काठमाडौं । सन् १९७७ को चुनाव हारेको डेढ वर्षपछि इन्दिरा गान्धी कर्नाटकको चिकमगलुरबाट लोकसभा चुनावको मैदानमा उत्रिइन् । मतदानको दिन पूरै क्षेत्रमा मुसलधारे पानी परेको थियो । मुसलधारे पानीका बाबजुद पनि झन्डै तीन चौथाइ मतदाता मतदान गर्न आएका थिए । सोही दिन इन्दिरा गान्धी दिल्ली फर्किइन् ।
दुई दिनपछि सोभियत संघको राष्ट्रिय दिवस समारोहमा विपक्षी दलको नेताका रूपमा सहभागी हुन सोभियत दूतावास जाँदै गर्दा इन्दिरा गान्धी लोकसभाको उपनिर्वाचनमा ७० हजार मतले विजयी भएको खबर आयो । समारोहमा, सोभियत राजदूतले इन्दिराको विजयको उत्सव मनाउन गिलास उठाए ।
चुनाव जितेको चार दिनपछि इन्दिरा गान्धी लन्डन जानुपर्यो । सोनिया गान्धी पनि उनीसँगै लन्डन गएकी थिइन् । त्यहाँबाट दिल्ली फर्कनुअघि इन्दिरा र सोनिया लन्डनको प्रसिद्ध अक्सफोर्ड स्ट्रिटमा राहुल र प्रियंकाका लागि किनमेल गर्न निस्किए ।
लन्डनमा किनमेल गरिरहँदा इन्दिराले आफूलाई संसदबाट निकालिएको र गिरफ्तार गर्ने तयारी चलिरहेको कुरा कल्पना पनि गरेकी थिइनन् होला ।
मारुती प्रकरणमा अनुसन्धान गरिरहेका उद्योग मन्त्रालयका चार कर्मचारीलाई प्रधानमन्त्री हुँदा इन्दिरा गान्धीले दुर्व्यवहार गरेको भन्दै संसदको विशेषाधिकार समितिले उनलाई दोषी ठहर गरेको थियो ।
यो प्रतिवेदन संसदमा पेस हुनुअघि जनता पार्टीको संसदीय बोर्डले इन्दिरा गान्धीलाई यस मामिलामा दोषी ठहर गर्दै सजाय दिनुपर्ने निर्णय गरिसकेको थियो । गान्धीमाथिका यी आरोप अदालती प्रक्रिया जानुअघि नै जनता पार्टीका नेताहरूले सदनमा आफ्नो बहुमत प्रयोग गर्दै उनलाई संसदको अधिवेशन अन्त्य नभएसम्म जेल हाल्ने र लोकसभा सदस्यता खारेज गर्ने निर्णय गरेका थिए ।
पुपुल जयकर इन्दिरा गान्धीको जीवनीमा लेख्छन्, “शाह आयोगको अनुसन्धान, गिरफ्तारी प्रयास र सीबीआईको सोधपुछ प्रयास असफल भएपछि उनको राजनीतिक भविष्य बर्बाद गर्न विशेषाधिकार समिति प्रयोग गरिन्छ भन्ने कुरा इन्दिरालाई थाहा थियो । त्यसैले उनले लोकसभाको रोस्ट्रममा उभिएर आफूमाथि लागेका आरोपको जवाफ दिने निर्णय गरिन् ।”
लोकसभामा इन्दिरा गान्धीको भाषण
इन्दिरा गान्धीले संसद्मा बोल्न सुरु गर्नेबित्तिकै जनता पार्टीका सांसदहरूले हल्लाखल्ला मच्चाए । इन्दिरा गान्धीले आफ्नो भाषणमा भनिन्, “जनता पार्टी संसदीय बोर्डले मलाई यस मामलामा पहिले नै दोषी पाएको छ, त्यसैले मैले मेरो प्रतिरक्षामा केही भन्नुको कुनै अर्थ छैन । यस विषयमा देशका कैयौँ अदालतमा फौजदारी मुद्दा दर्ता भइसकेका छन्, तर पनि मलाई यहाँ सजाय दिएर ‘प्रि–जज’ गर्ने प्रयास भइरहेको छ ।”
उनले अगाडि भनिन् “सरकारको यो कदमको उद्देश्य बदला लिने हो, कुनै पनि लोकतान्त्रिक मुलुकको इतिहासमा प्रतिपक्षी दलको नेताको चरित्रहत्या गर्ने प्रयास भएको छैन ।”
यही सम्बोधनका क्रममा आपतकालका क्रममा भएका ज्यादतीका विषयमा पनि माफी मागिन् । इन्दिरा गान्धीले भनिन्, “मैले आपत्कालको अतिक्रमणका लागि धेरै फोरमहरूमा माफी मागेकी छु र यहाँ पनि म फेरि माफी चाहन्छु ।”
भाषण सकेलगत्तै इन्दिरा गान्धी आफ्नो ठाउँबाट उठिन् र सांसदहरूतिर फर्किइन् । स्पेनी लेखक जेभियर मोरो आफ्नो पुस्तक ‘द रेड सारी’मा लेख्छन्, “त्यहाँबाट उठेर उनी सांसदहरूतिर फकिइन् । बाहिर निस्केर संसद भवनलाई हेरेर, हात उठाउँदै उनले भनिन्, ‘म फिर्ता आउनेछु’ ।”
तस्बिर : गेट्टी इमेज ।
गिरफ्तारीको विरोधमा विमान अपहरण
सागरिका घोष इन्दिरा गान्धीको जीवनी ‘इन्दिरा, इन्डियाज मोस्ट पावरफुल प्राइम मिनिस्टर’मा लेख्छिन्, “इन्दिरालाई जेल पठाएको विरोधमा कांग्रेसका हजारौँ कार्यकर्ताले गिरफ्तारी दिए । गान्धी पक्राउको विरोधमा देवेन्द्र र भोलानाथ पाण्डे नामक दुईजनाले खेलौना पेस्तोल र क्रिकेट बलको मद्दतले इन्डियन एयरलाइन्सको विमान अपहरण गर्ने प्रयास गरे । उनीहरूले लखनउबाट दिल्ली जान लागेको विमानलाई जबरजस्ती बनारस पुर्याए ।”
बनारस पुगेर उनीहरूले इन्दिरा गान्धीलाई तत्काल रिहा गर्न र सञ्जय गान्धीविरुद्धका सबै मुद्दा फिर्ता लिन माग गरे । दुई वर्षपछि दुवैलाई उत्तर प्रदेश विधानसभाको लागि कांग्रेसको टिकट दिइयो र चुनाव पनि जिते ।
जेलमा कम्बल
तिहाडमा उनलाई त्यही कक्षमा राखिएको थियो, जहाँ जर्ज फर्नान्डिसलाई आपत्कालको समयमा पक्राउ गर्दा राखिएको थियो । जेलमा बिहान पाँच बजेदेखि उनको दिनचर्या सुरु हुन्थ्यो ।
पुपुल जयकर लेख्छन्, “उठ्नेबित्तिकै योगासन र प्राणायाम गर्थिन् । त्यसपछि सोनियाले अघिल्लो साँझ ल्याएको चिसो दूध पिउँथिन् । त्यसपछि उनी फेरि सुत्ने गर्थिन् ।”
गान्धीलाई जेलमा ६ वटा मात्र किताब ल्याउने अनुमति दिइएको थियो । उनका लागि खाना सोनिया गान्धीले नै ल्याउँथिन् ।
क्याथरिन फ्रान्कले इन्दिरा गान्धीको जीवनीमा लेखेकी छिन्, “इन्दिरा गान्धीलाई सुत्नका लागि काठको ओछ्यान दिइएको थियो । तर, त्यसमा गद्दा थिएन । झ्यालहरूमा न पर्दा थियो न सिसा थियो । झ्यालमा फलामका डन्डी मात्र थिए । डिसेम्बर महिनामा राति धेरै जाडो हुन्थ्यो । चिसोबाट बच्न इन्दिरा झ्यालको बारमा कम्बल झुन्ड्याउँथिन् र सिरक ओढेर निदाउने गर्थिन् ।”
इन्दिराको कुटिल चाल
जनता पार्टी सरकारको कार्यकाल सकिन अझै तीन वर्ष बाँकी थियो । तर. इन्दिरा गान्धीले जनता पार्टीका शीर्ष नेताहरूबीच नेतृत्वलाई लिएर ठूलो झगडा भएको थाहा पाइन् । प्रधानमन्त्री मोरारजी देसाईसँग चरण सिंह निकै रिसाएका थिए । इन्दिराले चरण सिंहको महत्त्वाकांक्षालाई प्रोत्साहित गरेर उनी र मोरारजी देसाईबीचको खाडल फराकिलो बनाउन सकिन्छ भन्ने सोचिन् । इन्दिराले जेलबाटै चरण सिंहलाई फूल पठाउनुको कारण पनि सायद यही थियो ।
जेलबाट निस्किनेबित्तिकै इन्दिरा गान्धी चरण सिंहको घरमा पुगिन् । पुपुल जयकर लेख्छन्, “जब इन्दिरा गान्धी चरण सिंहको घरमा पुगिन्, चरण सिंह र उनकी श्रीमतीले उनलाई स्वागत गरे । रोचक कुरा के भने त्यस दिन समारोहमा मोरारजी देसाईलाई पनि बोलाइएको थियो । इन्दिरालाई पनि त्यहाँ देखेपछि मोरारजीले निको मानेनन् । उनले इन्दिरासँग एक शब्द पनि बोलेनन् । इन्दिराले चरण सिंह र उनकी पत्नीसँग संवाद गरिन् ।”
जेलबाट रिहा भएको एक सातापछि इन्दिरा चिकमगलुर गइन् । त्यहाँ मतदातालाई सम्बोधन गर्दै उनले भनिन्, “तपाईंको निर्णयलाई जनता सरकारले अवैधानिक र जानाजानी अस्वीकार गरेको छ ।”
यसैबीच इन्दिरा गान्धीले मोरारजी नेतृत्वको सरकार ढाल्न चरण सिंहलाई समर्थन गर्ने घोषणा गरिन् । त्यसपछि २८ जुलाई १९७९ मा चरण सिंहले प्रधानमन्त्रीको शपथ लिए । शपथ लिनेबित्तिकै उनले इन्दिरा गान्धीलाई धन्यवाद व्यक्त गर्न भनेर भेट्न जाने निर्णय गरे ।
सत्यपाल मलिक सम्झन्छन्, “तर अन्तिम क्षणमा चरण सिंहका कोही आफन्तले उनको कुरा सुनेका थिए, अहिले तपाईं प्रधानमन्त्री हुनुहुन्छ । उहाँको ठाउँमा किन जाँदै हुनुहुन्छ, इन्दिरा गान्धी तपाईंलाई भेट्न आउनुपर्छ ।”
नीरजा चौधरीले आफ्नो पुस्तक ‘हाउ प्राइम मिनिस्टर्स डिसाइड’मा लेखेकी छिन्, “इन्दिरा गान्धी हातमा फूलको गुच्छा लिएर चरण सिंहलाई पर्खिरहेकी थिइन् । उनका साथमा कांग्रेसका करिब २५ वरिष्ठ नेताहरू पनि उभिरहेका थिए ।”
तर, चरण सिंहको गाडीको लस्कर गान्धीको घर अगाडि हुँदै गयो । चरण सिंह गान्धीको घरमा आएनन् । त्यसपछि गान्धीले हातमा समातेको फूलको गुच्छा भुइँमा फालिन् र रिसाउँदै घरभित्र गइन् ।
१९ अगस्टमा इन्दिरा गान्धीले चरण सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिइन् र चरण सिंहले एकपटक पनि संसदको सामना नगरी आफ्नो पदबाट राजीनामा दिनुपर्यो ।
त्यसपछि भएको चुनावमा जनता पार्टीले मात्र ३१ सिट जित्यो । इन्दिरा नेतृत्वको कांग्रेसले ३५३ सिट जित्यो । १४ जनवरी १९८० मा इन्दिरा गान्धीले राष्ट्रपति भवनको अशोक हलमा चौथोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिइन् ।
जब एक विदेशी पत्रकारले उनलाई ‘फेरि भारतको नेता बन्न पाउँदा कस्तो लाग्यो ?’ भनेर सोध्दा इन्दिराले जवाफ दिइन्, “म सधैँ भारतको नेता हुँ ।” बीबीसी हिन्दी