site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्याराग्लाइडिङ बन्द : दुई मन्त्रालय आमनेसामने
SkywellSkywell

पोखरा । नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेसँगै त्यसको विरोध र आलोचना सुरु भएको छ ।

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेलमा सहभागी त्रिभुवन आर्मीका निसिम थापाको दुर्घटनामा परि आइतबार ज्यान गएको थियो ।

दुर्घटनालगत्तै क्यानले देशभर नै अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा नै रोक लगाएको छ ।

Dabur Nepal
NIC Asia

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले 'अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको' बताएका थिए ।

दुर्घटनापछि आइतबार प्याराग्लाइडिङतर्फका सबै खेलहरू स्थगित गर्ने निर्णय पनि भइसकेको थियो । आइतबार खेल बन्द गरेपनि बाँकी खेल अन्य दिन सञ्चालन गर्ने विषयमा छलफल हुन नपाउँदै क्यानले प्रतिबन्धात्मक निर्णय गरेको हो ।

उक्त निर्णयपछि प्याराग्लाइडिङका बाँकी खेल अन्योलमा परेका छन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक प्याराग्लाइडिङ समावेश गरिएको थियो । नवौँमा यसले निरन्तरता पाए पनि खेलहरू सकिएका छैनन् ।

क्यानको निर्णयपछि चाहिँ क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी इभेन्टतर्फका खेल अब के हुन्छन भन्नेमा दुई मन्त्रालय जोडिन पुगेका छन् ।

राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङलाई पनि समावेश गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो । सोही अनुसार प्रतियोगिता २९ गतेबाट प्रतियोगिता सुरु भएको थियो भने मंगलबारसम्म पदकको छिनोफानो भइसक्ने थियो ।

खेलकै क्रममा खेलाडीको निधनपछि अब बाँकी खेल खेलाउने वा नखेलाउने भन्ने विषयको टुंगो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहमतिपछि मात्रै टुंगो लाग्नेछ ।

क्यानले दुर्घटनापछि आफ्नो अधिकार क्षेत्र भन्दै अनिश्चितकालका लागि प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको प्याराग्लाइडिङ खेलसम्बद्ध निकाय र संस्थाहरूले विरोध गरेका छन् भने निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।

नेपाल ह्याङग्लाइडिङ एन्ड प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र राउतले क्यानको निर्णय पुनर्विचार गर्न र बाँकी इभेन्ट सञ्चालन गर्न भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका छन् ।

सदस्यसचिवसँगको भेटबारे बोल्दै राउतले भने, “सदस्यसचिवसँग बैठक गर्‍यौँ । उहाँहरूले अब के गर्ने भनेर सोध्नुभयो । हामीले क्रसकन्ट्री रिस्की भए पनि अक्युरेसी चाहिँ कम रिस्कको गेम हो भनेर भन्यौँ । भोलि एकदिन रेस्ट गरेर पर्सिबाट चाहिँ बाँकी गेम खेलाउन सकिन्छ, यसमा रेफ्रीहरू पनि तयार हुनुहुन्छ भनेर भन्यौँ ।”

सदस्यसचिव घिसिङ यसबारेमा सकारात्मक भएको उनले जानकारी दिए ।

“उहाँले क्यानको अप्रत्यासित निर्णयबारे आफ्नो विभागीय मन्त्रीसँग कुरा राखेर पर्यटमन्त्रीसँग कुरा गर्ने भन्नुभएको छ । हतारमा गलत रिपोर्टिङले त्यस्तो निर्णय भयो भन्नेबारेमा उहाँ आफू पनि कन्भिन्स हुनुहुन्छ,” राउतले भने, “क्रसकन्ट्रीका खेल नखेलाउने, पहिलो दिन भएको खेलको आधारमा जजहरू बसेर त्यसलाई नै अन्तिम रूप दिने भन्नेबारेमा छलफल भएको छ ।”

राउतका अनुसार अक्युरेसीका बाँकी इभेन्ट चाहिँ हुनेछन् ।

उनी भन्छन्, “हामीले राखेपले पहल गरोस् भनेर भनेका छौँ । उहाँ सकरात्मक हुनुहुन्छ । हुन्छ, म कुरा गर्छु भन्नुभएको छ, गेम नरोक्नेमा उहाँ पनि सहमत हुनुभएको छ ।”

यता राखेप सदस्यसचिव घिसिङले पनि बैठक भएको र आफूले एकपटक क्यानको निर्णयबारे छलफल गर्ने बताए । 

“राखेप र संघबिच छलफल भएको हो । बाँकी खेल सञ्चालन हुनुपर्छ भनेर म कहाँ आउनुभएको थिया । यो खेल क्याबिनेटबाट डिसिजन भएको हो । त्यसकारणले सरकारको मातहत रहेको अर्को निकायले एउटा निर्णय गर्‍यो,” उनले भने,  “त्यो निर्णय वस्तुपरक थियो, थिएन आफ्नो ठाउँमा होला । उहाँहरूको निर्णयसहित सम्बन्धित निकायको नियमक मन्त्रालयसँग मेरो संवाद भइराखेको र गर्नेगरि मैले सोचेको छु ।”

मंगलबार नै विभागीय मन्त्री महेश्वर गहतराजसँग कुराकानी गरि पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग छलफल हुने र क्यानको निर्णयबारे पुनर्विचार हुनसक्ने उनले संकेत गरे ।

“उहाँहरूले बाँकी खेल खेलाऔँ, दुर्घटना चाहिँ मानिसको वशबाहिरको कुरा हो । खेलमा दुर्घटनाहरू पनि हुन्छन । यसमा हाम्रो गहिरो दु:ख छ, तर खेल नै रोकिने भन्ने चाहिँ हुँदैन भन्नुभएको छ । यसबारेमा मैले छलफल गर्ने सोचेको छु । त्यसपछि उहाँहरूको निर्णयमा केही पुनर्विचार होला,” उनले भने ।

संघका महासचिव राउतसहित प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले पनि क्यानको निर्णयलाई अप्रत्यासित भनेका छन् ।

निजी व्यवसायीहरूको सहयोगकै कारण अघिल्लो प्रतियोगितामार्फत देशको गरिमा राख्ने काम प्याराग्लाइडिङले गरे पनि क्यानको निर्णयले चाहिँ व्यवसायीहरू नै मारमा पर्ने उनी बताउँछन् ।

“उडान बन्द गर्ने निर्णय बेठिक हो । खेल खेल्ने क्रममा दु:खद दुर्घटना भयो । नहुन पर्ने भयो । तर, घटना घटिसकेपछि सबै उडान बन्द गर्नुपर्छ भन्नु भनेको त्यसको अन्त गर भनेजस्तो भएन र ?,” उनको प्रश्न छ ।

उनीपनि सदस्यसचिव घिसिङसँगको छलफलमा सहभागी थिए ।

“उहाँले हतासको निर्णय भयो, हाम्रो मन्त्रालयमार्फत पर्यटनमन्त्रालयबाट निर्णय सच्याउँछौँ भन्नुभएको छ,” उनले भने ।

बुधबारबाट खेल सुरु हुने उनको पनि भनाइ छ ।

प्याराग्लाइडिङभित्र खेल र व्यवसाय दुवै हुने भएकोले खेलमा दुर्घटना हुँदा त्यसलाई सुरक्षित गर्नेतर्फ राखेपले ध्यान दिनुपर्नेमा प्राधिकरणले व्यवसायलाई हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । 

“थप अनुसन्धान गर्न केहीदिन कुनै ठाउँमा रोक्नु फरक कुरा हो, तर, यहाँ देशैभर उडान रोकिएको छ, यो राम्रो होइन,” उनले भने ।

यता क्यानका प्रवक्ता जगन्नाथ निरौला चाहिँ प्याराग्लाइडिङका बाँकी खेलको सम्भावना तत्काल नरहेको बताउँछन् ।
“अनियन्त्रित छाडेर मान्छे मार्दै जाने, अनि हामी हेर्दै जाने ?,” उनले प्रश्न गरे ।

तर, दुर्घटना यसअगाडि पनि भएका थिए नि ? भन्ने प्रश्नमा उनी भन्छन्, “हो, दोहोरिरहेका छन् । मूकदर्शक बसेर हेर्नुभएन नि त, हामीले । हिजो घटना घटेर रोक्ने निर्णय हुनुमा संयोगमात्रै हो । यसअगाडि पनि हामीले आन्तरिक छलफल, तयारी गरिरहेकै थियौँ । कसरी नियन्त्रणमा ल्याउने, व्यवस्थित गर्ने भन्नेबारेमा छलफल भएका थिए ।”

अब अध्ययन गरेर मात्र अगाडि बढ्ने उनको भनाइ छ । “तपाईं हाम्रो मान्छे परेको छैन होला । तर, आफ्ना मान्छे पर्नेहरूलाई त पुस्तौँसम्म पिरोल्छ नि !,” उनले भने, “तत्कालका लागि प्याराग्लाइडिङ हुने कुनै सम्भावना छैन । रोक्का गर्ने भन्ने त प्राधिकरणले गरेको निर्णय हो । यसमा रहेका कमीकमजोरीको अध्ययन गरेर के गर्दा उपयुक्त हुन्छ, सो अनुसार अगाडि बढ्छौँ ।”

हवाइ खेलका क्षेत्रमा रहेका कमजोरीबारे उडान रोक्ने, यसमा देखिएका कमजोरी केलाउने, नियम कानुनमा कमजोरी देखिए त्यसलाई पनि परिमार्जन गर्ने र रिभ्यू गर्ने, रिभ्यूपछि मात्रै निर्णय हुनसक्ने उनले बताए ।

यसमा अर्को पनि मन्त्रालय जोडिएको छ नि भन्ने जिज्ञासामा उनले भने, “अर्को थप निर्णय भइसकेको छैन । भयो भने पछि नै थाहा होला ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu