काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आइतबार अध्यक्ष गोल्छाले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताए ।
उनले अहिलेको अर्थतन्त्रको अवस्थालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताए । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनका लागि केही महिना लाग्नसक्ने बताए । उनले उद्योग व्यवसायहरू फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए । उनले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताए ।
अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताए ।
“कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन सकेको छैन । नेपालको विज्ञापन बजार करिव पौने अर्बको पुगेको छ । अवस्था सहज भएको भए आज अहिलेसम्म २० अर्बको बजार पुगेको हुने थियो,” उनले भने, “स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको छ । कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरू दर्ता भएका छन् । विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा १ लाख १५ हजारभन्दा बढीले यो क्षेत्रमा जोडिएका छन् ।”
उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरू दर्ता भएको बताए । अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताए ।