site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एफवानसफ्ट कान्ड– ‘मुख्य ठग’ पत्ता लागेन, २४ जनाविरुद्ध मुद्दा

काठमाडौं । एफवानसफ्ट इन्टरनेसनलको रकम ठगी भएको विषयमा प्रहरीले विद्युतीय माध्यमबाट ठगीसम्बन्धी मुद्दा दर्ता गराएको छ ।  नेपाल प्रहरीको साइबर ब्युरोले गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा काठमाडौंमा अभियोगपत्र दायर गरेको हो ।

अभियोगपत्रले काठमाडौंको दरबारमार्गस्थित सिटिजन्स बैंकमा रहेको खाताबाट एफवानसफ्टको ३ करोड ३९ लाख ५० हजार ३७२ रुपैयाँ ९० पैसा ठगी गरेर अन्तै रकमान्तर भएको पुष्टि गरेको छ । 

एफवानसफ्टले थप १२ लाख पनि रकमान्तर भएको भनेर कुल ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ९० पैसा रकमान्तर भएको उजुरी साइबर ब्युरोमा हालेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त रकम सन् २०२४ को अक्टोबर १, २, ३ र अक्टोबर ४ मा २४ जनाको खातामा ट्रान्सफर भएको पाइएको छ । 

रकमान्तर भएका ती २४ जनालाई प्रतिवादी बनाउँदै साइबर ब्युरोले मुद्दा दर्ता गरेको हो ।

मध्यस्थकर्ता प्रतिवादी

सिटिजन्स बैंकमा रहेको एफवानसफ्टको खाताको एडमिनबाटै उक्त रकम यी २४ जना प्रतिवादीको खातामा ट्रान्सफर भएको साइबर ब्युरोको अनुसन्धानले देखाएको छ । यी २४ जना यो ठगीमा मध्यस्थकर्ता बनेका छन् । 

उनीहरूको खातामा पैसा हालिएबापत र त्यो पैसा ट्रान्सफर गरिदिएबापत उनीहरूलाई केही हजार रकम दिइएको अभियोगपत्रमा उल्लेख छ । 

२४ प्रतिवादीमध्ये नौ जनालाई साइबर ब्युरोले पक्राउ गरेर बयान लिइसकेको छ भने, बाँकी १५ जनाका लागि पक्राउ पुर्जी माग गरेको छ । उनीहरूलाई पक्राउ गरेपछि पनि थप विवरण पत्ता लाग्ने ठानिएको छ ।

नौजना प्रतिवादीले आफ्नो खातामा पैसा आएको र अर्काे खातामा ट्रान्सफर गर्न भनिएको बताउँदै त्यसैअनुसार काम गरेको बताएका छन् । उनीहरूलाई यो निर्देशन म्यासेजिङ एप टेलिग्रामबाट मिलेको छ । 

उनीहरूमध्ये केहीले फेसबुकमा देखेको रोजगारीसम्बन्धी विज्ञापनबाट, कसैले साथीले भनेका आधारमा त कसैले आफैँले टेलिग्राम चलाइरहेको बताएका छन् । अपरिचित प्रयोगकर्ताले टेलिग्राममा उनीहरूको खाता नम्बर मागेर त्यसमा पैसा पठाएको छ । त्यसपछि निश्चित रकम राख्न लगाएर बाँकी अर्काे खाता नम्बर वा क्यूआर दिएर त्यसमा ट्रान्सफर गर्न लगाएको छ ।

आफूहरूले जागिर पाउने भनेपछि वा केही रकम पाउने लोभमा परेर यस्तो मध्यस्थकर्ताको काम गरेको प्रतिवादीहरूको बयान छ ।

मुख्य ठग फेला परेन

साइबर ब्युरोका अनुसार सिटिजन्स बैंकमा रहेको एफवानसफ्टको खाताको सञ्चालनमा रहेकै एडमिन अथवा युजरनेम र पासवोर्ड प्रयोग गरी २४ जनाको खातामा रकमान्तर भएको छ ।

एडमिनको पहुँच पाएर रकम ट्रान्सफर गर्ने मुख्य ठग को हो भनेर पत्ता नलागेको साइबर ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपकराज अवस्थीले बताएका छन् । त्यसरी पैसा ट्रान्सफर गर्न प्रयोग भएको डिभाइसको आईपी एड्रेस बेलायतको देखिएको उनले बताए ।

“मुख्य ठग पत्ता लागेको छैन । पैसा ट्रान्सफर गर्नेको आईपी एड्रेस युकेको देखिएको छ, अब त्यो भीपीएन प्रयोग गरेको थियो वा टोर प्रयोग गरेको लगायत कुरा थप अनुसन्धानपछि थाहा होला,” प्रवक्ता अवस्थीले भने ।

ठगी भएको रकम कहाँ पुग्यो ?

सुरुमा यी २४ वटा खातामा हालिएको पैसा त्यसपछि अन्य बैंक तथा वालेटका दर्जनौँ खाता हुँदै ट्रान्सफर भएको छ । यो साइबर ब्युरोले भ्याएजतिका खाता ट्र्याक गरी खाता रोक्का गर्न लगाएको जनाएको छ । ठगीको पैसा विदेशमा समेत पुगेको हुनसक्ने ब्युरोको आशंका छ ।

“पुरानै तरिकाले सयौ खाता ट्र्याक गरी रोक्का गर्न कठिनाइ छ । अहिले रोक्का भएका र थप खाता ट्र्याक गरेपछि मात्रै पैसा सबै यहीँ छ वा बाहिर गयो भन्ने थाहा हुन्छ र यमसा समय लाग्छ,” ब्युरोका प्रवक्ता अवस्थीले भने ।

ब्युरोले रकमान्तर भएको पहिलो लेयर अर्थात् २४ जना र दोस्रो लेयरका खातामा रोक्का गरिएको रकमसहित पीडित एफवानसफ्टलाई दिलाई, भराई माग्न माग गरेको छ । प्रतिवादीहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै सजाय एवं ठगी गरिएको रकम भुक्तानीका लागि माग दाबी गरेको छ ।

बढ्दो ठगी

एफवानसफ्ट एउटा उदाहरण मात्रै भएको र यस्तो ठगी निरन्तर बढ्दै गएको साइबर ब्युरोले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि मोबाइल बैंकिङ एप तथा सिस्टम विकासकर्ता आफैँ भएका कारण एफवानसफ्टको यो ठगी बढी चर्चामा आएको छ ।

आमनागरिकले यसरी स्रोत नखुलेको एवं अपरिचित व्यक्तिले भनेकै आधारमा पैंसा प्राप्त गर्ने र एकअर्काको खातामा हाल्ने काम गर्दा ठगीमा संलग्न हुन पुगेको साइबर ब्युरोको भनाइ छ । ब्युरोले यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।

यस्ता ठगी रोक्न बैंक तथा वालेटका खाता बायोमेट्रिक विवरणका आधारमा खोलेर मात्रै सञ्चालनमा ल्याउन मिल्ने व्यवस्था गर्न आवश्यक देखिएको छ । ब्युरोका प्रहरी उपरीक्षक अवस्थीले ठगी रोक्न विभिन्न उपाय रहेको तर यसमा विभिन्न निकायले महत्त्वपूर्ण तरिकाले काम गर्न आवश्यक रहेको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro