गुरुङले कुनै कार्यक्रममा प्रहरी महानिरीक्षकलाई सङ्केत गर्दै ‘जिब्रो थुत्नुपर्ने’ भनेको खबर चैतको डँडेलोजस्तै फैलियो । प्रधानमन्त्री खड्गप्रसाद ओलीले समेत यस विषयमा खैखबर गरेको जानकारी मन्त्री गुरुङ स्वयंले दिएका छन् ।
प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्तको समाचार सार्वजनिक भएलगत्तै अरूले पनि मन्त्री गुरुङमाथि कारबाहीको माग गर्न थालेका छन् । यसका नेपाली कांग्रेसका एक सांसददेखि पूर्वप्रहरी संगठन प्रमुख मञ्चसम्मले आपत्ति जनाएको समाचार आएको छ ।
पक्कै पनि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङको अभिव्यक्ति शिष्ट र सहज होइन । यसैले उनले पूर्वप्रहरी महानिरीक्षकहरूको मागअनुसार सार्वजनिकरूपमा आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नु उचित हुन्छ । माफी माग्नु सत्यको सामना गर्ने साहस देखाउनु पनि हो ।
मन्त्रीले अमर्यादित वचनका लागि माफी माग्नुपर्छ भन्ने प्रहरीका पूर्वप्रमुखहरूले आफैँले कुनै बेला नेतृत्व संगठनभित्र कस्तो बोलीचालीको प्रयोग हुन्छ भन्ने पनि एकपटक हेक्का भने राखेको भए हुन्थ्यो । प्रहरीलगायत फौजी संगठनमा प्रयोग हुने शब्दहरू मानवीय मर्यादाअनुरूपका हुँदैनन् ।
यसैगरी राजनीतिक दलका नेताहरू विशेषगरी नेकपा ९एमाले०का अध्यक्ष तथा बहालवाला प्रधानमन्त्रीले पनि शब्द चयन गर्दा अरूको मर्यादा हनन हुने छुद्र टिप्पणी गरेका अनेकौँ उदाहरण छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले आफ्नै नेताको शैलीको अनुसरण गरेको हुन् किरु
यथार्थमा नेपाली समाजमा विशेषगरी सत्तामा रहनेहरूमा आफूले जे बोले पनि हुने र आफूभन्दा साना अरूले आफ्नो अदब राख्नुपर्ने भन्ने ‘जिम्मुवाली’ मानसिकताले जरो गाडेको छ । मन्त्री गुरुङको बोली पनि अवचेतनमा रहेको यही सामन्ती मानसिकताको अभिव्यक्ति हो ।
मन्त्री गुरुङले महानिरीक्षकको साटो प्रहरी जवानलाई इङ्गित गरेर दुर्वचन बोलेका भए पक्कै पनि पूर्वप्रहरी प्रमुखहरूले चासो लिने थिएनन् । पूर्वमहानिरीक्षकहरूकहाँ घरेलु सहायकका रूपमा खटाइएका प्रहरी जवानहरूसँग कसरी बोलिन्छ भन्ने पनि पूर्वमहानिरीक्षकहरूलाई पक्कै थाहा होला ।
लोकतन्त्रमा व्यक्तिको मर्यादा हुन्छ । पदीय मर्यादाक्रम त सामन्ती औपचारिकतामात्र हो । यसैले सरकारका प्रवक्तामात्र होइन सार्वजनिक जीवनमा रहेका सबैले अरूको मर्यादाको सम्मान गरेर बोल्नुपर्छ । मन्त्री गुरुङसँग सोधपुछ गर्ने प्रधानमन्त्रीदेखि माफी मगाउन उद्यत पूर्वमहानिरीक्षकहरू सबैले हेक्का राखून् ।