत नकारात्मक प्रभाव पर्दछ ।
यस किसिमका जंकफुडबाट घरका बालबालिकाहरूलाई बाहिर जाँदा या घरभित्र रहँदा भोक लागेको समयमा चिप्स, पापकर्नर, आइसक्रिम, कोल्डड्रिक चकलेट बिस्कुट चाउमिन मः मः चना चटपटे जस्ता बस्तुहरू किनेर दिने बानीबाट आफ्ना सन्तानलाई सक्दो टाढा राख्नु बुद्धिमानी हुनेछ । अन्यथा केटाकेटीहरूको जिद्दी स्वभावका कारण प्रायः फलफूल हरियो तरकारी सलाद जस्ता स्वास्थप्रद खाद्य विकल्पको रुपमा लिन चाँहदैनन । जसकाकारण उनीहरूको शरीरमा पोषण तत्वको अभाव हुने गरेको छ ।
लण्डनस्थित आरगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीको एक शोधले भन्छ : ‘जंकफुड खाने ब्यक्तिहरूको दिमागमा यस्तो रसायन पुग्छ, जसले दिमागको गडबडीलाई उत्पन्न गर्छ ।’ उक्त दलका डा. जीन बाउमैन भन्छन्, जंकफुडले मुटु र दिमागमा नोक्सान पुर्याउने गर्छ । भारतको एक सीएमआरको अनुसन्धान अनुसार जंकफुड या अस्वस्थ्यकर खानाका कारण सन् १९९० पछि बिरामीहरूको संख्या १० प्रतिशतबाट ३५ प्रतिशतसम्मको वृद्धि गम्भीर समस्याको रूपमा देखिन्छ ।
यहाँ हामीले फास्टफुड, जंकफुड् र स्ट्रीटफुडकाबारेमा थोरै बुझ्न् जरुरी छ । फास्टफुडमा माछा चिप्स, सान्डविच, बर्गर, हैम्बर्गर, फ्राई चिकेन, मःमः, चाउमिन, फ्रेंचफ्राईज, पिज्जा, हटडग, आईसक्रीम आदिलाई बुझ्ने गरिन्छ । जंकफुड्मा आलु चिप्स, बिस्कुट, चकलेट, कोल्डड्रिक, पानीपुरी, तारेका–भुटेका परिकार आदि पर्छन् ।
स्ट्रिटफुडमा विशेषगरी भारत र नेपालको तराईका शहरहरूको चौक गल्लीमा घुम्ती गाडीमा राखेर साँझपख बेच्ने आलु ट्किया, समोसा चाट, लिट्टी, छोले भटुरे, चनाचटपटे, गुलियो अमिलो पिरोको अनेक स्वादिष्ट र विविध परिकार बुझ्न सकिन्छ ।
फस्टफुडको अर्थ पूर्वतयारी आहार हो । लगभग सबैथोक तैयारी अवस्थामा रहेको खाद्य पदार्थ हो । आउने ग्राहकलाई प्याकेटको रुपमा, तताएर या उमालेर दिने खाद्य पदार्थलाई बुझ्ने गरिन्छ । उदाहरणका लागि म्याक डोनाल्ड कम्पनीको खानाहरूलाई लिन सकिन्छ ।
सबैभन्दा पहिले फास्टफुडको चलन इटालीको रोमबाट आरम्भ भएको मानिन्छ । त्यहाँको आवादी ठूल्ठूला मल डिपार्टमेन्ट स्टोरमा कार्यरत कर्मचारीहरूका लागि त्यतिबेला भान्से हुँदैन्थ्यो । वैकल्पिक खानाका रूपमा त्यसबखत रक्सीमा भिजाएको रोटी किनेर खाने समय हुने गर्थ्यो । विधिवत् रुपमा चाहिँ यसको थालनी दोश्रो विश्वयुद्धपछि अमेरिकी अर्थब्यवस्थाले फड्को मारेसँगै त्यहाँ उपभोक्तावादको संस्कृति टुसाउन थालेपछि अमेरिकीहरूले बढी खर्च गर्न र विलासीबस्तुप्रति आकर्षित हुँदै थिए ।
सबै कुरा प्राप्त गर्ने अभिलाषामा महिला–पुरुष दुवै कामको सिलसिलामा घरबाहिर टाढा रहने बाध्यताकाबीच बाहिरको खाना सामान्यीकरण बन्दै गयो । समयको माग अनुसार आज आवश्यकता बन्न पुग्यो । यसबाट प्रायः मजदुर तथा कामकाजी परिवारहरूको दिउँसो र बेलुकीको खानाको विकल्प खटकिन थालेपछि सन् १९२१ तिर जब विचिता, कांसारमा पहिलो व्हाइट क्यासल खुल्यो र ह्यामबर्गरको लोकप्रियकरण र व्यावसायीकरण सुरु भयो । ह्यामबर्गर चेन अमेरिकाभरि खुल्यो । जसमा क्यालिफोर्नियाको स्यान बनार्डिनोमा एउटा परिवारिक स्वामित्ववाला रेस्टुराँ थियो । जसलाई सन् १९४८ मा भाई रिचर्ड र मौरिस म्याक डाँनल्डले खोलेका थिए ।
सन् १९५५ मा रे क्रोकले किनेपछि त्यसको संचालन डेस प्लेन्स इलोनोइसमा आफ्नो पहिलो म्याक डाँनल्डले खोले । जबकि धेरै संख्यामा रेष्टुराँमा बर्गर र फ्राइज पनि बेच्थे । एवं प्रकारले एकपछि अर्को ढंगले बाहिर खाने संस्कृतिको विकास हुन थाल्यो । जसमा हरेक आठ अमेरिकन कर्मचारीमध्ये एकजना म्याक डाँनल्डसको दिवाना बन्न थाले ।
यसरी सन् ८०–९० को दशकलाई बर्गर समयको सुरुवातसँगै रेष्टुराँको बिस्तारले विश्व बजारमा कब्जा जमाउन थालेपछि फास्टफुडको महत्व र इतिहासलाई बुझ्न सक्छौं । विश्वमा परेको प्रभाव र असरबाट ढिलो भएपनि नेपाल यसबाट अछुतो रहन सकेन । नेपालका ठूल्ठूला शहरहरूमा छ्याप्छ्याप्ती केएफसी र बर्गर हाउसहरू खुल्दै गरेको र गल्ली टोलहरूमा बिक्ने मःमः पानीपुरी समोसा चाट आइसक्रिम जस्ता अन्य तमाम किसिमका गुलियो, नुनिलो, पिरोयुक्त खाद्य पदार्थहरूको थेगिनसक्नुको बिक्रीले यसको अनुमान लाउन सकिन्छ ।
यस्ता जंकफुडको बानी परिसकेका केटाकेटीहरूलाई बाहरी खानेकुराका हरेक माग पूरा गरिरहने बानीले भोलि अझ समस्या खडा गर्नसक्छ । केही कुरामा माया देखाउनु ठीक भएपनि हरेक कुरामा माया देखाउनु सन्तानको हितमा देखिँदैन । हरेक बाहरी खानेकुरा किनेर दिने र ढिलो भएमा रिसाउने जिद्दी गर्ने, रुने, कराउने जस्ता लक्षणबाट तत्काल छुटकारा दिलाउन उक्त बस्तुप्रतिको आशक्ति घटाउन घरका आमा–बुबाहरूले ढिलो चाँडो सही बाटोमा ल्याएर आफ्नो पारम्परिक पोषिलो खानेकुराहरूको महत्वलाई बुझाउन र व्यवहारमा ढाल्न स्वयं अभिभावकको जागरुकता एवं कार्यकुशलता त्यति नै जरुरी हुन्छ् ।
अर्को उपाय भनेको स्कुल–कलेज पढ्ने विद्यार्थीहरूले कम्तीमा खाद्य पदार्थको लेबलमा कर्नर स्वीट, कर्नर सिरप, कर्नर ठोस र आंशिकरुपमा हाइड्रोजनिकृत मार्क हेरेर मात्र प्रयोग गर्ने बानी बसाल्ने । जुन खाद्य पदार्थमा बोसोको मात्रा बढी भएको, परिस्कृत अन्न, नुन र उच्च फ्रुक्टोज कर्नर सिरप हुन्छ त्यस्ता बस्तुहरू सकेसम्म घरमा नभित्र्याउने हो भने धेरै हदसम्म यस्ता जोखिमबाट छुटकारा पाउन सकिन्छ ।
यसरी हामी सबैले घरको ताजा र स्वस्थ्यकर खाना छाडेर स्वादको चक्करमा फास्टफुड र जंकफुडको बढ्दो प्रयोगले मानव शरीर कैयौं बिरामीको घर बन्दै आएको छ । आधुनिकताको यस परिवेशमा खानपिनको स्वरुप पूर्णतया बदलिएको छ ।
पाश्चात्य संस्कृतिको असर हाम्रो खानपानका साथै हाम्रो दिन चर्यामा पनि देख्न सकिन्छ । खासमा खानपिनको प्रकृति परिवर्तनको साथ मानिसको प्रवृत्तिमा पनि परिवर्तन आउने गर्छ । हामी जस्तो अन्न खान्छौं, त्यस्तै हाम्रो मन र बुद्धि पनि हुने गर्छ । खाना स्वादका लागि होइन, स्वास्थ्यका लागि भएपछि हामीले पनि जीवनशैलीको नाउँमा आफ्नो स्वास्थ्यसँग खेलवाड गर्न सक्दैनौं ।