ठूला भौतिक संरचनाको निर्माण गर्न गराउन राजनीतिक नेतृत्व बढी नै उत्सुक र इच्छुक हुनेगरेको देखिन्छ । त्यस्ता संरचना राज्यका लागि ‘सेतो हात्ती’ सिद्ध भए पनि भौतिक निर्माणबाट हुने कमिसनको लाभका कारण प्रासनिक र प्राविधिक कर्मचारीले पनि बिरलै तिनको विरोध गर्छन् ।
फलस्वरूप, देशमा औचित्य तथा आवश्यकता पुष्टि नहुने तर राज्यको अर्बौं लगानी भएका थुप्रै भौतिक संरचना थोत्रिने जोखिममा पुगेका छन् । विडम्बना, त्यस्ता आयोजना बनाएको जस लिनेहरूले भने तिनको सञ्चालन तथा सदुपयोग गर्न चासो नै देखाउँदैनन् । उनीहरूको ध्यान त थप अरू भौतिक संरचना निर्माण र त्यसबाट आउने कमिसनमा केन्द्रित देखिन्छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-७मा निर्मित १५ शय्याको आधारभूत अस्पताल भवन बने पनि सञ्चालन भएको छैन । नगरपालिकाले सञ्चालन खर्च जुटाउन नसकेको र केन्द्र वा प्रदेश सरकारले बेवास्ता गरेको कारण अस्पताल सञ्चालन नहुँदै भवन थोत्रिने जोखिम छ । यसैगरी तनहुँको भानु नगरपालिका - ४ चुँदीरम्घामा तीन वर्षअघि बनाइएको ‘रामायण भवन’ पनि प्रयोग नहुँदै थोत्रिने अवस्थामा पुगेको छ । यी दुवै प्रतिनिधि उदाहरणमात्र हुन् ।
देशभर विनायोजना कसैको लहड र सनकमा राज्यको ढुकुटी मासेर बनाइएका यस्ता कति भवन प्रयोगमा नआउँदै थोत्रिने अवस्थामा पुगेका छन् भन्ने यथार्थ विवरणसम्म पनि सरकारसँग नहोला । सरकारलाई राम्रै जानकारी भए पनि गोदाबरीको सम्मेलन केन्द्र वा झापाको १८ तले ‘भ्यु टावर’को औचित्य देखिँदैन । यस्ता संरचनालाई नेपालजस्तो स्रोतको अभाव भएको मुलुकले प्राथमिकता दिनु पक्कै पनि बुद्धिमानी होइन ।
यस्ता भौतिक संरचना निर्माण नहुँदै तिनको आवश्यकता र औचित्यमा ध्यान दिनुपर्ने थियो । अब उतिबेला ध्यान किन दिइएन भन्ने अध्ययनको विषय त होला तर त्यसमा अलमलिएर त्यस्ता संरचनामा भएको लगानीप्रति न्याय हुँदैन । यसैले सरकारले त्यस्ता संरचनाको सकेसम्म सदुपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
सबैभन्दा पहिले सरकारले प्रयोगहीन अवस्थामा रहेका भौतिक संरचनाको अद्यावधिक विवरण तत्काल सङ्कलन गर्नुपर्छ । त्यसपछि त्यस्ता संरचनाको सदुपयोग र संरक्षणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नीति अपनाउनु उचित हुनेछ । प्रयोग नगरिएमा थोत्रिएर जाने जोखिम भएका संरचनाहरूको सदुपयोगका लागि निजी क्षेत्रसँग साझेदारी, व्यवस्थापन करार वा आवश्यक भए निजीकरण गर्न पनि सरकार तयार हुनुपर्छ । यस्ता संरचनाको सदुपयोग गरेर राज्यको सम्पत्ति जोगाउनु बुद्धिमानी र देशभक्ति हो ।