site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेविरुद्ध मुद्दा चलाउने तयारी !
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले मुद्दा चलाउने तयारीमा जुटेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा नाम जोडिएका लामिछानेलाई पनि अभियुक्त बनाउँदै मुद्दा चलाउने तयारी भएको हो ।

सहकारी ठगी प्रकरणमा संलग्न अन्य सञ्चालक–पूर्वसञ्चालकविरुद्ध मुद्दा चलिसकेको छ ।  तर, लामिछाने तत्कालीन गृहमन्त्री भएका कारण उनीविरुद्ध लामो समयसम्म प्रहरीले अनुसन्धान गर्न सकेको थिएन । 

उनी गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको हो । जाहेरी परेको केही समयमै लामिछाने गृहमन्त्री भएपछि अनुसन्धान नै प्रभावित भएको थियो ।  कास्की प्रहरीले गत १० भदौमा लामिछानेसँग काठमाडौंकै प्रहरी कार्यालयमै बोलाएर सोधपुछ समेत गरेको छ । 

Dabur Nepal
NIC Asia

प्रहरी प्रधान कार्यालय स्रोतले लामिछानेमाथि सहकारी ठगी प्रकरणको अनुसन्धान जारी रहेको बताएको छ । प्रहरी उच्च स्रोतले भन्यो, “अनुसन्धान जारी नै छ ।” 

उनीसहित पूर्व नेपाल प्रहरीकै डीआईजी छविलाल जोशीसँग पनि प्रहरीले सोधपुछ गरेको छ । 

प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘‘गोर्खा मिडिया कम्पनीमा कसरी सहकारीको रकम आयो ? त्यसमा तपाईंको भूमिका के हो ? कसरी निर्णय गरियो ? भनी लामिछानेसँग सोधिएको थियो । त्यसलाई बयान नै त भन्न मिल्दैन । तर, ठाडो कागज गरिएको हो ।’’

प्रहरीले लामिछानेसँग सोधेको थियो, “ग्यालेक्सी टीभीमा सहकारीको रकम कसरी आयो ?”

त्यसमा लामिछानेको जवाफ थियो, “मलाई थाहा छैन ।”

सहकारीको रकम ग्यालेक्सी टीभीमा प्रयोग हुँदा लामिछाने नै कम्पनीका सञ्चालक र प्रबन्ध निर्देशक थिए । पोखराबाट काठमाडौं आएको डीएसपीको टोलीले लामिछानेसहित जोशीसँग ठाडो कागज गरेको हो । 

प्रहरीले पूर्वडीआईजी जोशीमाथि चेकको विषयमात्रै सोधपुछ गरेको जोशी आफैँले स्वीकार गरेका छन् । 

जोशीले बाह्रखरीसँग भने, “मसँग सामान्य चेकबारेमा मात्रै कुरा भएको हो । ग्यालेक्सीबारे होइन । मेरो घरभाडाका लागि एउटा सहकारीको चेक आएको थियो । त्यो चेक मैले फिर्ता नै गरेको थिएँ । त्यही चेकबारे प्रहरीले सोधेको मात्रै हो ।”

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, पहिलो चरणमा सामान्य सोधपुछ गरी कागज गरेर छाडिएको छ । थप अनुसन्धान गर्नुपर्ने आधार देखिए मुद्दा प्रक्रिया नै अघि बढाउने तयारी गरिएको स्रोतले जानकारी दियो ।

“संसदीय छानबिन समितिको प्रतिवेदनले पनि हामीलाई अनुसन्धानमा थप सहयोग गर्छ,”

तर संसदीय छानबिन समितिको म्याद भने आजदेखि १५ दिन थप भएको छ । प्रतिनिधिसभाको बैठकले समितिको म्याद थप गरेको हो । समितिको प्रतिवेदन आउनासाथ प्रहरीले मुद्दा दर्ता गर्ने तयारीस्वरुप अनुसन्धान थालेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यतिखेर सहकारीका रकम अपचलनका विषयमा एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय समिति छानबिनमा क्रियाशील छ । संसदीय छानबिन समितिले लामिछानेसँग सहकारी ठगी प्रकरणमा गत भदौ ७ गते एक बजेसम्म सोधपुछ गरेको थियो ।

केही दिनमै कास्की प्रहरीले लामिछानेसहित थप संलग्नकर्ताहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत पूरक मुद्दा दर्ता तयारी गरेको जानकारी पनि प्रहरीका एक अधिकारीले दिए । 

कास्की प्रहरीले गोर्खा मिडियासँगै नेचर हर्ब्स र नेचर नेष्ट इन्टरनेशनल कम्पनीको कार्यालयबाट केही कागज समेत लिएको छ । प्रहरीको अनुसन्धानका क्रममा यसअघि नै सूर्यदर्शन सहकारीको पाँच करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा आएको खुलेको थियो ।

सहकारीका पीडित बचतकर्ताले २०८० साउनमै सहकारीका सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले १९ जनालाई अभियुक्त बनाउँदै दर्ता भएको मुद्दा जिल्ला अदालत कास्कीमा हाल विचाराधीन छ ।

सहकारीका सञ्चालक र पूर्वसञ्चालकसहित ६ जना पक्राउ गरी पुर्पक्ष निम्ति थुनामा छन् । सूर्यदर्शन सहकारीको कुल एक अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई ‘जीबी’ भने अझै फरार छन् ।  उनी मलेसियामा रहेको खुलेको छ । उनीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ‘रेड नाटिस’ समेत जारी गरिसकेको छ ।  तर, मलेसिया सरकारको असहयोगका कारण उनी पक्राउ पर्न सकेका छैनन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro