site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी सम्बन्धी अध्यादेश ल्याउँदैछ सरकार !

काठमाडौं । सरकारले साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी सहकारी सम्बन्धी अध्यादेशको तयारी थालेको छ । साथै सहकारीको रकम जथाभावी अपचलन गर्ने व्यक्तिको सम्पत्ति जफतको पनि व्यवस्था सोही अध्यादेशमा गर्न लागिएको छ । 

सरकारले तत्कालै अध्यादेश जारी गर्ने तयारीमा लागेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले अध्यादेशमा उल्लेख गर्ने विषयहरूको ड्राफ्ट तयार भइरहेको छ । सहकारी संस्था सम्बन्धी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले दिएको सुझावलाई समेटेर अध्यादेश ल्याउन लागिएको स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका एक उच्च अधिकारीले पनि अध्यादेशको तयारी गरिएको पुष्टि गरे । विशेष समितिले सहकारी प्राधिकरण गठन गरेर पाँच लाख रुपैयाँसम्मका साना बचतकर्ताको रकम तत्काल फिर्ता गर्न सुझाव दिएको थियो ।

Dabur Nepal
NIC Asia

तीन महिनाभित्रै गर्न सुझाव दिएको भए पनि कानुन निर्माणमा समय लाग्ने देखिएपछि अध्यादेश ल्याउन लागिएको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।

समितिले सहकारीमा राख्न सकिने अधिकतम बचत र लिन सकिने अधिकतम कर्जाको सीमा निर्धारण गरी त्यसलाई कडाइका साथ पालना गर्ने, गराउने र बचतकर्ताले लिएर आउने रकमको कानुन बमोजिम स्रोत खुलाउने कुरालाई प्रभावकारी बनाउन पनि सुझाव दिएको थियो ।

प्राधिकरणलाई बचत तथा ऋणको कारोबार गर्ने सबै प्रारम्भिक सहकारी र वित्तीय कारोबार गर्ने सबै महासंघ, संघहरुलाई नियमन, सुपरीवेक्षण, कार्यान्वयन र कारबाही गर्ने अधिकार पनि दिइनुपर्ने सुझाव समितिले दिएको छ ।

२५ करोडभन्दा बढी कूल सम्पत्ति भएका सहकारीले प्राधिकरणले गठन भएको मितिले ६ महिनाभित्र वित्तीय कारोबार सञ्चालन ईजाजतपत्र लिनुपर्ने गरी कानुनी प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिएको छ ।

समितिले दिएको सुझावमा पाँचलाख सम्मका बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम थाल्न भनिएको थियो ।

“वर्तमान सहकारी संकट समाधानार्थ सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भई पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरी प्राधिकरणमार्फत फिर्ता गर्ने र सरकारले पछि सरकारी बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक प्रबन्ध गरी तत्काल काम सुरु गर्ने र क्रमशः ठूला बचतकर्ताको बचत रकम कानुन बमोजिम स्रोत खुलाई करको दायरामा ल्याई फिर्ताको लागि सहजीकरण गर्ने,” सिफारिसमा भनिएको थियो ।

त्यसैगरी सहकारीको रकम गलत ढंगले ऋणको रुपमा प्रवाह गर्ने र कर्जा अपचलन गर्नेलाई कानुनी कारबाही गर्ने, उनीहरुका चलअचल सम्पत्ति जफत गर्ने व्यवस्था पनि गर्न समितिले सुझाव दिएको थियो । अहिले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिका नजिकका आफन्त पनि कर्जा अपचलनमा लागेको भन्दै प्रहरीले सम्पत्ति जफत गर्न राय दिएको छ ।

समितिले दिएको सुझावमा कर्जा असुली गरेर बचतकर्ताको रकम फिर्ता गर्ने, सहकारीले लगानी गरेका सम्पत्तिहरु जफत गरी सरकारको नाममा ल्याउने र सरकारले साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने र कर्जा असुलीपछि सो रकम शोधभर्ना लिने व्यवस्था गर्न पनि भनिएको छ ।

सरकारले समितिले दिएका सुझावलाई समेटेर अध्यादेश जारी गर्न लागेको हो । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार अध्यादेशको तयारी तीव्र छ । उनका अनुसार सम्भवतः एकसाताभित्रै जारी हुन सक्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro