site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल प्रिमियर लिग : सुदूरपश्चिम २–० जनकपुर
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । फुटबलबाट परिचित स्पेनको घरेलु लिगमा दुई चिरप्रतिद्वन्दी क्लब छन्, बार्सिलोना र रियाल मड्रिड । यी दुईको प्रतिस्पर्धा विश्वभरका सर्मथकमाझ ‘एल क्लासिको’ को रूपमा परिचित छ । जसको अर्थ हुन्छ ‘उच्चतम गुणस्तर र उत्कृष्ट मानिएको’ ।

नेपाली खेलकुदमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिले यो शब्द निक्कै प्रयोगमा देखिन्छ । फुटबल प्रतियोगिता नभए पनि एनपीएलका दुई टोलीबीचको प्रतिस्पर्धाले पहिलो संस्करणमै ‘एल क्लासिको’ उपनाम पाइसकेको छ । अर्थात ‘उच्च गुणस्तरको आफ्नो क्षेत्रमा उत्कृष्ट मानिएको’ ।

एनपीएलको त्यो प्रतिस्पर्धा हो, पश्चिम नेपालको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्स र मधेसको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्सबीचको । सामाजिक सञ्जालदेखि कीर्तिपुरमा उपस्थित दर्शक समेत, यी दुई टिमबीचको प्रतिस्पर्धालाई ‘एल क्लासिको अफ नेपाली क्रिकेट’ को उपमा दिने धेरै छन् ।

“म सुदूरपश्चिमको समर्थक हुँ । तर, सुदूरपश्चिमले जनकपुरसँग खेल्दाबाहेक खेल हेर्न आएको छैन । सुदूरपश्चिम र जनकपुरको खेललाई नेपाली क्रिकेटको एल क्लासिको नै भन्दा हुन्छ,” बुधबार प्रतियोगिताको पहिलो क्वालिफायर हेर्न मैदान पुगेका आफूलाई सुदूरपश्चिमको समर्थकका रूपमा चिनाउने एक दर्शकले भने । त्रिवि क्रिकेट मैदानमा बुधबार यही खेल हेर्न भनेर उपस्थित दर्शक ओइरो हेर्नलायक थियो ।

adfag-1734514631.jpg
 

बुधबारको पहिलो क्वालिफायरमा जनकपुरविरुद्ध आठ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिमले एनपीएल पहिलो संस्करणको फाइनलमा स्थान बनाइसकेको छ । यी दुई टोलीबीच बुधबार भएको प्रतिस्पर्धा भने दर्शकको आशा र पाएको उपनामलाई भने न्याय गर्न सकेन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर जनकपुरले ब्याटिङको निर्णय गर्दै २० ओभरमा १३९ रनको योगफल खडा गरेको थियो, नौ विकेट गुमाएर । १४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको सुदूरपश्चिमले १८.३ ओभरमै जित निकालेपछि फाइनल यात्रा तय गरेको हो ।

खेलअघि सबैको अपेक्षा थियो– प्रतिस्पर्धा कडा हुनेछ । तर, ओपनर विनोद भण्डारीले प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक बनाएपछि सुदूरपश्चिम दोस्रो इनिङभर जनकपुरका बलरमाथि हाबी रह्यो । सुदूरको जितमा ‘प्लेयर अफ दी म्याच’ समेत चुनिएका विनोदले ५८ रन बनाए । ओपनिङमा आएका विनोद जितसम्म अविजित रहे । यसक्रममा उनले समान तीन चौका र छक्का प्रहार गरे । यही प्रदर्शनबाट उनी खेलको ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए ।

462577823_1256587238945640_3106857261217927241_n-1734545005.jpg
“यसअघि पनि सुरुआत राम्रो पाइरहेको थिए । तर, फिनिस भइरहेको थिएन । तर आज अन्तिमसम्म खेल्नुपर्छ भन्ने थियो । अहिले सुदूरपश्चिमले राम्रो खेलिरहेको छ । त्यसैले सुदूरपश्चिमले फाइनल डिजर्भ गर्छ जस्तो लाग्छ,” जितपछि विनोदले भने ।

प्रतियोगितामा आठौँ खेल खेल्दा सुदूरपश्चिमले निकालेको यो सातौँ जित हो । लिग चरणमा चितवन राइनोजविरुद्धबाहेक सुदूरपश्चिमले प्रतियोगिताका कुनै पनि टिमसँग हार बेहोरेको छैन ।

यता, अनिल साहको कप्तानीमा रहेको जनकपुर भने एनपीएलका पहिलो चार खेल यता जितको लय कायम राख्न संघर्षरत छ । जनकपुरले प्रतियोगितामा लगातार चार जित निकालेको थियो । तर, त्यसयता चार खेल खेल्दा जनकपुरले एक खेलमा मात्र जित निकालेको छ । अझ नियमित कप्तान अनिल साह चोटका कारण बाहिरिनु जनकपुरलाई ठूलै घाटा बनेको छ । लिग चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्ध आउट भएपछि निराश अनिलले आफ्नै हातमा ब्याट बजार्न पुगे । उनको औँलामा चोट लागेको छ ।

462572863_1238030253978074_2705130311250486266_n-1734545005.jpg
“ट्वान्टी–२० मा जसले कम गल्ती गर्छ । त्यही टिमले खेल जित्छ । हामीले बलिङ र ब्याटिङ दुवैमा केही सुधार गर्न आवश्यक छ । पछिल्लो खेलमा पनि हामीले देखिरहेका छौँ,” हारपछि नियमित कप्तान नहुँदा कप्तानी जिम्मेवारी पाएका आसिफ सेखले भने, “अनिल दाई नेपालकै सबैभन्दा उत्कृष्ट ब्याटरमध्येका एक हुन् । त्यसमा कुनै शंका छैन । तर, हामीसँग ब्याकअप छ । त्यसैले खासै फरक पर्दैन ।”

प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध जनकपुरको यो पहिलो हार भने होइन । जनकपुरले यसअघि लिग चरणको खेलमा पनि सुदूरपश्चिमसँग ७२ रनको फराकिलो हार बेहोरेको थियो ।

सुदूरपश्चिमसँगको हारका बाबजुद जनकपुरको सम्भावना समाप्त भइसकेको छैन । जनकपुरले अब दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जसमा जित निकाल्ने टिमले उपाधिका निम्ति सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । अर्थात् फाइनलमा सुदूरपश्चिमसँग नै खेल्ने जनकपुरको सम्भावना अझै छ । यो सम्भावनाप्रति सबैभन्दा विश्वस्त छन्, आसिफ सेख । उनले बुधबार फाइनलमा सुदूरपश्चिमलाई नै हराएर उपाधि जित्ने प्रतिक्रिया दिए ।

462581805_2274586389624433_3377148325576348686_n-1734545007.jpg
“उनीहरूको टिम धेरै राम्रो छ । हाम्रो टिम पनि राम्रो छ । हाम्रो भेट फाइनलमा हुन्छ र उपाधि हामीले जित्छौँ भन्ने हामीलाई विश्वास छ,” आसिफले थपे ।

फाइनल पुग्न जनकपुरले दोस्रो क्वालिफायर खेल्न बाँकी नै छ । तर, जे होस्, प्रतियोगितामा हालसम्म जनकपुरविरुद्ध सुदूरपश्चिमले २–० को अग्रता बनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro