site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्याराग्लाइडिङ बन्दमा जोडियो ईयूको हवाई सुरक्षा प्रतिवेदन
SkywellSkywell

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ वटा स्वर्णपदक होल्ड गर्ने प्याराग्लाइडिङ खेल गत आइतबारको दुर्घटनापछि अनिर्णित बनेको छ । दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशैभर अनिश्चितकालका लागि प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।

क्यानको निर्णयप्रति राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङदेखि प्याराग्लाइडिङ सम्बद्ध निजी व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको क्यान र युवा तथा खेलकुद मन्त्रालय मातहतको राखेपबिच असमञ्जसको स्थिति पैदा हुँदा प्याराग्लाइडिङबारे दुई विभागीय मन्त्रालय आमनेसामने भएका छन् । मंगलबार पनि प्याराग्लाइडिङ खेलबारे कुनै थप निर्णय हुन सकेन ।

Dabur Nepal
NIC Asia

यही अनिश्चयका बिच प्याराग्लाइडिङ खेलमा अब नेपाली आकाशको हवाई सुरक्षा प्रतिवेदन पनि जोडिन पुगेको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे इरोपिएन युनियन (ईयू)अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (ईयासा)ले तीन दिनको अडिटपछि नेपालको समग्र हवाई सुरक्षाबारे गत असोज २१ देखि २३ गतेसम्म अडिट गरेको थियो ।

तीन सदस्यीय टोलीले गरेको उक्त अडिट कात्तिक ११ गते नेपाललाई बुझाउने कार्यक्रम छ । उक्त प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले जवाफ दिनेछ ।

ईयूले नेपाली आकाशलाई विगत १० वर्षदेखि ‘कालो सूची’मा राखेको छ । जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् । तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउने गरेका छन् ।

नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आईकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो ।

ईयुले नेपाली आकाशलाई उड्डयन सुरक्षा सूचीबाट हटाउन यो प्रतिवेदन महत्त्वपूर्ण रहेको क्यानका पदाधिकारीले बताउँदै आएका छन् ।

अडिट भएको र प्रतिवेदन आइनसकेको अवस्थामा गत सोमबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल आर्मीका खेलाडी निसिम थापाको ज्यान गएको थियो ।

अर्कातर्फ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको र उडान सुरु भएपछि सराङकोटबाट उडान भर्ने प्याराग्लाइडिङ व्यवसायलाई जनवरी १ भित्रै विकल्प खोज्न भनेर क्यानले यसअघि नै पत्राचार गरिसकेको छ ।

प्राधिकरणले बाँकी रहेका बाह्य काम सकिएमा आगामी जनवरी १ बाटै यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ ।

नेपाली आकाश सुरक्षासूचीबाट हट्ने, पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने र उडानमा बाधक देखिएको प्याराग्लाइडिङलाई विकल्प खोज्न भनेर मिति तोकिदिँदा आइतबारको घटनापछि प्याराग्लाइडिङ अकस्मात बन्द गर्ने क्यानको निर्णय पनि हवाई सुरक्षाको प्रतिवेदनसँग जोडिने एक पदाधिकारी बताउँछन् ।

प्याराग्लाइडिङ प्रतियोगिता नै अन्योलमा परेपछि यसकै बारेमा छलफल गर्न भनेर नेपाल प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउत तथा नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारी काठमाडौं पुगेका छन् ।

उनीहरूले क्यानका महानिर्देशक प्रदिप अधिकारीसँग छलफल गर्ने र प्रतियोगिता तथा समग्र प्याराग्लाइडिङबारे छलफलको माध्यमबाट खोजिने बताएका छन् ।

महासचिव राउत भन्छन्, “भोलि ११ बजे महानिर्देशकसहित बैठक बस्नेछौँ । सबैको जित हुनेगरी निकास निस्किनेमा आशावादी छौँ ।”

उनका अनुसार एक दुई दिनभित्रै प्याराग्लाइडिङ उडानको सम्भावना भने छैन । क्यानका पदाधिकारीले नेपाली आकाशको हवाई सुरक्षाबारेमा अडिट गरेका हुँदा थप दुर्घटना हुन नदिने मनसाय व्यक्त गरेको उनले बताए ।

“उहाँहरूको कुरा बुझ्दा ईयूको टोलीले भर्खरै अडिट गरेको रहेछ । नेपालको हवाई सुरक्षालाई ब्ल्याक लिस्टबाट हटाउने कुरा भएको छ । थप दुर्घटना क्षति हुन नदिऊँ । तपाईंहरू विचार गर्नुहोस्, हामीले पनि गर्छौं भन्नुभएको छ ।” राउतले भने, “एक दुईवटा मापदण्ड अपनाउने र सुरक्षाका विषयमा छलफल हुन्छ ।”

क्यानले जतिसक्दो सेफ्टी मेजर अपनाउन जोड दिएको उनले बताए ।

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले नियामक निकाय नै क्यान रहेको हुँदा महानिर्देशकलाई भेट्ने र निकास खोजिने बताए ।

“क्यान नियामक निकाय हो । क्यानले गाँठो फुकाउला । भएन भने अब मन्त्रीज्यूसँग नै जाने होला,” उनले भने ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला भने प्याराग्लाइडिङ रोकिनुमा हवाई सुरक्षाको प्रतिवेदन जोडिएको स्वीकार गर्दैनन् ।

“ईयू, आईकाओलाई फरक पार्दैन, पोखरामा विमानस्थल सञ्चालन गर्दा चाहिँ डिस्टर्ब हुन्छ भनेर सार्ने भनिएको छ । तर, सोमबारको दुर्घटनाको कारणले चाहिँ होइन,” उनले भने, “यसमा केही कमजोरीहरू छन कि भनेर अध्ययन गर्नका लागि हो ।”

बुधबार महानिर्देशकसँग हुने छलफलपछि थप निर्णय हुने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu