हवाइजहाजले ‘टेकअफ’ गरेको केही समयपछि सिटको बकल खोल्न पाउने अनुमति मिलेको सूचना देखियो । म सिटबाट उठेँ । त्यसपछि कसैले मेरो ढाड थपथपायो । फर्केर हेर्दा तिनी भारतीय मूलको जस्तो देखिने सहचारी रहेछन् ।
कुनै व्यक्ति खडा हुँदा असजिलो अप्ठेरो पर्यो भन्दैमा शरीर छोएर घचघचाउने तिनको आचरण मैले स्वीकार्न सकिनँ । उनीतिर फर्कंदा उल्टै उनले मलाई रुखै भाषामा भने, “यहाँ तपाईं खडा हुन पाउनुहुन्न ।”
तिनको वाक्य सुनेपछि मैले प्रतिवाद गर्दै प्रश्न गरेँ, “कसले भनेको ?” उनले उठ्न नपाइने नियम छ भनेपछि म अचम्मित भएँ । वास्तवमा म उभिँदा परिचारिकाहरूलाई अन्य प्यासेन्जरको सेवा गर्न कठिन हुने भएका हुनाले गर्दा तिनले मलाई खडा नहुन भनेका रहेछन् । हामी दुईबीच केही बेरसम्म चर्काचर्की पर्यो ।
मैले भनेँ, “मेरो ढाड थपथपाउने तपाईंलाई त्यो सुविधा कसले दियो ? म खडा भएका कारण खुट्टा दुखेका कारण हो । तपाईंले मेरो शरीर छोएको मलाई पटक्कै मन परेन । त्यसरी असभ्य व्यवहार गर्दा यो मानिस मेरो पिताको उमेरसरहको हो भन्ने सुझबुझसमेत तपाईंमा आएन ?”
मेरो बोली भुइँमा खस्न नपुग्दै तिनले एकाएक झुकेर खुट्टा समाउला जस्तो गर्दै भने, “मलाई क्षमा गर्नुहोस् । तपाईंलाई मैले पछाडिबाट थपथपाउने गल्ती गरेँ । यदि अगाडिबाट देखेको भए किमार्थ त्यस्तो असभ्य व्यवहार गर्ने थिइनँ । पितासमानको व्यक्तिलाई अस्वीकार्य व्यवहार गरेकामा क्षमायाचना गर्छु ।”
भावुक हुँदै तिनले पटक–पटक क्षमायाचना गर्न थाले । तिनले व्यक्त गरेको सदाचारको भावनाले म आफैँलाई गल्ती गरेको महसुस भयो । मैले तिनलाई सम्झाउन थालेँ, “म पनि रिसाउनु हुँदैन थियो । त्यसकारण हामी दुवैले गल्ती गर्यौँ । गल्ती बराबरी भयो ।
तेह्र घण्टाभन्दा लामो यात्रा अवधिमा तिनले गरेको व्यवहार मेरा निमित्त नौलो थियो ।
आफ्नो मुलुकमा कैयौँपटक सार्वजनिक बसमा सवार गर्दा नाती उमेरका सहचालक (कन्डक्टर), बैंकमा पेट कसेर जम्मा गरेको कमाइ लिन जाँदा नातिनी समानका टेलरले, अस्पतालमा डाक्टरसँग समय लिन जाँदा रिसेप्सनिस्ट/नर्सले, अनि कुनै सरकारी कार्यालयमा काम परेर जाँदा कर्मचारीका अनावश्यक दुर्व्यवहारका भुक्तभोगी मेरा निमित्त उक्त पुरुष सहचारीको शिष्टाचार अद्वितीय नै थियो । मेरो रिस–रागको मात्र अन्त्य भएको होइन कि तिनको व्यवहारले मलाई पानी पानी तुल्यायो ।
स्कुले जीवनको सुरुवातमै बुबाले मलाई एउटा पुस्तक थमाउँदै भन्नुभएको थियो, “यो राम्रोसँग पढ् ।” पुस्तकका लेखक हुनुहुन्थ्यो, कुपण्डोल निवासी बुबाकै समकालीन मित्र एवं गोरखापत्र दैनिकको सम्पादक स्वर्गीय रामराज पौडेल । पुस्तकको शीर्षक थियो, “सदाचार” । धेरै लामो अवधिसम्म बुबाले सोध्ने गर्नुहुन्थ्यो, “तैँले रामराजको किताब पढेँ भन्छस्, त्यहीअनुरूप आचरण गर्ने गरेको छ कि छैन ?’’
आजकल समाजमा “अर्कोले गर्न हुने मैले किन नहुने ?” त्यसैगरी “गल्ती भयो त भयो” अथवा “बोल्न नै हुँदैन” जस्ता कथनहरू खुबै सुनिने गर्छन् । त्यस्ता अभिव्यक्तिहरू सुन्दा लाग्छ, अशिष्ट व्यवहार सहनुपर्ने कालखण्ड आएछ । सदाचार समाजबाट लोप हुँदै गरेको अनुभूति हुन्छ । अशिष्ट व्यवहार भोग्नुपर्दा होस् अथवा साक्षी हुँदा नै किन नहोस् दिमागमा झट्ट आइहाल्छ स्वर्गीय रामराज पौडेल लिखित पुस्तक “सदाचार” । दुर्भाग्य, उक्त पुस्तक बजारमा मात्र होइन, प्रमुख पुस्तकालयहरूमा समेत पाइँदैन ।
प्रत्येक व्यक्तिले अर्को व्यक्तिसँग सम्मानजनक व्यवहार गर्नैपर्छ भन्ने त छैन । आदर–सम्मान नितान्त आर्जने गुण हुन् । तर, शिष्ट व्यवहार सबैले सबैलाई गर्नुपर्ने नै हो । अशिष्ट व्यवहार जो सुकैका लागि पनि सह्य हुँदैन । उमेर घटकिन थालेपछि आदर–सम्मान सबैले खोज्दैनन्, तर अनादर गरेको स्वीकार्य हुँदैन । शिष्टाचार तीव्र गतिमा लोप हुँदै जाँदा सामाजिक अनुशासनका पर्खालहरू पनि भताभुङ्ग हुँदै छन् । शिष्टाचार तथा अनुशासनविहीन समाजले प्रगति गर्दैन ।
प्रसंग, पाटन कलेजमा बर्सेनि भानु जयन्ती मनाउने प्रचलनको हो । उक्त कार्यक्रम भव्यताका साथ आयोजना गर्ने जिम्मा विद्यार्थी युनियनको हुन्थ्यो । कार्यक्रमलाई सफल तुल्याउन कलेज प्रशासनले विद्यार्थी प्रतिनिधिलाई भरपुर सहयोग गर्थे ।
२०२६ सालमा भानु जयन्ती मनाउने निर्णय भयो । कलेजका प्रिन्सिपल स्वर्गीय मंगलराज जोशीको प्रस्तावमा रोयल नेपाल एकेडेमीका उपकुलपति बालकृष्ण समलाई प्रमुख अतिथि वक्ता तोकियो । सार्वजनिक हुन नरुचाउने समज्यूलाई निमन्त्रणा दिन प्रिन्सिपल साहेब र म पाटन ढोकाबाट बस चढेर कमलादी पुग्यौँ । मंगलराज सरको विनम्र अनुरोधपछि समले भन्नुभयो, “आफ्नै ज्योतिषी र विद्यार्थी नेताले अनुरोध गरेपछि कसरी अस्वीकार गर्नू ?’’ बहुचर्चित सुप्रख्यात साहित्यकार तथा विचारकले प्रमुख अतिथिको निमन्त्रणा स्वीकार्नुभयो ।
कार्यक्रममा दुई घण्टा भन्दा लामो सम्बोधनका क्रममा प्रमुख अतिथि समले भानुभक्तका विषयमा न्यून चर्चा गर्नुभयो । अत्यधिक समय उहाँले अनुशासनको महत्त्वको विस्तृत व्याख्या गर्नुभयो ।
इतिहासमा सुगौली सन्धि गरेर नेपालले ठूलो भू–भाग सदाका निमित्त गुमाउनुको प्रमुख कारण अनुशासनको अभाव भन्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री भीमसेन थापाको आदेशको पालना उहाँभन्दा उमेरले पाका नेपाली जनरलहरूले गरिदिएको भए देशले १/३ भूमि गुमाउनुपर्ने थिएन भन्ने उहाँको तर्क थियो । इतिहासलाई दोहोरिन नदिन उहाँले विद्यार्थीलाई अनुशासित हुन आग्रह गर्नुभएको थियो ।
मेरो सम्झनामा रहेसम्म स्कुले जीवनमा भूगोल विषय अध्यापन गर्दा नेपाललाई ‘एसियाको स्विट्जरल्यान्ड’को उपाधि दिइएको थियो । स्विट्जरल्यान्डको भौगोलिक अवस्थासँग दाँजेर नेपाल पनि त्यति नै सुन्दर राष्ट्र भनी वर्णन गर्नु पर्थ्यो ।
उक्त भनाइको सुरुवात भूगोल विषयका प्राध्यापक शरणहरिले गर्नुभएको जस्तो लाग्छ । प्रथम जनआन्दोलन सफल भएपछि राष्ट्रलाई स्विट्जरल्यान्डजस्तो सम्पन्न तुल्याउने प्रतिबद्धता नेताहरूले गर्न थाले । शन्त नेता कृष्णप्रसाद भट्टराईले भने सिंगापुरले जस्तै उन्नत राष्ट्र निर्माण गर्ने प्रण गर्नुभएको थियो ।
वर्तमान कालखण्डमा नेताहरूलाई धिकार्ने क्रममा ‘स्विट्जरल्यान्ड तथा सिंगापुर’को सपना देखाउने भनेको सुनिन्छ । नैराश्यमय राष्ट्रमा आर्थिक हिसाबले ती दुई राष्ट्रले जस्तै गरेर नेपालले उन्नति गर्न सक्ला भन्ने विश्वास थोरैले मात्र गर्छौं ।
त्यसो त, ७०० वर्षअघि स्विस नागरिकले तिनको राष्ट्र वर्तमान कालखण्डको जस्तो विश्वकै उदाहरणीय राष्ट्र होला भनी सायदै सोचेका हुँदा हुन् । त्यस कालखण्डमा जो कोहीले पनि स्विसलाई “प्रकृतिको वरदानजस्तो सुन्दर राष्ट्रका तिमी नागरिकहरू विश्वकै सबैभन्दा सम्पन कहलिने छौँ” खिल्ली उडायो भनी लखेट्दा हुन् ।
त्यसैगरी, ६ दशकअघि सिंगापुर निवासीलाई पनि “तिमीहरूकै जीवनकालमा सिंगापुर सम्पन्न राष्ट्रमा परिणत हुन्छ” भन्यो भने सायद तिनले “स्विट्जरल्यान्ड कुरा नगर” भन्थे होला । भौगोलिक दृष्टिले प्राकृतिक सौन्दर्य भरिपूर्ण स्विट्जरल्यान्ड र नेपालबीच धेरै समानता छन् । त्यसको दाँजोमा सिंगापुरसँग सायदै केही छन् ।
यदि नागरिकको जीवनस्तरलाई विकासको मापदण्ड मान्ने हो भने तिनीहरूले प्रदर्शन गर्ने आचरणले अत्यधिक महत्त्व राख्छ । स्विसहरू अत्यन्त संवेदनशील हुने गर्छन्, एक–अर्काको सामाजिक सम्बन्धका विषयमा । आफूले गरेको कार्यले अर्कोलाई भौतिक मात्र होइन, मानसिक आघात पुग्ला भनी अधिकांश स्विस हर्दम सजग रहन्छन् ।
रुखो स्वभावका स्विसहरू अत्यन्त सहयोगी हुने गर्छन् । सिंगापुरका नागरिकहरूमा स्विसहरूको जस्तै व्यक्तिगत व्यवहारमा संवेदनशीलता पाइँदैन । सदाचारी भाव भने प्रचूर मात्रामा पाइन्छ । दुवै राष्ट्रका नागरिकमा पाइने अर्को गुण हो, अनुशासन । सदियौँदेखि कायम गरिएको हुनाले हुन सक्छ, स्विसहरू स्वभावले नै अत्यन्त अनुशासित हुन्छन् । सिंगापुरमा राज्यले नागरिकलाई अनुशासन पालना गर्न बाध्य तुल्याउँदै आएको छ । दुवै राष्ट्रका नागरिक सदाचारी तथा अनुशासित हुन्छन् ।
अचेल रामराज पौडेल लिखित पुस्तक पाइँदैन । स्कुलले विद्यार्थीलाई सदाचार सिकाउँछ या सिकाउँदैन मलाई थाहा छैन । त्यसैगरी, देशमा समकालीन विचारकले अनुशासनको महत्त्व विषयमा चर्चा गरेको सुनिँदैन ।
जुन प्रकारले समाज अघि बढदै छ, त्यसलाई आत्मसात् गर्ने हो भने यी दुवै गुणहरू लोपोन्मुख हुँदै गरेको पाइन्छ । यदि स्विट्जरल्यान्ड तथा सिंगापुरले जस्तै उन्नति गर्ने हो भने हामी नेपालीले पनि चरित्रमा देखिने सदाचारको बहाली आवश्यक छ । त्यसैगरी, यदि ती दुवै राष्ट्रबाट मात्र होइन, आफ्नै इतिहासबाट पाठ सिक्ने हो भने मौलाउँदै गरेको अनुशासनहीनतालाई रोक्नु नै पर्छ । चाहे त्यो सिंगापुरले गरेजस्तो किन नहोस् ।