पोखरा । वर्षा सकिने बेला फेवाताल जहिले पनि जलकुम्भीले ढाकिन्छ । हरेक वर्ष सामाजिकसंस्थादेखि एनजीओ/आईएनजीओले मिलेर जलकुम्भी हटाउँछन् ।
जलकुम्भीबाट छुट्कारा पाउन प्रविधिको माध्यमबाट ताल सफा गर्ने भनेर महानगरको तत्कालीन नेतृत्वले २०७४ माघमा क्यानडाबाट झार हटाउने मेसिन खरिद गर्यो । महानगरपालिकाको ७५ लाख र निर्वाचन क्षेत्र विकास कोषबाट तत्कालीन सांसद रविन्द्र अधिकारीले ५० लाख रुपैयाँ बजेट विनियोजन गरी एक करोड २५ लाख रुपैयाँमा मेसिन झिकाइएको थियो ।
फेवातालको जलकुम्भी हटाउन तामझामका साथ केही समय उक्त मेसिनको प्रयोग पनि भयो । तर, फेवातालपछि बेगनास ताल सफा गर्ने क्रममा पानीमा डुबेर मेसिन बिग्रियो । मेसिनलाई आवश्यक पर्ने नोजल नेपालमा नपाउँदा उक्त मेसिन बिग्रिएपछि हालसम्म बनेको छैन ।
महानगरले झार झिक्ने र त्यसलाई कम्पोष्ट मल बनाउन प्रयोग गर्ने गरी एक्वाइटिक प्लान्ट हार्वेस्टिङ मेसिन ल्याएको थियो । तर, पहिलो वर्ष काम गरे पनि त्यसयता मेसिन थन्किएको छ । तालको जलकुम्भी हातले नै हटाउने गरिएको छ ।
मेसिन बिग्रिएपछि त्यसको मर्मत इन्जिनियरिङ अध्ययन संस्थान र राष्ट्रिय आविष्कार केन्द्रले गर्ने भनिएको थियो । तर, मेसिनको उपकरण स्वदेशमा नपाउने भएका कारण मर्मतकार्य पूर्णरुपमा सकिएको छैन ।
मेसिन मर्मतका लागि आवश्यक सामान क्यानडाबाट नै झिकाउनुपर्ने भएको पोखरा महानगरका मेयर धनराज आचार्य बताउँछन् । पूर्णरुपमा मर्मत नभएपछि मेसिनले पूर्णक्षमतामा काम गर्न नसक्ने र इन्धन खपत बढी हुने उनले बताए ।
मेसिन बिग्रेर थन्किएपछि महानगरले मंगलबार बृहत् फेवाताल सरसफाइ अभियान चलाएको छ । नवौँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा महानगरले तालको जलकुम्भी हटाउन सुरु गरिएको सरसफाइ अभियानमा सहकारी संस्थाहरुलाई पनि सहभागिताका लागि अपिल गरेको थियो ।
तालक्षेत्रमा पर्ने ड्यामसाइडदेखि चंखपुरसम्म विभिन्न ३३ वटा प्वाइन्ट तोकेर महानगरले सहकारी, सुरक्षा निकाय, लायन्स क्लबलगायत सामाजिक संघसंस्थाको सहभागितामा जलकुम्भी सफा गरेको छ । अभियानमा नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध संघसंस्थाहरू पनि सहभागी थिए ।
तालको जलकुम्भी हटाउन मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनका उमेदवार श्रीनाथ बराल पनि पुगेका थिए । उनी कास्की २ बाट गठबन्धनका साझा उमेदवार हुन् । यो क्षेत्र नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।
महानगरले किनेको मेसिन पूर्णक्षमतामा प्रयोग नभए तापनि मत्स्य अनुसन्धान विकास केन्द्र परिसरमा त्यसलाई प्रयोग गरिएको थियो । “मेसिनले तालको जलकुम्भी त कलेक्ट गर्यो, तर त्यसलाई लगेर फाल्ने काम चाहिँ म्यानुअल गर्नुपर्यो,” मेयर आचार्यले भने ।
महानगरले फेवातालमा हुने अतिक्रमण नियन्त्रण र अवैध काम रोक्न अहिले पनि महानगरको तर्फबाट पाँच जना नगरप्रहरी खटाइएको मेयर आचार्यले जानकारी दिए । २५ असोजमा महाअभियान सञ्चालन गर्ने र त्यसलगत्तै एउटा संयन्त्र बनाएर निरन्तर ताल सफाइलाई निरन्तरता दिने उनले बताए ।
मेयर आचार्यले सोमबार र मंगलबार एकैठाउँमा दुई तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ‘हिजो र आज, उही पोइन्ट’ क्याप्सनमा फेवातालको जलकुम्भी हटाएको पोष्ट राखेका छन् ।
महानगरपालिकाले फेवातालबारे सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म तालको ६५ मिटरभित्र कुनै संरचना नबनाउन र बनाउन नदिन सूचना पनि जारी गरेको छ ।