site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेन कसरी मस्कोमा घुसेर रूसी जनरललाई मार्न सफल भयो ?

बीबीसी । युक्रेनी सुरक्षा र गुप्तचर सेवाका एजेन्टहरु अहिले रुसी सेना र रुसी सेनाका शीर्ष अधिकारी विरुद्ध अपरेशन चलाइरहेका छन् । 

यसको पुष्टी युक्रेनी सुरक्षा र गुप्तचर सेवाका स्रोतहरूले बीबीसी युक्रेनसँग गरेका छन् ।

युक्रेनका शत्रुहरूविरुद्ध जताततै यस्ता कारबाहीहरू चलिरहेको भनाई उनीहरुको छ । यस्ता कारवाही रुसको कब्जामा रहेको क्षेत्रमा मात्र नभएर रूसभित्र र विदेशमा पनि भइरहेको दाबी उनीहरुको छ ।

Dabur Nepal
NIC Asia

सैन्य विशेषज्ञ तथा सिक्युरिटी सर्भिस अफ युक्रेन (एसबीयू) का पूर्वअधिकारी इभान स्तुपाककाअनुसार रूसका शीर्ष जनरल लेफ्टिनेन्ट इगोर किरिलोभको सोमबार मस्कोमा भएको हत्यालाई इजरायली गुप्तचर एजेन्सी मोसादले लेबनानमा हिजबुल्लाहविरुद्ध गरेको अपरेशनसँग तुलना गरिएको छ । मोसादले हिजबुल्लाह विरुद्ध पेजर आक्रमण गरी हिजबुल्लाहका थुप्रै नेता तथा लडाकुको हत्या गरेको थियो ।  

जनरल किरिलोभको स्कुटरमा लुकाइएका विष्फोटक पदार्थ बिस्फोट हुँदा मृत्यु भएको अनुमान गरिएको छ ।  विष्फोटको जिम्मेवारी युक्रेनले लिएको छ भने रुसले उक्त कार्यलाई ‘आतंकवादी गतिविधि’ भनेको छ । 

इभान स्तुपाकका अनुसार युक्रेनी गोप्य सेवाले गोली हान्ने वा बिस्फोट गराई उडाउने वा विष दिने निर्णय गर्नुपर्ने थियो । 

यद्यपि युक्रेनी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । रुसी आक्रमणविरुद्धको कुनै पनि अपरेशन, तयारी र समर्थनलाई एसबीयूले महत्व दिएको स्तुपाक बताउँछन् ।

युक्रेनले कसलाई लक्षित गरेको छ ? 

युक्रेनको खुफिया सेवा (जीयूआर) ले लक्षित व्यक्तिहरुको सूची प्रकाशित गरेको छ । सूचीमा रूसी जनरलहरू, रूसी वायुसेनाका अन्य कमाण्डरहरू समावेश छन् । उनीहरुले युक्रेनी सहरहरूमा रहेका ऊर्जा ग्रिडहरूमा आक्रमण गरेका थिए ।

जब खुफिया सेवाले कुनै अपरेशन गर्ने निर्णय गर्छ तब उक्त व्यक्ति कत्तिको महत्त्वपूर्ण छ र उससम्म पुग्न कत्तिको सजिलो छ भन्ने मूल्याङ्कन गरिन्छ ।

“यो अपरेशन एकदमै उच्चस्तरीय थियो । यस्तो काम एउटा समूहले सफल बनाउँछ । यसअघि नै जनरलसँग हतियार र साथमा केही नभएको हेरिएको थियो होला,” एसबीयूका पूर्वअधिकारी इभान स्तुपाकले भने ।

यदि तिनीहरू मस्कोको सडकमा विस्फोटक पदार्थसहित पक्राउ परेका भए वा भिडियो निगरानीमा परेको भए अपरेशनमा सहभागीहरु खतरामा पर्ने थिए । 

यस्तो अपरेशनको लागि सुरक्षित रणनीति बनाउन आवश्यक छ ताकि अपरेशनपछि सुरक्षित भाग्न सकियोस् ।

स्तुपाक भन्छन्, “यस्तै अपरेशनको योजना बनाउने एक अपरेटिभले मलाई अपरेशनका लागि आफ्ना मान्छे पठाउँदा २० मिनेट पनि तीन दिनजस्तो लाग्ने बताए । यस्तो जो सहभागी हुन्छन् उनीहरुको लागि यो खतरनाक र डरलाग्दो हुन्छ ।” 

गुप्चरी र गलत सूचना

रुसको आणविक रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ युक्रेनी गुप्तचर सेवाको निशानामा थिए । ५४ वर्षीय किरिलोभलाई एसबीयूले प्रतिबन्धित रासायनिक हतियारको प्रयोगमा जिम्मेवार भएको आरोप लगाएको थियो।

जनरल किरिलोभको नेतृत्वमा रुसले ४८ हजार पटक रासायनिक हतियार प्रयोग गरेको एसयूबीले दाबी गरेको छ ।

बेलायतले अक्टोबरमा किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो । बेलायतले पनि जनरल किरिलोभले युक्रेनमा रासायनिक हतियार प्रयोग गरेको दाबी गरेको थियो । तर, मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको थियो ।

युक्रेनमा रुसी आक्रमणपछि जनरल किरिलोभलाई गलत सूचना फैलाउने अभियानको मुख्य आयोजक मानिन्थ्यो । उनीमाथि पश्चिमी देशहरूविरुद्ध जैविक हतियार प्रयोग गर्न खोजेको आरोप पनि लागेको थियो ।

अमेरिकाले रुसमा एचआइभी र हेपाटाइटिस बीबाट पीडित जनावरहरूलाई छोड्ने प्रयास गरिरहेको दाबी किरिलोभले गरेका थिए । संक्रमण फैलाउने उदेश्यले अमेरिकाले रूसमा लामखुट्टेको बथान छोड्न कोशिस गरिरहेको आरोप पनि उनले लगाएका थिए । 

अमेरिकाले नयाँ महामारी फैलाउन भाइरस छोड्ने तयारी गरिरहेको आरोप किरिलोभले लगाएका थिए । सम्पूर्ण दोष रुसमाथि लाग्ने गरी अमेरिकाले युक्रेनमा विषाक्त पदार्थ प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरिरहेको आरोप पनि उनले लगाएका थिए ।

उनले सोभियत संघबाट छुट्टिएका धेरै देशमा अमेरिकाले जैविक प्रयोगशाला निर्माण गरिरहेको पनि बताएका थिए ।

जनरल किरिलोभ आरोप लगाउन निकै सक्रिय थिए । उनले जति कुरा रुसी सेनाका अरु कुनै अधिकारीले पत्रकारसँग गर्दैनथे । हत्या भएको दिन उनले प्रेस ब्रिफिङ गर्ने योजना पनि बनाएका थिए ।

पुटिनलाई झट्का 

युक्रेनले किरिलोभ विरुद्धको अपरेशन आफ्नो सुरक्षा निकायले सञ्चालन गरेको दाबी गरेको छ ।  रुसको राजधानी मस्कोमा प्रवेश गरेर सफल अपरेशन गर्नुले युक्रेनी एजेन्टहरू कति सक्षम छन् भन्ने देखाउँछ । सामान्यतया गुप्तचर संस्थाले यस्तो अपरेशन पछि जिम्मेवारी लिन हतार गर्दैन किनभने तिनीहरू आफ्ना एजेन्टहरूलाई खतरामा पार्न चाहँदैनन् ।

रुसी रक्षा मन्त्रालयको बैठक एक दिनअघि मात्रै भएको थियो । उक्त भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रक्षामन्त्री आन्द्रेई बेलोसोभले युक्रेन विरुको युद्ध रणनीति र यसलाई कसरी विजयतर्फ लैजान सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । यस बैठकको एक दिन पछि मस्कोमा रूसी जनरलको हत्या गरिएको थियो । 

पुटिनको वार्षिक टिभी सम्बोधन हुन लागेको छ र त्यसअघि जनरल किरिलोभको हत्या भइसकेको छ । यस सम्बोधनमा पुटिनले रुसका जनतालाई सबै कुरा राम्ररी चलिरहेको र पश्चिमी प्रतिबन्धका कारण रुसमा विकास प्रक्रिया तीव्र गतिमा अघि बढेको आश्वस्त पार्न सक्छन् ।

“हत्याले पोर्कोभस्की नजिकको फ्रन्टलाइनमा कुनै प्रभाव पार्दैन, जहाँ रूसी सेनाले सफलता हात पारेको छ । तर पुटिनले युक्रेन विरुद्ध बदला लिने कुरा गर्नेछन् । यो रूसको लागि गम्भीर मुद्दा हो । म कल्पना गर्न सक्छु कि यो रूसी गुप्तचर संस्थाका अधिकारीहरूको लागि एक निराशाजनक अपरेशन थियो । यी अधिकारीहरूका मालिकले लगातार प्रश्न सोधिरहेका होलान्– मस्कोमा यो कसरी सम्भव भयो ?,” एक पूर्व गुप्तचर अधिकारी स्तुपाक भन्छन् । (बीबीसीबाट भावानुवाद)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro