site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘कानुन लत्याउने’ सूर्य नेपालमाथि कारबाही गर्न जनस्वास्थ्यलाई जिल्ला प्रशासनको पत्र 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूर्य नेपालका उत्पादनको अनुगमन र आवश्यक कारबाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंलाई पत्र लेखेको छ ।  कानुन लत्याएर ‘सूर्य फ्युजन’ चुरोट बजारमा वितरण गर्ने सूर्य नेपाललाई प्रशासनले आवश्यक कारबाही गर्न सोमबार जनस्वास्थ्यलाई पत्र पठाएको हो ।

बाह्रखरी डटकममा मंसिर ९ गते प्रकाशित “कानुन लत्याउँदै सूर्य नेपालः ‘सूर्य फ्युजन’ चुरोट बेच्न गैरकानुनी हतकन्डा” शीर्षकको समाचारलाई आधार मानेर काठमाडौं जिल्ला प्रशासनले जनस्वास्थ्य कार्यालयलाई कारबाही अगाडि बढाउन पत्र लेखेको हो ।

जनस्वास्थ्य कार्यालयले पनि आवश्यक कारबाही गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (एनएचईआईसीसी)सँग परामर्श थालेको जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनस्वास्थ्य कार्यालय, काठमाडौंका कार्यालय प्रमुख बसन्त अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कारबाहीको लागि पत्र आएकाले के गर्न सकिन्छ भनेर एनएचआईसीसीसँग छलफल थालिएको छ ।

सूर्य नेपालले  ‘सूर्य फ्युजन’ चुरोटको बट्टासँगै मार्केटिङका लागि पाँच खिल्लीको ‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टा पसलहरूमा दिएको थियो । 

यो बट्टाको बाहिर सुर्तीजन्य पदार्थ ऐन, २०६८ अनुसार कुनै सन्देश राखिएको छैन । बाह्रखरीमा समाचार प्रकाशित भइसकेपछि सूर्य नेपालले बजारमा पु¥याएका त्यस्ता बट्टा फिर्ता गरिसकेको छ । 

त्यस्तै यसमा आन्तरिक राजस्व विभागबाट जारी गरिएको अन्तःशुल्क स्टिकर पनि छैन । थापाथली, त्रिपुरेश्वर तथा तीनकुने क्षेत्रमा बाँडिएका यस्ता बट्टा अहिले सूर्य नेपालका बजार प्रतिनिधिहरूले पसलबाट फिर्ता लिइसकेका छन् ।

समाचार सार्वजनिक भएपछि आन्तरिक राजस्व विभागले कम्पनीका गोदाम तथा उपत्यकाका डिलरहरूमा छापा मारेको थियो ।  यसरी कम्पनीका उपत्यकाका डिलर र उपत्यका बाहिर सिमरा र दमैलीका उद्योगमा पनि राजस्व कार्यालयले छापा मारेका थिए । 

त्यसपछि कम्पनीका बजार प्रतिनिधिहरूले बजारबाट यस्ता बट्टा उठाउन थालेको छ । 

राजस्व विभागले बजारबाट केही बट्टा उठाएर ल्याएको छ । विभागका महानिर्देशक रामप्रसाद आचार्यका अनुसार केही ठाउँबाट ‘फ्री फ्लो’ बट्टाहरू नियन्त्रणमा लिइएको छ । 

उनका अनुसार पनि धेरैजसो पसलबाट जसले पुर्‍याएको थियो उसैले फिर्ता लिइसकेको सूचना विभागले पाएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११ को उपदफा (५)मा “कसैले पनि निःशुल्क रुपमा सुर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन,” भनिएको कानुनलाई स्पष्ट ढंगले कम्पनीले अवहेलना गरेको छ ।

त्यस्तै सोही ऐनको दफा ९ अनुसार सुर्तिजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलिङको बाहिरी भागमध्ये कम्तिमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोके बमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असारबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने व्यवस्था छ ।

कम्पनीले यो ऐनविपरितका कार्य गरेको भेटिएमा सहायक प्रमुख जिल्ला अधिकारीले ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

यो कम्पनीले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ विपरितसँगै कर कानुन आकर्षित हुने कार्य गरेको छ ।  

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्