पोखरा । नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशबीच जारी क्वाटरफाइनल खेल स्थगित भएको छ ।
क्वाटरफाइनलको तेश्रो खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिम एपीएफका खेलाडी रुपिन्द्र गैह्रे घाइते हुन पुगे । उनको खुट्टाको एंकल समस्या देखिएपछि उनलाई थप उपचारको लागि अस्पताल पठाइएको छ ।
त्यसलगत्तै, लुम्बिनीले खेल ५–५ को स्थितिमा पुर्यायो । बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए । उनको पनि एंकलमा नै चोट लागेको छ । लगत्तै एपिएफका टेकराज अवस्थी पनि घाइते हुन पुगे ।
लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल स्थगित भएको छ । दर्शकहरु र खेलाडीकै विरोधपछि बाँकी खेल म्याट झिकेर खेलाइने भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल खेल पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् ।
प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठक उनका अनुसार भलिबलका लागि भनेर ल्याइएको म्याट सेपाकताक्रो खेलको लागि नवलपुर पुगेको छ । उनले भने, “म्याट पुरानो भयो, फेर्नुहोस भनेर उहिलेदेखि भनेका हौँ । तर, उहाँहरुले सुन्नुभएन ।”
नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको थियो ।
यसअघि पनि भलिबलका तीन खेलाडी घाइते भइसकेका थिए । उद्घाटनको दिन गण्डकी र वाग्मतीबीचको खेलमा गण्डकीका प्रेम कुमालको खुट्टा नै भाँचिएको छ । त्यसबाहेक लुम्बिनीकै चिरञ्जीवी खड्का र एपीएफकै हेमन्त मल्ल घाइते भएका थिए । मल्ल अहिले ठिक भइसकेका छन् ।
भलिबल लुम्बिनी प्रदेशका क्याप्टेन लोकेन्द्र भण्डारीले भने, “हामीले पहिलो दिनदेखि नै भन्दै आएका हौँ, म्याट भएन भनेर । यसको काम नै छैन । राखेपले यस्तो लापरवाही गर्न हुँदैनथ्यो । न म्याट छ, न खेलाडीको इन्स्योरेन्स छ ।”
खेलाडी घाइते भएपछि आफूहरुले नै म्याटको सट्टा खाली ग्राउन्डमा खेल्न भनेको उनले बताए । भने, “हामीले त बरु म्याट नै निकालेर खेलौँ भनेका छौँ । राष्ट्रिय खेलकुद भन्यो हालत यस्तो छ, उपचार पनि अब आफै गर्नुपर्छ ।”
अर्का घाइते खेलाडी रुपिन्द्रले राष्ट्रिय खेलकुद भने पनि घाइते भएपछि उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताए । “यहाँ आइसले सेकेको छ, एंकलको चोट त अर्थोपेडिकलाई नै देखाउनुपर्छ,” उनले भने, “खर्च पनि हामीले नै व्यहोर्नुपर्छ ।”
भलिबल संघका महासचिव रोशन श्रेष्ठले म्याट फेरेर खाली ग्राउन्डमा बाँकी खेल खेलाइने बताए । खाली ग्राउन्डमा गेम खेलाइने भएपछि लाइनका लागि चुना र रिबन ल्याउने र बाँकी खेल खेलाउने तयारी गरिएको छ ।
भलिबलका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा भलिबल संघ गण्डकीका महासचिव टहलसिंह थापाले खाली ग्राउन्डमा नै बाँकी प्रतियोगिता हुने बताए ।