पोखरा । नेपाली खेलकुद इतिहासमा प्याराग्लाइडिङ ०७५ मा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक समावेश भएको थियो । पहिलो प्रतिस्पर्धाबाटै २३ वर्षीय (अहिले २५ वर्षीय) निसिम थापाले नेपाली आर्मीबाट क्रसकन्ट्री समूह इभेन्टमा रजत जिते ।
कलिलो उमेरमा विभागीय टिमबाट खेलेर रजत जित्दै गर्दा उनको लक्ष्य थियो, अर्को राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिने र स्वर्ण जित्ने ।
पछिल्लो दशकदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका थापाको तयारी पनि सोही अनुसार नै थियो । टेन्डम देखि सोलो उडानमा उनी पोख्त थिए ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा भयो, प्याराग्लाइडिङ पनि समावेश भयो । आफूलाई तयार पारेका निसिम यसपटक स्वर्णका लागि पोखरेली आकाशमा उडान भर्न आफूलाई तयार गर्दै थिए । प्रतियोगितामा सहभागी विभागीय टिम नेपाल आर्मीले यसपटक पनि उनलाई अनुबन्ध गर्यो ।
क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश गरिएका थिए । यही विधामध्ये क्रसकन्ट्रीतर्फको उडानका लागि उनले ग्लाइडर तयार गरे । अनुभव र उत्साहका साथ आइतबार मध्यान्हमा खुलेको आकाशमा उनी देशको लागि खेल्दै थिए । ग्लाइडर तयार गरे, उडान भरे र आकासिन खोजे ।
सराङकोटको डाँडाबाट धर्ती छाडेर उनी करिब १०० मिटरसम्म पुगेका थिए, उनको ग्लाइडर खुलेन । र, आकाशमा उडेका थापा जमिनको नजिकै आए र बजारिन पुगे ।
“हाम्रो भाषामा अटोरोटेसन भन्छ । कोल्याप्स भनिन्छ । त्यसलाई कभर गर्दागर्दै अटो हुन पुग्यो, अनि रोटेट भएर क्र्यास भयो । हावाको चाप नियन्त्रणमा लिन खोज्दाखोज्दै लो मा आाएछ । अनि जमिनमा शरीर ठोक्किन पुग्यो,” नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले भने ।
दुर्घटनाग्रस्त भएका थापालाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगियो । तर, टाउकोमा चोट लागेका थापालाई अस्पतालले मृत घोषणा गरिदियो ।
“क्रसकन्ट्रीका राम्रा प्लेयर हुन । विभिन्न प्रतियोगितामा भाग लिइरहन्थे । लामोदुरीका राम्रा पाइलट हुन । हामी बिहान पनि भेटेका थियौँ, बेस्ट अफ लक भनेर तल झर्यौँ, तर ब्याडलक हुन पुग्यो,” पहारीले भने ।
थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए । उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै हेर्दै थिए । प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पुरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे । उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए ।
तर, पोखरेली आकाशमा सिकेको प्याराग्लाइडिङ आइतबार उनका लागि अनुकूल भएन ।
राष्ट्रिय खेलकुदका इभेन्टहरू पिक आवरमा पुगेको बेला आइतबार पोखरेली आकाशले एउटा प्रतिभा गुमायो । प्याराग्लाइडिङ खेलाडीका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएका पाइलट निसिमले नेपालमा मात्र होइन, भारत, इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन पुगेका थिए । पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडाउँदै आएका निसिमले विभिन्न प्रतिष्पर्धामा माग लिएका छन् ।
नेपाली सेनाको मध्यकमान्ड हेर्डक्वाटरका पृतनापती बाबुराम श्रेष्ठले भने, “दुर्भाग्य भयो, पदकभन्दा ज्यान ठुलो थियो । उहाँ राम्रो खेलाडी हुनुहुन्थ्यो ।”
थापाले नै अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीकै तर्फबाट भाग लिएर रजत जितेका थिए ।
यसपटक पनि आर्मीले प्याराग्लाइडिङका सबै इभेन्टमा भाग लिएको थियो । “लक्ष्य सबै इभेन्टमा भएपनि उहाँले स्वर्ण जित्नेमा हामी विश्वस्त थियौँ,” कर्णेल मुनाल बस्नेतले भने ।
तर, थापा नै रहेनन् । देशले एउटा खेलाडी गुमायो, प्याराग्लाइडिङका सबै इभेन्ट रद्द भए । प्याराग्लाइडिङ नै अनिश्चितकालका लागि बन्द भएको छ ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत थापाका नजिकका साथी हुन्, असिम गुरुङ । असिमलाई निसमले शनिबार भेट्ने भन्दै थिए । तर, व्यस्तताले दुईजनाको भेट हुन सकेन । बिहानै जिममा भेटिरहने उनीहरू सानैदेखिका साथी हुन । कक्षा १२ दुवैले सँगै पढे ।
थापाले आफू प्याराग्लाइडिङमा आर्मीको तर्फबाट खेल्ने भनेर सुनाएका पनि थिए । त्यसकै तयारीमा व्यस्त होला भनेर उनले थापालाई शनिबार भेटेनन् ।
तर, आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रांगणमा उनका बाल्यकालीन साथी पोस्टमार्टम भवनमा थिए । अनि असिमचाहिँ आँखामा आँसु लिएर, त्यही भवन बाहिर ।
"हामीलाई सहयोग गर्थ्यो । विचरा उसको दाइ (दाइ पर्ने) पनि यस्तै प्याराग्लाइडिङ दुर्घटनामानै बितेका हुन् । यो पनि त्यस्तै भयो, मन नै कस्तो... ।”
उनको गला अवरुद्ध भयो । उनी बोल्दैगर्दा पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएका छोरालाई सम्झेर आमाले बिलौना गर्दै थिइन् ।
गोरखा पालुङटार जन्मिएका थापा आमाबुवाका एक्ला सन्तान हुन् । बाबु पोखरामै भएपनि आमा काठमाडौंमा थिइन् । बिहान साढे ११ बजे आकाशमा उडेका थापाको प्राण नफर्किने गरी उडिसक्दा आमालाई थाहा थिएन । प्रहरीले नै अस्पताल ल्याइसकेपछि बुवाले पनि थाहा पाए ।
थापाका बाबुआमा शिक्षण पृष्ठभूमिका हुन् ।
काठमाडौंमा रहेकी आमालाई नेपाली सेनाले हेलिकप्टरमा पोखरा ल्यायो । पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन् । सकिन् त मात्र रुन र भगवानलाई पुकार्न ।
निसमलाई त्यहाँबाट पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । बुबा सम्हालिँदै थिए, आमाले जसरी भएपनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोहिरँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो ।
पोस्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो । त्यसलाई अँगाल्दै आमाले भनिन, “छोरा भनेको मान्थ्यो, तर भगवानले एक सेकेन्ड सुनेनन्, भगवानले सुन्नुपर्थ्यो ।”
उनी अब रहेनन् । आकाशमा उड्ने उनको सपना, आकाशमै उडिगयो । उनी गए, आफ्ना सपना थाती राखेर, बुवाआमाको सपना थाती राखेर ।
प्याराग्लाइड खुम्चिएर खसेका थिए पाइलट निसिम
गण्डकी, वाग्ममती, प्रदेश–१ नेपाली सेना, सशस्त्र प्रहरी बलबाट ४/४ जना खेलाडी प्रतियोगितामा सहभागी थिए । कर्णाली प्रदेशबाट १ जना खेलाडी पनि प्याराग्लाडिङमा भाग लिएका थिए ।
प्याराग्लाइडिङमा जम्मा २५ जना खेलाडी सहभागी प्रतियोगितामा आइतबार निसिम आठौँ नम्बरमा आएका थिए । सोमबार र मंगलबार उडान सकेपछि प्याराग्लाइडिङको फाइनल हुन्थ्यो । रेफ्री सुरेनका अनुसार सबै खेलाडीको प्याराग्लाइडिङमा जिपिएस जडान गरिएको थियो । पाइलट उडेर कहाँसम्म पुग्ने जीपीएसमै प्वाइन्ट गरिएको थियो । खेलाडीका जीपीएस सिस्टममा राखेपछि रिजल्ट आउँथ्यो ।
प्रतियोगिताका क्रममा खेलाडीको निधन भएपछि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । तर राखेपले प्राधिकरणको कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।
यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए ।
उनको शव आइतबार पश्चिमाञ्चल अस्पतालमा नै पोस्टमार्टम गरेर राखिएको छ । सोमबार बिहान १० बजे रामघाटमा नेपाली सेनाको उपस्थितिमा परिवारले शवको अन्त्येष्टि गर्नेछ ।
अन्त्येष्टिमा उनलाई राष्ट्रिय सम्मान दिनका लागि छलफल भएपनि करारका खेलाडी भएका कारण सेनाको कार्यविधि अनुसार उक्त सम्मान भने दिन नमिल्ने पृतनापति बाबुराम श्रेष्ठले जानकारी दिए ।
थापाको निधन भएपछि म्याग्दीमा जारी महिला भलिबल खेलाडीदेखि उपस्थित दर्शक, पदाधिकारीहरूले शोक प्रकट गर्दै मौनधारण गरेका थिए ।