साहित्य
गाइजात्रा हास्य कलाकारहरूको दसैँ हो । दुई साता चल्ने गाईजात्रा महोत्सव बिहीबारबाट काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा प्रारम्भ भएको छ । बिहीबार प्रतिष्ठानको प्रांगणमा हामीसँग जम्काभेट हुँदा हास्य व्यंग्यकार शैलेन्द्र सिम्खडा असिनपसिन देखिन्थे । मुस्कुराउँदै सिम्खडाले भने, “मेरो त गाईजात्रै छ, आजबाट सो सुरु गर्नुपर्ने अहिलेसम्म केही तयारी छैन,”
कुराकानी गर्न भन्दा पनि उनलाई कविता सुनाउन हतार भयो । “ए काका ! लौन यो कविता कस्तो छ ? दर्शकले कत्तिको रुचाउलान्, मलाई त डर पो लागिरहेको छ ?,” उनले वाचन सुरु गरिहाले :
आदरणीय दर्शक महोदय
अब म बाँदरको विधेयक प्रस्तुत गर्दैछु
मान्छेहरू आफूलाई उत्कृष्ट प्राणी मान्छन्
हामी बाँदर वर्गलाई गाली गर्ने शब्द ठान्छन्
हामीले कसको के बिगार्देका छौँ ?
हाम्रो पनि इतिहास छ
सीता माता खोजी ल्याएको
सिंगै पर्वत बोकेर लक्ष्मणलाई बचाएको
रामचन्द्रसँग मिलेर समुद्रमा पुल हालेको
भगवान रामचन्द्रको भलो चिताएको
प्रचण्ड र बाबुरामसँग १० वर्ष जंगलमा बिताएको
हामीले कसको के खाइदिएका छौँ ?
दुःख पर्दा एक–दुई घोगा मकै चोरर खा’छौँ
जनताको ढुकुटी फोरेर त खा’छैनौँ
शरीरमा भुत्ला भएको कारण कपडा लगा’का छैनौँ
नलगाए पनि मान्छेका मान्छिनीजस्तो ह्वार्लाङ्ग देखा’का पनि छैनौँ
मान्छेका मान्छिनीले दशथरी लुगा ला’छन्, दश ठाउँमा तुना बाँधेका छन्
हाम्रा बाँदर्नीहरूले एउटा पुच्छरले सिंगै इज्जत धानेका छन्
चरित्रको कुरा गर्दा बाँदर र बाँदर्नीबीच उत्कृष्ट सहवास हुन्छ
एउटी बाँदर्नी पोइल जाँदा रामचन्द्रजस्तो भगवानले लुकेर वाण हान्या इतिहास छ
सिनेमाको कुरा गर्दा नेपाली सिनेमामा गोपीकृष्णको नाउँ लिनु पर्या छ
नपत्याए सिनेमा हेरे हुन्छ राजेश हमालले भन्दा बाँदरले उत्कृष्ट एक्टिङ गर्या छ
राजनीतिमा हाम्रो सुग्रिवले रामचन्द्रको सहायता लिएर राजा बालीलाई डंग्रङ्ग पारेकै हो
तिम्रा सुग्रिवले पनि कसैलाई सहायता लिएर राजा वीरेन्द्रलाई मारेकै हो
बाँदरको पुच्छर लौरो न हतियार भन्छौ
त्यही पुच्छरले लंका जलायो, त्यही पुच्छरले रावण तर्सायो
त्यही पुच्छर भीमसेनले उचाल्न सकेन
पुच्छर नहुनेलाई पुच्छरको महत्व र उपयोगिता के थाहा छ ?
बाँदरलाई गाली गरेर नेताको पुच्छर हुनेले केचाहिँ लछारपाटो ला’छ
आदर्शको कुरा गर्दा मान्छेहहरू बाँदरबाट मान्छे भएका हुँ भन्छन्
होइन !
हामी स्वतन्त्र बाँच्नका लागि मान्छेबाट बाँदर भएका हौँ
हामीसँग पनि छ एकता हामीसँग पनि छ समाज
हामीले कसैको विरोधमा बोल्या छैनौँ
प्रत्येक मन्दिरमा हाम्रो बहुमत छ, तैपनि हामीले नयाँ शक्ति खोल्या छैनौँ
आदरणीय दर्शकवृन्द ! यो विधेयक नरोक्दिनु होला
पास गर्ने भए ताली ठोक्दिनु होला !
धादिङको दार्खा–७ मा ०१८ साल फागुन ११ गते मध्यम परिवारमा जन्मिएका हुन् शैलेन्द्र । उनी सानैदेखि फुटकर कविताहरू लेखिरहन्थे । देशमा पञ्चायती व्यवस्थाविरुद्ध आगो दन्किरहेको बखत् ०३६ सालमा सडक कविता ‘क्रान्ति’ लेखेर व्यंग्य जगत्मा पाइला टेकेका हुन् उनले । “त्यतिबेला क्रान्तिकारी कविहरूले सडकमा आगो ओकल्थे, मैले त्यसैको सिको गरेको हुँ,” उनले सुनाए ।
उनले अगाडि भने, “त्यतिबेला मेरो स्कुल भर्खर सकिएको थियो । सडक कविहरूले सडकमा पञ्चायती व्यवस्थाविरुद्ध आगो ओकलिरहेका थिए, त्यही बेला ममा पनि व्यंग्य चेता उन्नत हुन पुग्यो र कवितात्मक भावबाट त्यसलाई अभिव्यक्त गर्न थालेँ ।”
त्यसपछि उनी ०३६ सालबाट म प्रज्ञा प्रतिष्ठान प्रवेश गरे । सुरुमा उनी प्रज्ञा प्रतिष्ठानमा नाटक सिक्नका लागि छिरेका हुन् रे ! तर उनमा ‘नाट्य रस’ ‘हास्य रस’ हावी भयो ।
उनले थपे, “रंगकर्मी भएपछि मैले मञ्चमा गाईजात्रे कार्यक्रमहरू देख्ने मौका पाएँ । ०३३ सालबाट प्रज्ञा भवनमा गाईजात्रा महोत्सव हुँदै आएको रहेछ, ०३६ सालपछि म पनि सहभागी भएँ ।”
उनी आफूलाई भाग्यमानी ठान्छन्, यस अर्थमा कि उनले सबै बेलाका कलाकारसँग घुलमिल हुन पाएका छन् । सन्तोष पन्तदेखि तीते–जिरे गाईजात्रा महोत्सवसम्म आइपुग्दा उनी कुनै महोत्सवमा छुटेका छैनन् ।
“लैनसिंह बाङ्देल कुलपति हुनुहुन्थ्यो । उहाँ जहिल्यै सोध्नुहुन्थ्यो, ‘शैलेन्द्र के छ तिम्रो प्रस्तुति यसपाली ?’
मैले प्रस्तुति गर्ने ‘स्क्रिप्ट बुझाएपछि उहाँ ‘हुन्छ, हुन्छ, यो एकेडेमीलाई राखौँ’ भनेर फुरुंग पर्नुहुन्थ्यो, अहिले पनि साथीभाईबाट त्यस्तै उत्साह पाइरहेको छु,” गाईजात्रा महोत्सवको सुरुवाती दिन सम्झिए उनले ।
“एकेडेमीकै प्रेरणाका कारण ०४५ सम्म मैले अटुट रूपमा मञ्च पाएँ । त्यसपछि सन्तोष पन्त म र साम्दे शेर्पा भएर ११ वर्षसम्म गाईजात्रा महोत्सव आयोजना गर्यौँ । ६० को दशकपछि दीपकराज गिरी, जितु नेपालहरू आउनुभयो । उहाँहरूसँग मिलेर गाईजात्रा महोत्सवको आयोजना गर्न थालेको ११ औं पटक हो,” उनले बेलिबिस्तार लगाए ।
विषयवस्तुको अभावदेखि गम्भीर विषयवस्तु प्रस्तुत गर्दा पनि दर्शक नहाँसेका थुप्रै दुःखद घटनाहरू छन् उनीसँग । त्यसमध्ये केही त्यस्ता प्रतिनिधि घटनाहरू पनि रहेछन्, जुन उनले हामीसँग साटे ।
० ० ०
०३८ सालताका रेडियो नेपालमा ‘रसरंग’ भन्ने कार्यक्रम निकै लोकप्रिय थियो । रसरंग कार्यक्रममा राजपाल हाडाको चर्चित जोडी थियो । मदनकृष्ण श्रेष्ठ र हरिवंश त्यसपछि जोडी बनेका हुन् । मदनकृष्ण दाइ, हरिवंश दाइ, सन्तोष पन्त र गोपालराज मैनालीले रसरंगमा विविध हास्य व्यंग्य प्रस्तुति दिन्थे । मैले त्यतिबेला सानो प्रस्तुति बनाएर रसरंगमा पेश गरेको थिएँ । कार्यक्रमको ‘स्क्रिप्ट’ पास भयो । रसरंगमा जाने मेरो उत्कट अभिलाषा थियो । लिखित पास भएपछि मेरो भुइँमा खुट्टै रहेन । कार्यक्रम हलजस्तोमा तयार पारिन्थ्यो, त्यहाँ दर्शकहरू पनि हुन्थे । उनीहरूलाई पेट मिचीमिची हँसाउन भनेर त्यस्तै लुगा लगाएर हल बाहिर खानासमेत नखाई कुरेर बसिरहेको थिएँ । ‘तपाईंको अन्तिममा पालो है, प्रस्तुति राम्रो छ । तयारी हालतमा रहनू’ कृष्णा ताम्राकारले यसो भनेपछि म पनि कतिखेर पालो आउला भनेर तम्तयार थिएँ । ठिक्क मेरो पालो आयो, तर ताम्राकारले भनिन्, ‘आजलाई प्रस्तुति पुग्यो, अब अर्को पटकलाई । तिमी जाऊ अब’ उनले रेकर्डिङ बन्द गरिन् ।
मत रुन थालेंछु । मैले मेरो प्रस्तुति आउँछ भनेर सबैलाई सुनाउन भ्याइसकेको थिएँ । ‘आकाशै खसे’जस्तो भयो त्यो घटना मेरो लागि । त्यो घटनालाई मैले चुनौतीको रूपमा लिएँ
० ० ०
पञ्चायती व्यवस्थाकै समय थियो । एउटा निकै राम्रो ‘कमिक्स’ बनाएर गाईजात्रा महोत्सवकै लागि पेश गरेको थिएँ । दुनियाँले वाहवाह गरेका थिए । दार्जिलिङका ‘हम जाएगा’ भन्ने चर्चित कलाकार नेपाल आएका थिए । त्यतिबेला कमिक्स प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा त्यो कमिक्स प्रथम भएको थियो ।
त्यतिबेला मैले ‘पशुपतिनाथ रोएको’ शीर्षकमा कमिक्स तयार पारेको थिएँ । ‘सबै विदेश गए, मचाहिँ विदेश जान पाइनँ’ भनेर महादेव रोएको दृष्य कमिक्समा उतारेको थिएँ । ‘मच्छिन्द्रनाथको भोटो धुन पठाएको अहिलेसम्म आइपुगेन’ भन्दै मूर्ति, पुरातात्विक महत्वको सामग्री चोरीको व्यंग्य गरेको थिएँ ।
तर, त्यसले हंगामा मच्चयिो । ‘हिन्दूहरूको आराध्यदेव पशुपतिनाथको व्यंग्य गर्ने ?’ भन्दै तत्कालीन व्यवस्थापकले मेरो ‘कमिक्स’ काटिदिए । त्यस घटनाले पनि मेरो मस्तिष्कमा ठूलो आघात पु¥याएको छ ।
० ० ०
०५२/०५३ तिर कहिले टुबोर्गले त कहिले मुना चियाले हास्य चेतना विस्तार गर्न देशभर ‘हास्य व्यंग्य टुर’ आयोजना गथ्र्यो । त्यस्तै एउटा कार्यक्रममा हामी पोखराको प्रस्तुति सकेर गोरखा पुगेका थियौं । तर, त्यहाँ दुःखद् घटना घट्न पुग्यो । सँगै प्रस्तुति सकेका साथीहरूबीच सामान्य मनमुटावमै पाखुरा सुर्कने परिस्थति नै आइलाग्यो र लाख सम्झाउँदा पनि नमानेपछि हामी बेग्लाबेग्लै प्रस्तुति दिएर काठमाडौँ फर्कियौँ । त्यो हाम्रो लागि दुःखद् घटना थियो । हास्यव्यंग्य प्रस्तुतिको हरेक क्षण त्यो घटना मेरो मथिंगलमा घुमिरहन्छ ।
० ० ०
कतारमा दोस्रो प्रस्तुति देखाउँदै थियौँ । पहिलो ‘शो’ देखाउँदा दर्शक नअटेपछि दोस्रो शो चिडियाघरको अघिल्तिर देखाइँदै थियो । त्यतिकैमा कतारमै रहेका गाउँका भाईहरूले फोन गरे, ‘हामी तीन–चार जना आउँदैछौँ दाइ, टिकट चाहियो है’ मैले पनि आयोजकलाई भनें, ‘मेरा गाउँका भाईहरू आउँदैछन्, व्यवस्था मिलाइदिनुहोस् ।’
व्यवस्था मिलाउन आयोजक ढोकामा पुग्दा त टिकट काटेकाहरू छिर्न नपाएर रिसाएछन् ।
आयोजकले, ‘म आयोजक हुँ, टिकट काटेका मानिसलाई भित्र जसरी पनि छिराउँछु’ भनेछन् । तर, पानीको बोतल बोकेका एक व्यक्तिले उनको मुखमा तीन–चार पटक प्रहार गरेर रगतपच्छे बनाइहालेछ ।
उता उद्घोषकले मलाई प्रस्तुतिको लागि नाम उच्चारण गरिसक्यो, यता आयोजक कुटाइ खाएर रक्तमुच्छेल भएर आएको छ । यस्तो बेलामा कसरी हँसाउनु ? त्यस्तो क्षण पनि आइलागेको छ हास्य जीवनमा ।
० ० ०
०४४ सालको गाइजात्रा चलिरहेको थियो । महोत्सवको तेस्रो दिन थियो शायद । दिदी खिलकुमारी धमला अचानक बित्नुभएको खबर आयो । कुशलमंगलै सुनेको थिएँ, तर अचानक निधन भएको भन्ने सुनेपछि मेरा नौनाडी गले । अहिलेको जस्तो फोनको सुविधा थिएन । घरबाट सदरमुकाममा ‘आवा’ गएछ र सदरमुकामबाट काठमाडौँ ‘आवा’ आएपछि मैले खबर थाहा पाएँ । त्यतिबेला म पकनाजोलमा बस्थेँ । घरमा बाबुआमा मात्र हुनुहुन्थ्यो । यता सहरमा हुनुभएका आफन्तहरू भन्छन्, ‘यस्तो अवस्थामा तँ घर जा ।’ उता आयोजकहरूले सारा तयारी गरिसकेका छन् । बीचमै प्रस्तुति छोडेर जाँदा मेरो करिअरको सवाल छ । नजाऊँ परिवारको सदस्य गुम्दा पनि नहुने छोरो के काम !
अनेक कोसिस गर्दा पनि म घर जान सकिनँ । दिदी गुमाउँदाको पीडाको भारी बोकेर मैले कसरी हँसाएँ हुँला ? अहिले सम्झँदा पनि ज्वरो छुट्छ ।
० ० ०
०७१ सालको गाईजात्रा पनि हाम्रो लागि निकै दुःखद् बन्न पुग्यो । हामीले नायक श्रीकृष्ण श्रेष्ठलाई गुमाउन पुग्यौँ । उनको मृत शरीर काठमाडौँमा आइपुगेको दिनबाट नै गाईजात्रा महोत्सव सुरु हुँदै थियो । उनी एउटा कलाकारमात्र थिएनन्, हाम्रो गाईजात्रा महोत्सवसँग उनको विशेष ‘नाता’ जोडिएको थियो । उनी कुशल नृत्यकर्मी पनि थिए । उनको नाच राखेर मैले ६–७ वटा ‘शो’ गरेको छु । त्यतिमात्र होइन, उनी प्रत्येक वर्षको गाईजात्रा नबिराई हेर्थे र अरुलाई पनि हेर्न उत्साहित तुल्याउँथे । हाम्रो लागि उनी ‘महान्’ मान्छे थिए । उनको निधनले व्यक्तिगत हिसाबले मलाई निकै दुःखी तुल्यायो । उनको मृत्युको शोकमा हामीले तीन दिन गाईजात्रा महोत्सव रोक्यौँ ।
० ० ०
हामीले जसलाई गाईजात्रा सुनाउनुपर्ने हो, अहिले पनि उसलाई सुनाउन सकेका छैनौँ । पञ्चायतकालमा ‘फलानो ठाउँको गाईजात्रामा फलानो कलाकारले यसो भन्यो’ भनेर राष्ट्रिय पञ्चायतमा छलफलको विषय बन्थ्यो तर अहिले हाम्रो व्यंग्यले मात्र मनोरञ्जन दिएको छ । सरोकारवालाले त्यसलाई मनन् गर्न सकेनन् । पञ्चायती सरकारलाई समेत सच्चिन बाध्य पार्ने हाम्रो हास्य व्यंग्यले अहिलेका शासकलाई लाख कोसिस गर्दा पनि सुधार्न सकेन ।
यहीँ प्रधानमन्त्रीलाई बोलाएर, ‘तपाईंका पछाडि तस्करको लस्कर छ’ भन्यो भने पनि त्यसलाई फगत ‘व्यंग्य’ ठानिदिन्छन् । समाजको संवेदनशील कुरा उठाउँदा पनि त्यसलाई मनोरञ्जनमात्र सोचिदिन्छन् । मूर्तिलाई भनेको हो कि मान्छेलाई भनेको हो कुनै भिन्नता भएन ।
३४ वर्षदेखि गाईजात्रे प्रस्तुति देखाउँदै आएको छु । प्रज्ञा प्रतिष्ठानको जागिर यो वर्ष अन्तिम हो । ०६३ यता गाईजात्रे महोत्सवमा मैले कविता सुनाउँदै आएको छु । हास्य व्यंग्यलाई विधा होइन, विषयमात्र मान्नेको कमी नभएकाले म निरन्तर लागिरहेको छु ।
सिम्खडाका केही प्रतिनिधि कविताहरू
तपाईंले तँ को होस् भन्नुहोला
मलाई म, मै हुँ भन्ने आँट छैन
म त्यस्तो देशको नागरिक
झरनाको मुनि बसेर ओठमुख सुकाउनुपर्छ
रगतमा करेन्ट बगाउने जात
घरमा बिजुली बल्दैन आँखा हेरी हेरी निदाउनुपर्छ,
दुई खुट्टा भएकै कारण सबैले मान्छे भन्छन्
तर नागरिक भन्न लाज लाग्छ
श्री तीनको आठपहरिया
श्री पाँचको रैती
श्री आठको झोले
म त्यस्तो जनता
सार्वभौम सम्पन्न भनेर संविधान लेख्नेलाई पाप लाग्छ,
जब जब भोट हाल्न लाइन बसिन्छ
बन्चरो देखाएर मतपत्र खोसिन्छ
कसरी सार्वभौम सम्पन्न छु मलाई थाहा छैन
लालपुर्जा र नागरिकता
दुइटा दह्रा प्रमाणहरू छन्
तै पनि म यो देशको हुँ जस्तो लाग्दैन ।
० ० ०
आगो एउटा संस्कारमा मानिसको अन्तिम अंकमाल गर्ने साथी
झट्ट हेर्दा निष्पक्ष तर असाध्यै पक्षपाती
खरबारी, घरबारी र गोठ-बगैँचातिर किन सजिलै गा’को
ठूल्ठूलो महलतिर किन नगा’को
बल्ल–बल्ल सिंहदरबार छिर्न पा’को त्यही पनि आधिमात्रै किन खा’को
यो आगो के भा’को
मलाई शंका छ आगोले घूस खा’को
आगो हनुमानको पुच्छरमा लागो
त्यत्रो लंका जलाको विभिषणको घर किन केही पनि नभा’को
बाँदरको पुच्छरबाट सल्केर किन ढाडतिर नगा’को
यो आगो के भा’को
मलाई शंका छ आगोले घूस खा’को
होलिका र प्रह्लाद सँगसँगै अग्नि कुण्डमा गाको
होलिकालाई किन भुसुक्कै जलाको प्रह्लादलाई किन केही पनि नभा’को
रामचन्द्रकी श्रीमतीले अग्नि परीक्षा दिँदा किन केही नभा’को
महादेवकी श्रीमती सतीदेवीलाई भुसुक्कै जलाको
यो आगो के भा’को
मलाई शंका छ आगोले घूस खा’को
पुतलीसडकमा सेकुवा पोल्दा किन बास आ’को
आर्यघाटमा मुर्दा पोल्दा किन गन्हा’को ?
उस्तै मासुको गन्धलाई किन दुई थरी बना’को
यो आगो के भा’को मलाई शंका छ आगोले घूस खा’को
सुन र स्वास्नी
स्वास्नीको कचकचसँग
न सरकारको कानुन चल्छ
न त भगवान्को दाल गल्छ
द्वापरमा परीक्षितले सुनमा कलि बसाएर
ऋषिको गलामा सर्प घुमाउनुभो
त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर
जंगलमा स्वास्नी गुमाउनुभो
बाघले कुकुर मारेर बिरालोलाई गुन लगाएछ
बिरालाले मुसा मारेर मान्छेलाई गुन लगाएछ
मान्छेले मान्छे मारेर स्वास्नीलाई सुन लगाएछ ।
हे सीते,
जोगी भएर वनमा जाँदा किन चाहिएको सुन ?
कहाँ लगाउने गहना ?
भगवानकी स्वास्नीलाई पनि सुनको त्यत्रो चाहना !
अहिले पनि चालिस किलोकी स्वास्नी ल्याउन
चालिसै तोला सुन किन्नुपर्छ
अनि मात्र स्वास्नी खोज्न हिँड्न पर्छ
यदि स्वास्नीको आवश्यकता भए
त्यसलाई सुन चाहिन्छ–चाहिन्छ
नत्र त्यसै
अर्काको छोरीलाई स्वास्नी भन्न कहाँ पाइन्छ ?
मैले पनि बेहोरेको छु सुन र श्रीमती
अब सुन्नुस् मेरो आफ्नै घरको दुर्गति
भोकै बस्दा रोइनन् दुःख पर्दा आत्तिनन्
एक तोलाको औँठी बेच्दा आँसु दर्कियो
छोरा पाउँदा हाँसिनन् घर किन्दा मस्किनन्
दुई तोलाको सिक्री किन्दा टोलै थर्कियो
कैले होला धनको बास यो दुःखीको खाली पकेटमा
मेरो माया स्वास्नीमा उनको माया सुनको लकेटमा
सुन र स्वास्नी
जाने घरबार, नजाने तरबार
सुन धेरै भए पनि ज्यान जोगाउन गाह्रो
स्वास्नी राम्री भए पनि आँखाको तारो
सुन नल्याए स्वास्नीले आफैँलाई मार्ली भन्ने डर
सुन ल्याए डाँकाले स्वास्नीलाई मार्ला भन्ने डर
सदुपयोग गर्न जाने
सुन अमरावती, स्वास्नी भगवती
नजाने सुन काल, स्वास्नी अनिकाल
हे सुन, तेरो बैगुन
किन्दा मसक्क, बेच्दा ठसक्क, पैसा भसक्क
दिए जाती नदिए नजाती
कुरा सुन्न पर्छ अनेक भाँती
लोग्नेको मन स्वास्नीमाथि
स्वास्नीको मन सुनमाथि
हातमा बाला, घाँटीमा माला, नाकमा ताला
शिरमा शिरबन्दी,
दर्जीले सिए लगाउँछु भन्छिन् सुनकै चौबन्दी
सुन भनेको स्वास्नी रहेछ
स्वास्नी भनेको सुन रहेछ
जोसँग सुन छ त्यसको राम्रो घर हुन्छ
जोसँग सुन छैन
त्यसकी स्वास्नी पोइल जाने डर हुन्छ
सुनकै दरीमा सुत्न पर्ने भएर सुन्दरी भनेको होला
सुनको फूल पार्न सक्ने भए त
सुनचरी भने पनि हुन्थ्यो
नपत्याए हेर्नुस्
मान्छे हे¥यो सत्तरी वर्षकी थोती
सुनै–सुनले तानेको छ कानको लोती
केटीहरूले नाक–कानमा लगाएको सुन
सुत्दाखेरि पनि छोड्दैनन्
घाँटीमा लगाउन पाए भने
पुस–माघमा पनि ओढ्ने ओढ्दैनन्
सधैँ स्वास्नीको मुखबाट सुनकै चर्चा
सुन्दा–सुन्दा कानै सुन्निने गरी
जबर्जस्ती सुन्नैपर्ने भएर सुन भनेको हो कि !
यो सुन भन्ने वस्तु र स्वास्नी भन्ने प्राणी देख्दा
अब त मलाई सुन्तला नंग्याउँदा पनि
गहना खोल्या जस्तो लाग्छ
भैँसी कराउँदा पनि स्वास्नी बोल्या जस्तो लाग्छ
सधैँ सिक्रीको फिक्री, स्वास्नीको जिक्री
आनन्दसँग बस्न पनि रहर भो
सुनसँग स्वास्नीको सहवास देख्दा
कतै सुत्केरी हुँदा पनि सुनकै छोरा पाउँछिन् कि भन्ने डर भो !
खै कुन्नि महाकवीले पनि सुनमा के देख्नुभएछ
सुन र स्वास्नीकै कथामा ‘मुनामदन’ लेख्नुभएछ
हुन त
स्वास्नीबिनाको सुन पनि के काम हुन्छ त्यो डल्लो
सुनबिनाकी स्वास्नी पनि त्यस्तै हुन्छ खल्लो
लोग्ने स्वस्थ छउन्जेल
सुनको तिलहरी, मंगलसूत्रजस्ता माला बनाउँछन्
लोग्नेलाई रोग लाग्यो भने
तुरुन्त मासेर बाला बनाउँछन्
रोगी लोग्ने कैले मर्छ भर हुन्न
बाला बनाएपछि उनीहरूलाई डर हुन्न
त्यसैले स्वास्नीसँग सुनको परिणाम मिलेन भने
त्यसको घरजम बेहाल हुन्छ
सुन धातुमा गहना उपसर्ग लगाएर
स्वास्नी प्रत्यय जोडेपछि लोग्ने हरिकंगाल हुन्छ !
स्वास्नीलाई सुन
नक्कली दिऊँ के काम त्यो आँखाको छारो
सक्कली दिऊँ दिन सजिलो माग्न गाह्रो
घरखर्चलाई पैसा चाहिँदा मैले यस्तो भोग्या’छु
एक तोलाको चुरा बेच्न तीनचोटि ढोग्या’छु
फगत उनकै इच्छामा
मेरो तलब सबै सुनलब भयो
सञ्चयकोष सुनक्रयकोष भयो
ओभर टाइम सुनभरटाइम भयो
अरू स्रोतहरू सबै डामाडोल भयो
स्वास्नीकै रिक्वेस्टमा गोल्डक्वेस्ट खेलो
त्यो पनि गोल भयो
तै पनि सुनले ढकमक्क पारो
घाँटीमा सुन, टाउकामा सुन, छातीमा सुन
नाडीमा सुन, औँलामा सुन, गोडामा सुन
कम्मरमा सुन, नाक छेडेर सुन, कान छेडेर सुन
जता छेड्यो सुनैसुन
अब त खुसी भइन् होला भनेर
अब सुन किन्यो भने कहाँ लगाउने हगि भनेको त ?
दुई तोला किन्दिनुस् न
एउटा आँखाले हेर्छु
अर्को आँखा छेड्छु भन्छिन्
हेर्नुस् सुन र स्वास्नीको सम्बन्ध अविछिन्न छ
तर, खास गुणचैं भिन्न–भिन्न छ
सुन काट्न मिल्छ, स्वास्नी काट्न मिल्दैन
सुन साट्न मिल्छ, स्वास्नी साट्न मिल्दैन
स्वास्नीले भात पकाउँछे, सुनले भात पकाउन्न
सुन बैंकमा राखे पैसा आउँछ
स्वास्नी बैंकमा राख्दा पैसा आउन्न
हामी स्वास्नीको सौखिनतामा
जीवनको जोखिमता भिरेर
पुरुषत्वको हलाल गर्दैछौं
स्वास्नीहरूको वास्तविक पति त सुन नै रहेछ
हामी त सुनलाई स्वास्नी र
स्वास्नीलाई सुन मिलाइदिने दलालमात्रै हौँ
अब त मलाई ईश्वरले के चाहिन्छ भने
अर्को जन्ममा सुन बनाइदेऊ भन्छु
पोतेको लुङमा उनिन पाऊँ
स्वास्नीको छातीमा झुन्डिन पाऊँ
सिद्धियो कविता अब हाँस्ने
जय जय सुन जय स्वास्नी !
तस्बिर : रोजित खड्का
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७३ १४:००
प्रतिक्रिया दिनुहोस्